छैन किसानको श्रमको मूल्य : भुसको भन्दा चैते धानको मूल्य कम

Read Time = 3 mins

झापा । गौरादह–४ नवराज बरालले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाउनु भएको थियो । धान ७५ मन फल्यो । तर, धानको मूल्य लगानी पनि नउठ्ने भएपछि चिन्तित हुनुहुन्छ , उहाँ । चैते धानले मूल्य राम्रो नपाएपछि अर्को वर्ष चैते धान लगाउने कि नलाउने भन्ने दोधारमा हुनुहुन्छ, उहाँ।

‘चैते धानको त मूल्य नै छैन नि !,’ उहाँ भन्नुहुन्छ , ‘खर्च पनि उठ्दैन । मनको ६ सयदेखि ६ सय ५० मात्र छ । अर्को वर्ष लगाउने कि नलगाउने भन्ने दोधारमा छु ।’ आजकाल खेतीमा काम गर्ने जनशक्ति पनि छैन । खेतीको काम सबै कृषि औजारबाट हुँदै आएको छ । यो खर्चिलो पनि रहेको उहाँ बताउनु हुन्छ। ‘उत्पादन खर्च बढेको छ । तर, लगानी पनि उठ्दैन । कसरी कृषि पेसा गर्ने ?,’ उहाँले भन्नुभयो ।

नमुना एकीकृत सहकारी खेतीले पनि चैते धान लगाएको छ । तर, चैते धानको मूल्य कम हुँदा समस्या भएको अध्यक्ष वेदनिधि चपागाईं बताउनु हुन्छ । ‘भुस प्रति केजी १५ रुपैयाँ पर्छ । चैते धान १२ देखि १५ रुपैयाँमा मात्र बिक्री हुन्छ । अनि धानभन्दा भुस सस्तो भएन ?,’ उहाँ भन्नुहुन्छ ,‘किसानको लागत नै उठ्दैन । बरु खेती नगर्दा त घाटा भएन नि त्यही भएर खेती नै नगर्ने अवस्था आएको छ ।’

सरका चैते धानको समर्थन मूल्य नतोक्दा पनि कृषक समस्यामा परेको उहा बताउनु हुन्छ । ‘सरकारले समर्थन मूल्य पनि तोक्दैन । अब समर्थन मूल्य तोकेर कृषकलाई प्रोत्साहन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । समयमा मल नपाउने समस्या त्यहीँमाथि उत्पादन भएको धानले मूल्य नपाउँदा कृषक समस्यामा छन् । ‘मल समयमा पाइँदैन । पारि (भारत)बाट ल्याउनुपर्छ । च्तयो पनि डुब्लिकेट भइदिन्छ । किसानका दुःख कति कति,’ चापागाईं भन्नुहुन्छ ।

यसपटक चैते धानको मूल्य विगतको तुलनामा निकै कम रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । ‘यसपटक सधैँको भन्दा पनि मूल्य कम छ । हुनुपर्ने भन्दा कम छ । अहिले ६६० देखि ६८० सम्म छ,’ उहाँले भन्नुभयो , ‘चिसोमा धान काटिने भएका कारण चिसोमै बेच्दा कम हुन्छ । तर, चैते धानको मूल्य आठ सयदेखि हजार हुँदा मात्र कृषकको लगानी उठ्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?