कैलालीका स्थानीय तह नयाँ बजेटको तयारीमा

Read Time = 8 mins

-गोविन्द बीसी
टीकापुर । स्थानीय तहमा जनप्रतिनिधिले आगामी आर्थिक वर्ष ०७९/८० का लागि नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमाको तयारी थालेका छन् । कैलालीका स्थानीय तह बजेट ल्याउन आन्तरिक गृहकार्य जुटेका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले बजेट तथा योजना छनोटको काम सुरु गरेका छन् । जिल्लाको लम्कीचुहा, टीकापुर, भजनी नगरपालिका, जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० को बजेट विनियोजनका लागि सरोकारवाला निकायसंगको प्रारम्भिक छलफल, राय तथा सुझाव संकलन गरिरहेका हुन् । संघ र प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि स्थानीय तहले बजेट प्रस्तुत गर्ने कानुनी प्रावधान छ । स्थानीय तह त्यसअनुसारको आवधिक योजना तर्जुमाको तयारी थालेका छन् ।

संघीय सरकारले जेठ १५ गतेभित्र र प्रदेश सरकारले असार १ गतेभित्र आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले १० असारमा बजेट ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसअनुसार १० असार अघि नै नीति तथा कार्यक्रम ल्याउन पालिकाहरु तयारीमा छन् । कैलालीका पालिकाहरु असार १० भित्र सुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव, माग र आवश्यकता संकलन गरिरहेका छन् । स्थानीय तहले प्रारम्भिक चरणमा नीति, योजना, कार्यक्रम तथा बजेट ल्याउनुअघि वडासंग टोल बस्तीबाट योजना छनोट र सिफारिस माग गर्छन् । वडाले वडाभित्र सहभागितामूलक योजना तर्जुमा प्रणालीअनुसार बस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया र सिफारिस गर्छन् । वडाले योजना तर्जुमा प्रक्रिया गर्दा प्रारम्भिक भेला मार्फत योजनाको माग संकलन र प्राथमिकता निर्धारण गर्छन् ।

पालिकाले त्यसअनुसार स्थानीय तहमा राज्यस्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्न सर्वपक्षीय बैठक मार्फत राय, सुझाव संकलन गर्न थालेका हुन् । राज्यस्रोत अनुसार तय हुने स्थानीय तहको बजेटले पनि कुन खालको नीति तथा कार्यक्रम तह हुन्छ भन्नेमा सर्वत्र चासोको विषय हुन्छ ।

लम्कीचुहा नगरपालिकाले बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु, सुझाव र सल्लाह तथा गुनासाहरु लिनको लागि विभिन्न सरोकारवालासंग सुझाव संकलन गर्ने कार्य सुरु गरेको छ । नगरपालिकाले यसअघि नगर क्षेत्र भित्रका बैंक तथा वित्तीय सहकारी संस्था, लक्षितवर्ग, आदिवासी, जनजाती, दलित, महिला, अपाङ्ग, युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंसथा र सरोकारवालासंग छलफल तथा सुझाव संकलन गरेको हो ।

नगरपालिकाले असार ४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, अस्पताल, स्वास्थ्यचौकी प्रमुख तथा स्वास्थ्य स्वयसेविकासंग सुझाव संकलन गरेको जनाएको छ । असार ५ गते सामुदायिक वन तथा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष र शैक्षिक संस्थाहरुसंग सुझाव संकलनको कार्यक्रम रहेको जनाएको छ ।

असार ६ गते उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति अध्यक्ष र सञ्चारकर्मीसंग सुझाव संकलन कार्यक्रम रहेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लवबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यस्तै, जानकी गाउँपालिकाले गाउँ सभाको कार्यतालिका सार्वजनिक गर्दै राजनीतिक दलसंगको छलफल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसंको छलफल, राय, सुझाव संकलन, स्थानीय राजस्व परामर्श समितिको बैठक, विषयगत समितिको बैठक, बजेट तथा योजना तर्जुमा समितिको बैठक असार ६ गतेसम्म बोलाएको छ । असार ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र असार ८ गते नयाँ बजेट ल्याउने पालिकाको तयारी छ ।

टीकापुर नगरपालिकाले पनि नगरसभाको तयारी सुरु गरेको छ । असार १० गते नगरसभा गर्ने तयारीमा जुटेको नगरपालिकाले असार ५ गतेभित्र बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिमा योजना छनोट गरी पठाइसक्न वडा कार्यालयलाई निर्देशन दिएको छ । त्यसैअनुरुप विभिन्न छलफल लगायतका कार्य भइरहेका नगर प्रमुख रामलाल डगौराथारु बताउनुहुन्छ ।
‘हामीले विभिन्न क्षेत्रलाई समेट्ने गरी फरक ढङ्गबाट बजेट ल्याउने तयारी गरेका छौँ’, नगर प्रमुख थारुले भन्नुभयो, ‘सबै क्षेत्रका सरोकारवालासंग छलफल थालेका छौँ, विभिन्न चरणबद्ध छलफल, विषयगत समितिमा छलफल, यहाँका विज्ञसंग घनिभूत छलफलपछि नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।’
नगर प्रमुख थारु टीकापुरले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन्’, उहाँ भन्नुहुन्छ, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नगरको दीगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।’
कैलालीकै भजनी नगरपालिका, जोशीपुर र बर्दगोरिया गाउँपालिकाले पनि असार १० भित्रै सभा सुरु गर्ने गरी काम थालेका बताएका छन् । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी असार १० भित्रै सभा सुरु गर्ने गरी बस्तीस्तरमा योजना छनोट, विभिन्न क्षेत्रसंग छलफलका काम भइरहेका बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?