अब दौडिन्छ कर्णाली

हिमालय टाइम्स
Read Time = 9 mins

सुर्खेत । कर्णाली एथलेटिक्समा अपार सम्भावना बोकेको क्षेत्र हो । पहाडी र उच्च हिमाली क्षेत्रले धेरै भूभाग ओगटेकाले ‘हाइ अल्टच्युट’ प्रतियोगिताहरू आयोजनाका लागि कर्णाली लोकप्रिय ठाउँमा पर्छ । तर, कर्णालीमा एथलेटिक्स प्रतियोगिताहरू कमै हुने गरेका छन् । अझ त्यसमा पनि म्याराथन त झन् न्यूनमात्रामा हुने गर्छ । प्रतिभाको खानी भएको प्रदेशका रूपमा लिइन्छ कर्णालीलाई । त्यसको उदाहरण हुन् काठमाडौंमा भएको १३औँ सागमा रजत पदक जित्ने पुष्पा भण्डारी । भण्डारीले सल्यानबाट आफ्नो करियरको सुरुवात गर्नुभएको थियो । कर्णालीलाई अन्तर्राष्ट्रिय माझ चिनाउने प्रतिभाको सूचीमा धेरैको नाम आउने गर्छ ।

त्यसको अग्रपंक्तिमा पर्नुहुन्छ कर्णालीको ‘हिरा’ उपनाम पाउनुभएका हरिबहादुर रोकाय । रोकायले सिकाउनुभएकी चेली विश्वरूपा बुढाले पनि अन्तर्राष्ट्रिय भूमिमा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । बुढाजस्ता थुपै्र खेलाडीले देशको राष्ट्रिय जर्सीमा प्रतियोगिता खेलिसक्नुभएको छ ।

कर्णालीले हरेक वर्ष प्रतिभावान् खेलाडी उत्पादन गर्ने गरेको छ आफ्नै मिहिनेतले । तर, कर्णालीमा कमैमात्र प्रतियोगिता हुने गर्छन् । प्रतिभावान् खेलाडी भएर पनि प्रतियोगिताको कमी भएको आभास हुन्छ कर्णालीका सयौं खेलाडीलाई । त्यही अभावलाई मेट्ने प्रयासमा पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा पाँच किलोमिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुँदैछ ।

‘कर्णाली दौडिन्छ’ भन्ने मूल नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेस्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुन लागेको म्याराथन र पाँच किलोमिटर दौडमा करिब एक हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर विक्रमजंग थापाले बताउनुभयो । हाफ म्याराथनमा २०० र विद्यालयस्तरको दौडमा ८०० भन्दा बढीले प्रतिस्पर्धा गर्ने थापाले बताउनुभयो । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

आयोजक मिड वेस्टन फिटनेस सेन्टरका संस्थापक एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामी निकै उत्साही छौँ । सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदैछ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ । सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो म्याराथन ।’

छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौती भए पनि त्यसलाई समाधान गर्दै अगाडि बढिरहेको बताउनुहुन्छ हमाल । उहाँले थप्नुभयो, ‘हामीले यस प्रतियोगितामा सक्दो स्थानीयहरूको सहभागिता र सहकार्यलाई जोड दिएका छौँ । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयास गरेका छौँ । तर, पहिलोपटक भएर होला सोचे जस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कर्णालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुलस्तरीय पाँच किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन ऊर्जा थप्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कर्णालीले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई बढाएको छ । कर्णाली पूर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाउँका रूपमा चिनिन्छ । तर, अब त्यो परिवेशमा परिवर्तन हुँदैछ । हामी प्रतिभामात्र होइन, ठूला प्रतियोगिता पनि गर्न सक्छौँ भन्ने सन्देश दिन चाहन्छौँ ।’

पछिल्लो समय कर्णालीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेका बेला पूर्वाधार निर्माणमा निकै फड्को मारिरहेको सदस्य-सचिव सन्ज्यालले बताउनुभयो । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजीस्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।

म्याराथनका ‘रेस डिरेक्टर’ विक्रमजंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ,‘म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरूले आँट गर्नुभएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछन् । भविष्यमा कर्णालीका अरू थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ ।’

प्रतियोगिताअन्तर्गत हाफ म्याराथनतर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौँले १५ हजार र छैटौँले १० हजार रुपैयाँ पाउनेछन् । विद्यालयतर्फको पाँच किलोमिटर विजेता छात्र-छात्राले समानरूपमा १० हजार, दोस्रोले सात हजार र तेस्रोले पाँच हजार पाउनेछन् । प्रतियोगिताको रुट वीरेन्द्रचोक रहेको छ । वीरेन्द्रचोकबाट सुरु हुने म्याराथन बुलबुले, एयरपोर्टचोक, पिपिराचोक, धुलियाविटचोक, सुब्बाकुना हुँदैं फर्किएर वधशाला, हिलेखाली पुल, बाङ्गेसिमल, खोर्केखोला पुल हुँदै पुन वीरेन्द्रचोकमा आएर समापन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?