काठमाडौं । नेपालले एसिसी महिला टी-२० महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई पाखा लगाएको थियो ।
जितका लागि १०८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जिफा जिलानी ६ र मरिम्मा हैदर १६ बलमा १४ रनमा आउट हुनुभयो ।
नेपालकी सीता रानामगरले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसबाहेक अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले एक-एक विकेट लिनुभयो ।
त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा चार चौकासहित ३४ रनमा अविजित रहनुभयो । उपकप्तान इन्दु बर्मा ३३ बलमा दुई चौकासहित २८ रनमा अविजित रहनुभयो ।
पाँचौँ विकेटका लागि इन्दु र रुविनाले ६० रनको अविजित साझेदारी गर्नुभएपछि नेपालको जित सम्भव भएको थियो । त्यसयसअघि ओपनर विन्दु रावल १६ बलमा दुई चौकासहित ११ रन तथा अर्की ओपनर ज्योति पाण्डेले २४ बलमा एक चौकासहित १५ रन जोड्नुभयो ।
विकेटकिपर काजोल श्रेष्ठ र सीता रानामगर पाँच-पाँच रनमा आउट हुनुभयो । कुवेतकी मरिम्मा हैदरले चार ओभरमा १० रन खर्चेर दुई विकेट लिनुभयो । मर्याम ओमरले चार ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो । खदिजा खालिलले एक विकेट हात पार्नुभयो ।
यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।
नेपालले अब असार ६ मा बहराइन, असार ७ मा हङकङसँग खेल्नेछ । त्यसपछि असार १० गते सेमिफाइनल र असार ११ गते फाइनल खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच