विरेनुन र सिधे नुनको अवैध कारोबार

Read Time = 3 mins

काठमाडौं । नुनको अवैध कारोबार हुन थालेको छ । नेपालमा नुन कारोबारका लागि अनुमतिप्राप्त एकमात्र आधिकारिक निकाय साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा केही निजी कम्पनीले सिधे नुन र विरेनुनको अवैधरूपमा प्याकेजिङ गरी बजारमा बिक्री गर्दै आएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली समाजमा नुनको उपभोग, गुणस्तरबारेमा बहस चलिरहेको मौका छोपी केही व्यवसायीले विभिन्न नाम र विभिन्न प्रकारका नुन बजारमा ल्याएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभएको छ ।

खासगरी अनलाइन मार्केटिङ प्रणालीबाट हिमालय पिंक साल्ट, रक साल्टलगायत नामका नुन बिक्रीका लागि अनलाइन पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्न थालेको र उपभोक्ताले पनि भ्रममा परी उपभोग गर्न थालेको उहाँले बताउनुभयो । महर्जनका अनुसार हाल बजारमा लो सोडियम, नन आयोडाइज्ड साल्ट र रक साल्ट भन्दै विभिन्न प्रकार र रंगको गैरकानुनीरूपमा लेवलमा उल्लेख गर्नुपर्ने बेहोरासमेत उल्लेख नगरी सादा प्लास्टिक प्याकेटमा नुन प्याकेटिङ सिलबन्द गरी बिक्री गरेको पाइएको छ ।

जनस्वास्थ्यसँग सम्बन्धित नुनजस्तो खाद्य पदार्थ जथाभावीरूपमा कानुनविपरीत बिक्रीवितरण गर्दा आमनागरिकको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै मञ्चले आवश्यक कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएको छ । खाद्य ऐन, २०२३ को नियमावली २०२६ को परिधिमा रही ऐनले दिएको अधिकार प्रयोग गरी २०५७ माघ २३ खण्ड ५०, संख्या ४२ को राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपालमा बिक्रीवितरणका लागि दुई प्रकारका नुनको गुणस्तर वर्गीकरण गरिएको छ । जसअनुसार खाद्य गुणस्तर वर्गीकरण नम्बर ६ को ६.१ मा आयोडिन नभएको नुन र ६.२ मा आयोडिनयुक्त नुनको गुणस्तर मापदण्ड तोकिएको छ । प्रायः औषधिमा प्रयोग गरिने सिधेनुन र विरेनुन प्रशोधन (धुलो बनाई) र प्याकेजिङ गर्न नपाइने भए पनि केही व्यवसायीले प्रशोधन र प्याकेजिङ गरी प्रतिकेजीको तीन सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको मञ्चका अध्यक्ष महर्जनले जानकारी गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?