व्यवसायी प्रसाईंको निम्तोमा युएईका राजकुमार नेपालमा

हिमालय टाइम्स
Read Time = 4 mins

पार्थ मण्डल/हिटा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का अधिराजकुमार जुमा अल मोक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आउनुभएको छ । युएईबाट विशेष विमानमा शनिबार काठमाडौं आउनुभएका उहाँ श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत शनिबार नै झापा पुग्नुभएको छ । झापाको चन्द्रगढी विमानस्थलमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं व्यवसायी दुर्गा प्रसाईंले राजकुमार माक्तुमको स्वागत गर्नुभएको थियो । व्यवसायी प्रसाईंकै निम्तोमा राजकुमार माक्तुम नेपाल भ्रमणका क्रममा झापा आउनुभएको हो ।

स्वागतपश्चात् राजकुमार माक्तुमले व्यवसायी प्रसाईंलाई सुन जस्तो देखिने धातुको लौरो उपहारस्वरूप प्रदान गर्नुभएको छ । राजकुमार माक्तुमको स्वागतका लागि विमानस्थल परिसरमा समर्थकको भिड नै लागेको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेट सिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुन उहाँ झापा आउनुभएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो । आइतबार बिहान ९ बजे पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटिस्क्यान उद्घाटन कार्यक्रम रहेको उहाँले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । राजकुमार माक्तुम मेचीनगरस्थित मेची क्राउन होटेलमा बस्नुभएको छ ।

झापा दौरानको क्रममा राजकुमार बिर्तामोडसहित भद्रपुर, कचनकवलको भ्रमण गर्नेसमेत कार्यक्रम रहेको जनाइएको छ । भद्रपुर र कचनकवलमा उहाँलाई मुस्लिम समुदायका अग्रजहरूले भव्य स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । उहाँ सोमबार दिउँसो काठमाडौं फर्किने कार्यक्रम रहेको छ । बिएण्डसीका सञ्चालक प्रसाईं, उहाँका छोरा नीराजन प्रसाईं, सहयोगी प्रमिश गिरी, रिजवान आलम लगायतको समूह जेठ १४ गते दुबई पुगेर राजकुमारलाई निमन्त्रणा दिएका थिए । सोही निमन्त्रणा स्वीकार गर्दै उहाँ झापा आउनुभएको हो ।

दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मद र दुबईका राजकुमार माक्तुमले प्रसाईंले नेपालमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा पनि गर्नुभएको थियो । त्यस बेलाको भेटघाटमा दुबईका प्राधिकरण कार्यकारी निर्देशक महम्मदले जडीबुटीलाई दुबईको बजारमा प्रवद्र्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, दुबई सरकार नेपालको स्वास्थ्य र शिक्षाको विकासमा सहकार्य गरेर अघि बढ्ने बारे छलफल भएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?