नियामक निकायको सक्रियता अपेक्षित

हिमालय टाइम्स
Read Time = 6 mins

भ्रष्टाचार संसारका धेरै देशमा हुने गरेको पाइन्छ । विकसित र कानुन कार्यान्वयनमा कडाइ भएका देशहरूमा यस्ता कार्य अपेक्षाकृत रूपमा कम हुने गरेका छन् । अविकसित तथा अल्पविकसित मुलुकहरूमा भ्रष्टाचारजन्य कार्य बढी हुने गरेको पाइएको छ । कतिपय देशमा मृत्युदण्ड जस्तो कठोर कानुनी प्रावधान हुँदा पनि त्यहाँ यस्ता कार्य हुने गरेको पाइएको छ । नेपाल अल्पविकसित तथा विकासोन्मुख देश हो । यहाँ यस्ता कार्य हुन्छन् र तिनको केही समयसम्म चर्चा हुन्छ तर त्यसको निप्टारा के कसरी भयो भन्ने सामान्य जनतालाई थाहा नै नभई त्यो समाप्त हुन्छ । सन्दर्भ हो एकजना नायब सुब्बा जसले चार वर्षसम्म मात्र जागिर खाए तर उनको आर्जन यस अवधिमा ६ करोडभन्दा बढीको देखिन आयो ।

यसलाई अस्वाभाविक मान्नुपर्छ । जम्मा ४८ महिना जागिर खाएको नासु तहको मानिसको कुल आर्जन भनेको धेरैमा १०-१२ लाखको हुन्छ । त्यसमा पनि घर खर्च चलाएर बचत गर्न भने निकै मुस्किल हुनुपर्ने हो । तर भीमकान्त भण्डारीले यति छोटो समयमा कसरी यत्रो धनार्जन गरे भन्ने कुरा स्वाभाविक नदेखिँदा हाल उनी अख्तियारको फन्दामा परेका छन् । निश्चित छ यो उनको कुनै वैधानिक बाटोविपरीतको आर्जन हो । यस्तो आर्जन सबैले गर्न सक्दैनन् । गलत बाटोबाट आर्जन गर्नेहरूले सरकारलाई स्रोत देखाउन सक्दैनन् र अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्छन् । जागिरका लागि मानिसले धेरै परिश्रम खर्चेको हुन्छ, ठूलो मिहिनेतपछि सफलता पाउँछ ।
जागिर खान पाउने उमेरसम्म त्यही जागिरको आर्जनबाट परिवार पाल्छ, छोराछोरी पढाउँछ र आफ्ना अन्य आवश्यकताको परिपूर्ति गर्छ ।

तर, भीमकान्तले जागिर खाएको चार वर्षमै जागिरबाट राजीनामा दिनुभनेको आफ्नो अवैध आर्जनलाई संरक्षण गर्न चाहनु हो । यो प्रमाणित तथ्य हो । हाल अख्तियार सक्रिय भएर उनीविरुद्ध अनुसन्धान गर्न थाल्नु प्रशंसनीय कार्य हो । प्रमाणको अभावमा अदालतमा मुद्दा चल्दैन त्यसैले प्रमाण खोज्नुपर्छ तर उनले र उनीसँग संलग्नता भएका निकायले प्रमाण नष्ट गर्न नपाऊन् भनेर सतर्कता अपनाउन आयोगले बिर्सनु हुँदैन । साथै आयोगका पदाधिकारी यस्ता व्यक्तिहरूको प्रलोभनबाट पर बस्नु त्यक्तिकै जरुरी हुन्छ । कहिलकाहीँ अयोगका कर्मचारीहरू नै यस्ता अभियुक्तसँग साँठगाँठ गर्न पुगेका उदाहरणसमेत पाइएका छन् ।

आयोगले सक्रियता देखाएका बेला नेपालका उच्चपदस्त राजनीतिज्ञसमेत अख्तियारको कारबाहीमा परेर जेल बस्नु परेको स्मरणीय छ । तीमध्ये केही नेताहरूको राजनीति सधैंका लागि समाप्त नै भएको छ भने केही जेलमुक्त भएपछि राजनीतिमा फर्किए पनि तिनीहरू पहिलेको जसरी निर्भयताका साथ राजनीतिमा अगाडि आउन सकेनन् । राजनीतिज्ञहरू छोटो समयका लागि पदीय हैसियतमा पुग्ने भएका कारण छोटो समयमै उनीहरूले कुस्त कमाउने गरेको पाइएको छ । कर्मचारी भनेको लामो समयसम्म पदमा रहने वर्ग हो र कर्मचारीको मिलेमतो राजनीतिज्ञसँग नभई ठूलो भ्रष्टाचार गर्न आँट गर्दैनन् ।

यी दुवै वर्ग एकआपसमा नमिली भ्रष्टाचार हुँदैन । अहिले भीमकान्तको भ्रष्टाचार पनि खोतल्दै जाँदा राजनीतिज्ञसम्म जोडिन सक्छ । ओम्नी समूहसँग उनको संलग्नताको आशंका भइरहेकै छ । राम्ररी खोजी हुनु आवश्यक छ । नेपालमा भ्रष्टाचारको यो पहिलो घटना होइन र यो नै अन्तिम हुनसक्छ भन्ने पनि होइन । यस्ता अनेकौं भ्रष्टाचारजन्य घटना भोलि पनि दोहोरिन सक्छन् । तिनको पनि छानविन गर्दै जानुपर्छ । साँचै भन्ने हो भने अख्तियारले निर्भयतापूर्वक खोजी गर्ने हो भने भ्रष्टाचारजन्य अरू धेरै घटना फेला पर्न सक्छन् । धेरै व्यक्ति कारबाहीमा पर्न सक्छन्, आयोगले यस्तो आँट गरोस् । यस्ता सबै कार्यका लागि जनताको सधैं साथ अवश्यै रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?