परिवारवादले मधेसीदलको घट्दोे लोकप्रियता

हिमालय टाइम्स
Read Time = 12 mins
A A- A+

✍️ श्रीमन नारायण
हालै सम्पन्न स्थानीयतहको निर्वाचन परिणामले नेपाली कांग्रेसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा स्थापित गरेको छ । यसको संभावना पनि थियो । नेकपा एमाले दोस्रो स्थानमा रहने अनुमान त थियो तर नेपाली कांग्रेस एवं नेकपा एमालेबीच सिटको अन्तर यति बढी होला भन्ने अनुमान कसैको पनि थिएन । नेकपा माओवादी केन्द्रले सन्तोषजनक प्रदर्शन नै गरेको छ । मधेस प्रदेशमा उसको प्रदर्शन साह्रै निराशाजनक देखिएको छ । मधेस प्रदेशलाई र तराई मधेसलाई आफ्नो राजनीतिक सम्पत्ति ठान्दै आएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई अप्रत्याशित असफलता हात लागेको छ ।

मधेसी जनताका समस्यालाई समाधान गर्न कुनै ठोस पहल नगर्ने तर यसलाई सधैंको निम्ति कमाइखाने भाँडो ठान्दै आएका कथित मधेसी दलहरूलाई यसपालि त्यहाँका जनताले ठूलो पाठ पढाएका छन् । चार वर्षसम्म मधेस प्रदेश सरकारको नेतृत्व गरेका र अहिले पनि नेतृत्व गर्दे आएका मधेसी दलहरूले स्थानीय चुनावमा प्राप्त गरेका सफलतालाई सन्तोषजनक मान्न सकिँदैन । हालै सम्पन्न स्थानीय चुनावमा मधेसी दलले किन यति ठूलो असफलता भोग्नु पर्‍यो यसका कारण खोतल्नै पर्दछ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले विगतका दिनमा समानुपातिक कोटामा अफ्नी श्रीमती, नातेदार र व्यापारिक मित्रहरूलाई संविधानसभा, संसद र प्रदेशसभामा पु¥याउने काम गर्दै आएका थिए ।

अब स्थानीय तहको निर्वाचनमा पनि आफ्ना परिवारिक सदस्यलाई उम्मेदवार बनाई आफ्नो निहित स्वार्थ पूर्ति गर्ने प्रयास गरेका थिए तर जनताले तिनको महत्वकांक्षामाथि बज्रपात गरिदिए । सडक आन्दोलन गर्र्ने, धर्ना एवं अनशनमा बस्ने, गोली खाने, शहादत दिने, पार्टी संगठनको निम्ति जीवनभर धनसम्पत्ति गुमाउने सामान्य एवं मध्यमवर्गीय परिवारका जनता तर सत्तासुख एवं अवसर आएको बेलामा प्यारासुटबाट आफ्ना नातेदार, पारिवारिक सदस्य एवं व्यापारिक मित्रलाई लाभ पुर्‍याउने कुरा जनतालाई पनि यसपालि सहन भएन ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही वर्ष अधिसम्म मधेसी मसिहाका रूपमा प्रचारित थिए । आफूलाई मसिहा भन्न रुचाउँथे पनि । विसं २०६३ र विसं २०६४ सालको मधेस आन्दोलनले उनलाई मधेसमा सर्वाधिक लोकप्रिय नेता बनाउने काम पनि गर्‍यो । विसं २०६४ सालको संविधानसभा निर्वाचनमा जनताले उनको पार्टीलाई राष्ट्रियमा राजनीतिको अग्रणी पंक्तिमा स्थापित गरे तर उनले जातिवाद महत्व दिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले आफ्नो छोरालाई राजनीतिमा स्थापित गर्न खोजेका थिए तर जनताले पत्यार गरेनन् ।

विराटनगर महानगरपालिकाको उपप्रमुखको पदमा उनले आफ्नो छोरा अमरेन्द्र यादवलाई उठाएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र घोर संघीयता विरोध जनमोर्चाको समर्थन र सहयोगका बाबजुद उनले आफ्नो गृहनगरमा आफ्नो छोरालाई चुनावमा विजयी गराउन सकेनन् । विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा विराटनगरका जनताले उनललाई समर्थन गरी चुनाव जिताएका पनि थिए तर विसं २०७४ सालमा विराटनगरको सट्टा उनले राजविराजवाट चुनाव लडे । विराटनगरका जनताले उनको विगत १५ वर्षको राजनीतिक गतिविधिको सूक्ष्म रूपमा विश्लेषण गर्दे आएका थिए ।

उनको सुपुत्रको पराजय नैतिक रूपमा स्वयंनको पराजय नै हो । मधेसवादको नारा दिएका उपेन्द्र यादवलाई मधेसका जनताले समाज सुधारक, अग्रणी नेता एवं आफ्नो समुदायको आर्थिक, समाजिक र राजनीतिक अवस्था अर्थात् तिनको जनजीवनमा आमूल परिवर्तन ल्याउन सक्ने मसिहा ठानेका थिए । उनको आहृवानमा जनताले ज्यान दिएका थिए । सैयौं घाइते भएका थिए । कतिपयको घाउ अहिलेसम्म निको भएको छैन । मधेसका जनताले उनलाई आफ्नो अभिभावक ठानेका थिए तर उनी त आफ्नो छोरा अमरेन्द्र यादवका बुबामात्रै सावित भए ।

आफ्नो छोराको ठाउँमा पार्टीका कुनै कार्यकतालाई उनले उम्मेदवार बनाएका भए सो सिट पार्टीले अवश्य जित्नेथियो । जतिबेला उनले आफ्नो छोरालाई पार्टीको विराटनगर नगर समितिको अध्यक्ष बनाएका थिए, त्यतिबेला पनि विरोध भएको थियो । सम्भवतः पाँच वर्षको कार्यकाल पूरा गर्ने नेपालका एकमात्र मुख्यमन्त्री लालबाबु राउतले आफ्नी श्रीमतीलाई गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनाउनुको औचित्य नै के थियो ? भन्ने प्रश्न उठिरहेको छ । आखिर उनकी श्रमितीले पनि पराजय भोगिन् । विगतका दिनमा राजेन्द्र महतोको दाहिने हात मानिएका मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पार्टीमा विभाजन आउँदा राजेन्द्र महतोभन्दा आफ्नो मन्त्री पदलाई प्यारो ठाने ।

उनका छोरा पनि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको प्रत्यासीबाट पराजित हुनु त्यस ठाउँबाट लोसपा र जसपाको बिदाइको संकेत हो । किनभने त्यस क्षेत्रका युवाहरू अब मधेसको नाउँमा बासी घोषणा, नारा र आश्वासन सुन्न तयार छैनन् । जसपाबाट समानुपातिकमा मधेस प्रदेशको सभासद बनेका र चार वर्षसम्म मन्त्री रहेका रामनरेश राय यादवले लोसपाबाट जसपामा प्रवेश गरे पनि आफ्नो छोरालाई प्रमुखको पदमा पराजित हुनबाट रोक्न सकेनन् ।

राजेन्द्र महतो पनि आफूलाई मधेसी मसिहा भन्न रुचाउँछन् तर यसपालि आफ्ना दाइभाइलाई सर्लाहीको चन्द्रनगर नगरपालिकाको प्रमुख पदमा पराजित हुनबाट रोक्न सकेनन् । विगतमा अफ्नी श्रीमतीलाई समानुपातिक कोटाबाट सांसद बनाएका महतोका भतिजा अहिले पनि निर्वाचित प्रादेशिक सांसद हुन् । आफ्नी सम्धिनीलाई समानुपातिक कोटामा संविधानसभाका सदस्य र सम्धीलाई प्रदेश प्रमुख बनाएका महन्त ठाकुरले पनि महोत्तरीको गृह नगरपालिका पिपरामा आफ्नो पार्टीको उम्मेदवारलाई पराजित हुनबाट रोक्न सकेनन् ।

लोसपाका एक अन्य नेताले पनि रौतहतको आफ्नो गृहगाउँपालिका दुर्गा भगवतीबाट एउटा वडा अध्यक्षसमेतलाई पनि जिताउन सकेनन् । येनकेन प्रकारेण शरतसिंह भण्डारी भने आफ्नो गृहनगरपालिका सुरक्षित राख्न सफल भए । लोसपाका प्रदेश अध्यक्ष र आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा अत्यधिक विकास गरेको दाबी गर्ने, जितेन्द्र सोनल पनि आफ्नो गृह गाउँपालिका परवानीपुर र परसौनी नेकपा एमालेलाई सुम्पिन बाध्य भए । जसपा र लोसपाका कतिपय सांसद र मन्त्री त आफ्नो गाउँमा दुई दर्जन मत पनि पाउन सकेनन् ।

लोसपाले विगतमा जितेका राजविराज, जनकपुर, जलेश्वर र गौर जस्ता महत्वपूर्ण नगरपालिका गुमाउनु पर्‍यो । यतिमात्रै होइन यसले महोत्तरी सर्लाही, सप्तरी र बारामा पनि आफ्ना कतिपय पालिका गुमाउनु पर्‍यो । धनुषा र सिरहामा त खाता पनि खोल्न सकेनन् । जसपाले वीरगञ्ज तथा राजविराजलाई जोगाइराख्न सफल भएको छ । महोत्तरीमा राम्रो प्रदर्शन गरेको छ तर मधेस प्रदेशका अन्य जिल्लामा खासै उत्साहजनक प्रदर्शन गरेका छैन । पार्टीको प्रभाव विस्तार कम भएको छ तर आधारभूमि मधेस प्रदेश खुम्चिन लागेको छ । प्रादेशिक राजधानी जनकपुरधाममा यसका नगरप्रमुख उम्मेदवारले लज्जास्पद पराजय भोग्नु जसपाको निम्ति राम्रो संकेत होइन । पार्टीले पाँच दलको समर्थनका बाबजुद जनकपुर र कलैया जोगाउन नसक्नु दूरभाग्यपूर्ण हो ।

मधेस प्रदेशमा नेपाली कांग्रसले पुनः आफ्नो आधारलाई हासिल गरेको छ । नेकपा एमाले, जसपाभन्दा पनि बढी सिट हासिल गर्नु मधेस प्रदेशका जनताको मधेसी दलप्रतिको वितृष्णाको उपज हो । लोसपा खुम्चिएको छ । भोलिका दिनमा सिके राउतको जनमत पार्टी र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले यस प्रदेमा आफ्नो सक्रियता बढाउनेछ ।

नेपाली कांग्रेसको बढ्दो प्रभावले जसपालाई, एमालेका कारण माओवादीलाई र जनमत तथा जसपाका कारण लोसपालाई घाटा पुग्ने निश्चित छ । जनतामा राजनीतिक चेतना बढेको छ । राजनीतिक दलहले जनचाहनाको मूल्यांकन गरेन, मतदाताको चाहाना र उम्मेदवार चयनमा तारतम्म देखाएनन भने झन ठूलो पराजय झेल्नुपर्ने छ । पारिवारिक राजनीतिलाई जनताले खोरज गर्ने मानसिकता बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?