विकास : अवधारणामै अलमल

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की
विकास भएको र वर्तमानले गरेको भन्ने आत्मश्लाघा हरेक वर्तमानले गौरव गानको रूपमा प्रयोग गर्ने गर्दछन् । विगत वर्तमान हुँदा पनि आपूmले विगतभन्दा धेरै विकास गरेको र विगतले केही नगरेको कुरा भनेकै हुन् । वर्तमानले पनि त्यसै भन्छ, अनि भविष्य वर्तमान भएपछि पनि त्यही नै भन्नेछ । यो हरेक वर्तमानलाई आफ्नो पिठ्युँमा आफैँ धाप माने अवसर दिने विकास भने चाहिँ के हो ? किन विगतले गरेको विकास वर्तमानले नकार्ने गर्दछ ? यी कौतुहल जगाउने प्रश्न हुन । अझ दलीय शासन प्रणालीमा त एउटा दलको समर्थकले विकास भएको देख्छ भने अर्को दलकोे फिटिक्कै केही नभएकोे देख्छ ।

यो कुरा यहाँ दलीय व्यवस्थाको आलोचनाको निमित्त गरिएको होइन । किनभने हरेक व्यवस्था असल वा खराब बनाउने त्यसलाई सञ्चालन गर्ने जिम्मेवारी बोकेकामा भर पर्ने गर्दछ । यदि व्यवस्थालाई आफ्नो अनुकूल प्रयोग गर्न खोजियो भने त्यसको निमित्त अनेकौं छिद्र हुन्छन् । ती छिद्रलाई आफ्नो अनुकूल प्रयोग गर्न खोेज्ने बित्तिकै त्यसलाई सकारात्मक सुधारको नाम दिएर त्यो व्यवस्थाको आधारभूत तत्व नै बदलिन्छ विस्तारै विस्तारै ।

जर्ज ओरबेलको चर्चित उपन्यास ‘एनिमल फर्म’ पढ्ने सबैले पुनस्मरण गर्दा हुन्छ जनावर जनावर समान हौ भनेर त्यो एनिमल फर्मको मालिक मान्छेलाई लखेट्ने सफल आन्दोलन हाँक्ने जनावरले समानको परिभाषा गर्छ । उसको सुधारिएको परिभाषा छ हो जनावर सबै समान हुन्छन् तर केही जनावर भने ज्यादा समान हुन्छन् ।

यो निर्दोष अनि उचित जस्तो लाग्ने वाक्यांशले अगुवाको शक्ति मदलाई वैधानिकता दिन्छ । जो सुरुको सबै जनावर समान भन्ने नाराको विपरीत छ । यस्तै प्रजातन्त्रबाट लोकतन्त्र भएपछि ‘सहभागितामूलक लोकतन्त्र’ भनेर आफ्नो सहभागिताको निमित्त विभिन्न मञ्चमा आवाज उठ्ने गरेको छ । लोकतन्त्र भने पनि प्रजातन्त्र भने पनि त्यसको मूल तत्व नैै समान रूपले सबैलाई सहभागिताको अवसर भन्ने नै होे । यदि यसमा सहभागिताको निमित्त दबाब समूह सक्रिय हुनुपर्ने हो भने यो अवस्था सबै समान तर केही ज्यादा समानको अवस्था हो भन्न धक मान्नुपर्ने अवस्था छैन ।

त्यस्तै विपक्षीको काम पक्षको नराम्रो कामको विरोध हो दलीय प्रणालीमा । तर, के भइराखेको छ भने नराम्रो कामको विरोध भन्ने वाक्यांशको नराम्रो भन्ने शब्द हटेको छ । अनि भएको छ विपक्षीका काम पक्षको कामको विरोध होे, अझ सबै कामको विरोध हो । गिरिजा बाबु विराटनगर आउँदा आपूmहरूको सामुन्ने उनले विकास केलाई भन्ने भनेर अलोचनाले गर्दा आफू अवधारणामै अलमल परेको भनेर भनेको कुराको उल्लेख गर्ने विद्वानहरू पनि हुनुहुन्छ । यो आफूले असल नियतले नै गरेको राम्रो काम पनि खराव देख्नेहरू हुन्छन् ।

तर, आफूले असल नियतले नै गरे पनि त्यो काम कमसल हुन पनि सक्छ भन्ने नमान्नु र पुनरावलोकनसमेत गर्र्न नमान्नु शायद घमण्ड नहोला । किनभने पदमा भएको मान्छेले एकपटक आफूले गलत गरेको महसुस भएर स्वीकार गर्‍यो भने त्यो त्यहाँबाट खस्छ । किनभने नेपाली समाजका चल्तापुर्जाहरूले पदमा भएको मान्छेलाई गल्ती स्वीकार गर्ने अधिकार नभएको यदि स्वीकार गरे त्यो अयोग्य भन्ने सिकाएका छन् । यसका गल्तीको मात्रा र गम्भीरताले कुनै असर पार्दैन । त्यसैले आफू कहिले गल्ती नगर्ने अनि योग्य जनाउन आफ्ना जे जस्ता सोचहरू पनि विगतभन्दा राम्रो र हरेक काम विकास हो भनेर भन्नै पर्ने भएको छ ।

कुनै बेला आधा उत्तरप्रदेश र विहारलाई खाद्यान्न आपूर्ति गर्ने नेपाल वर्तमानमा हरेक खाद्य वस्तु विदेशबाट आयात नगरे नपुग्ने अवस्थामा पुगेको छ । तर, कृषिका अवयव सम्बन्धित मन्त्रालय विगतभन्दा कृषिमा अतुलनीय विकास भएको भनेर आत्मश्लाघामा मस्त छन् । बिगौबिगाहा वा कैयौं रोपनीमा गरिने खेतीलाई ध्यान नदिएर शहरियाको शौखको रूपमा प्रवेश गरेको कौसी वा छाना खेतीको प्रवद्र्धनमा लागेको छ । राज्यसँग भएको साधनस्रोतमात्र होइन केही खेतीको व्यवसायिकीकरण भनेर कृषिको आधारभूत तत्व नै खलबल्याएर कृषिकोे विकास गर्ने सपना पस्किने व्यापारीहरू पनि यसमा लागेका छन् ।

यसले कृषकले जानेको सीप कौशल पनि भुलेर कतै अलिअलि पनि खाद्यान्न उप्जाउन नछोडून् । उसै पनि गोठमा कमसे कम एकहल गोरु हुनै पर्ने किसानको बाध्यतालाई सजिलो बनाइदिँदा रसायनिक मलको अभाव सरकारले पनि समाधान गर्न नसक्ने गरेर विकसित भएको छ । नित्य नयाँ विकासको काम गर्ने र विगतभन्दा आफूलाई चुस्त देखाउने प्रयत्त्नमा कैयांैका घर भत्काउन बाध्य पारियो । जसले प्रश्न उठायो त्यसको विकासविरोधी वा पुरातनपन्थी भनेर मोरो काढियो । तर, त्यसरी भत्काएर गरिएको विकासको चरण पूरा नहुँदै त्यो साँघुरो भएर विकासको निमित्त फेरि भत्काउनुपर्ने अवस्थामा पुग्दैछन् ।

अर्थात भविष्यले वर्र्तमानलाई त्यस्तो पनि विकास हुन्छ भनेर फेरि तोडफोडयुक्त विकास गर्ने अवसरको वीजारोपण गरिसक्यो । राणा शासनको बेलामा बनेका एनजेजेआर (नेपाल-जनकपुर-जयनगर रेलवे) र एनजीआर (नेपाल-गभर्मेन्ट-रेलवे)मध्ये एनजेजेआरलाई सुधार गरेर चालु गर्न ल्याएको नयाँ रेल इञ्जन केही दिनलाई विकासगाथा गाउनबाहेक उपयोगमा हालसम्म आउन सकेको छैन ।

यही हाल नेपाल पानीजहाज कार्यालयको भएको छ । यो जनताको करले जम्मा भएको राजस्व अपव्यय गर्ने अर्को माध्यम भएको छ अनि विकासको स्तोत्र पढ्ने विषय पनि । यो राजस्वको भारले जनताको कुन विकास गर्‍यो त्यो सोध्नेलाई विकासविरोधी भन्न कत्तिबेर लाग्दैन । यस्तै विकास गर्न जोसैजोसमा पहाडका टुप्पाटुप्पामा पुर्‍याइएको बाटोबाट प्रकृतिले जनधनको क्षति गरेको छ । अर्थात् प्रकृति पनि विकासविरोधी भएको छ । अनेकौं स्थानमा भटाभट बनाइएका भ्यु टावरहरूले जनताकोे कस्तो विकास गर्दछन् यो पनि देख्न नै बाँकी छ । त्यसैले विकासको अवधारणमा भएकोे यो अलमल हट्न आवश्यक छ । नत्र भने मुुलुकमा अर्को वर्गको उदय नहोला भन्न सकिँदैन । त्यो वर्गको नाम हुनेछ विकास पीडित वर्ग ।

निर्माण कार्य विकासको पर्यायवाची बनेको छ । स्थानीय तथा प्रदेशलगायत सरकारलाई कार्य प्रगतिको लेखाजोखा बारेमा प्रश्न गर्ने हो भने धेरै उत्तर चाहिँ फलाना फलाना निर्माण गरियो भन्ने नै हुने गर्दछ । उसै पनि निमार्ण कार्यलाई विकास स्थापित गर्दा देखिने तथा नदेखिने धेरै लाभ हुने गर्दछन् । त्यसैले पुरानो तर काममा कुनै असुविधा नभएको संरचना पनि भत्काएर नयाँ संरचना खडा गर्ने विकासकोे लहर देख्न सकिन्छ ।

यस्ता विकास कार्यमा अवरोध नहोस् भनेर निमार्ण कार्य हुने स्थानका सरकारका जनप्रतिनिधिहरूले आफैँले डोजरलगायत निर्माण यन्त्रहरू किनेका छन् र यसरी विकासमै दत्तचित्त भएका छन् । यसोभन्दा कति उचित वा अनुचित हुन्छ त्यो विवेचन गर्ने जिम्मा लिने विद्वानको खाँचो भने मुलुकले गरेको छ ।

सरिता या मुक्ता यस्तै कुनै पत्रिकामा एक पटक यस्तै रोचक कथा आएको थियो । विकास निर्माणको रोचक घटनाक्रम बुनेका थिए कथाकारले । सोच्ने थप कोणको निमित्त त्यसको सारांश यहाँ असान्दर्भिक नहोला । कथा छ एक ब्लककोे गाउँको प्रशासन हेर्ने तीन लगातारका बिडिओ अर्थात् ब्लक डेभपमेटण्ट अफिसरको । जसअनुसार पहिलो बिडिओ आफ्नो क्षेत्रको भ्रमण गर्न गए । उनले एक ठाउँमा खेतीको निमित्त सिँचाइको पानीको अभाव देखे । त्यो इलाकामा पोखरीको मध्यमबाट सिचाइ हुन्थ्यो । भ्रमणबाट फर्केपछि त्यहाँको दयनीय अवस्था, पोखरीले त्यो अवस्थामा ल्याउन सक्ने सुधार आदि सामेल गरेर केन्द्रसँग पोखरी माग गरे । त्यो स्वीकृत भयो र रकम निकाशा भयो ।

अब बिडिओ र सरपञ्चको भागदौड सुरु भयो । पोखरीको काम सुरु भयो, त्यसमा खर्च भयो । नियत समयभन्दा पहिले पोखरी बन्यो नियत बजेटमै काम भयो तर यो सबै केवल कागजमा मात्र भयो । बिडियोको कामको केन्द्रले मूल्यांकन ग¥यो र केही वर्षमा पदोन्नति गरेर अर्को स्थानमा सरुवा गरियो । अब अर्को बिडियो आए । उनले केही समयपछि त्यो स्थान भ्रमण गरे । पोखरी खोजे तर पोखरीको नामनिशान थिएन । कुरो बुझे अनि सरपञ्चलाई बोलाए । अनि सरपञ्चलाई भने यो पोखरी मर्मत गर्ने बेला भएछ । सरपञ्चलाई केको आपत्ति अब पोखरी मर्मत गरेर नाम-दाम दुवै कमाए ।

ती बिडिओ सरुवा भएपछि नयाँ आउने बिडिओे पोखरी बनेको मर्मत भएको देखे कागजमा । यो कागजी काममा उनी के कम ? उनले सरपञ्चलाई बोलाए थर्काए । यस्तो बस्तीको नजिक पनि पोखरी राख्ने होे ? केटाकेटी डुब्ने डर हुँदैन ? सरपञ्च झन के कम उने भने हो सर दशजना जति केटाकेटी डुबिसके मुस्किलले बचाइयो । अब दुवैको सल्लाहनुसार कागजमा पोखरी पुर्ने काम भयो जसको खर्च सरकारी थियो । त्यसैले विकास र प्रगतिको भिन्नता जनताले बुझे यसरी निमार्ण, मर्मत, तोडफोड अनि निर्माणलाई विकास मान्ने अलमल नहोला अनि विकासको सही अवधारणा पाउन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?