हिमा गाउँपालिकाद्धारा गाउँमै स्वास्थ्य शिविर संचालन, चारसय बढीले लिए सेवा

हिमालय टाइम्स
Read Time = 4 mins

विजय रावत/जुम्ला

जुम्लाको हिमा गाउँपालिकाले संचालन गरेको स्वास्थ्य शिविरबाट ४ सय ७४ जना लाभान्वित भएकाछन् । सो गाउँपालिको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा संचालन भएको शिविरबाट यहाँका नागरिक लाभान्वित भएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो । स्त्रीरोग, भिडियो एक्सरे र हाडजोर्नी रोगबाट समस्या भएका स्थानीयवासीलाई प्रत्यक्ष रुपमा गाउँमै सेवा दिनका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सहकार्य गरेर स्वास्थ्य शिविर संचालन गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ सबै भन्दा हाडजोर्नी र स्त्रीरोगका विरामीले बढी सेवा लिएकाछन् । महिलाको पाठेघरबाट सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने समस्या भएका महिलालाई शिविरले राहत गरेको छ । ” गाउँका बढी महिला कामको व्यवस्थाले स्वास्थ्य संस्थासम्म पुगेर उपचार गर्नबाट बञ्चित हुनेगरेका छन् । साना साना रोग लागेको पनि थाहा हुदैन । यी सबै समस्यालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दक्ष चिकित्सकबाट उपचार गर्न पाउदाँ हिमाका स्थानीयवासीलाई स्वास्थ्यमा राहत पुगेको अध्यक्ष शाहीले बताउनुभयो ।

सानै उमेरमा विवाह गर्दा, बच्चा छिटो जन्माउदा र महिनावरी भएको बेला उचित स्वास्थ्य सेवा नपाउनुले गर्दा पाठेघरमा समस्या हुने गरेको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर सोनम गुरुङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ शिविरमा आएका अधिकांस महिलाहरुको पाठेघरमा समस्या देखिएको छ । केहि महिलाहरुलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म रेफर गरिएको छ । पाठेघरमा समस्या भएका महिलाहरुको संख्या बढी रहेको स्त्रीरोग विशेषज्ञ डाक्टर गुरुङ्गले बताउनुभयो । हाडजोर्नीका विरामीले पनि सेवा लिएको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकायाले बताउनुभयो । नशा च्यापिएका, चोटपटक लाग्दा उपचार नगराई बसेका र विभिन्न कारणले हाडजोर्नीको समस्या भएका विरामीलाई गाउँमै पुगेर सेवा दिन पाउदा खुसी लागेको हाडजोर्नी विशेषज्ञ डाक्टर रोकायाले बताउनुभयो ।

स्वास्थ्य संस्थासम्म पुगेर उपचार गराउन नसक्ने नागरिकका लागि शिविरले ठुलो राहत गरेको स्थानीयवासी बताउँछन् । विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरले घरमै सेवा पाउदाँ निकै राहत पुगेको स्थानीयवासी रतन रोकायाले बताउनुभयो । अब पालिकाले हरेक ३/३ महिनाको फरकमा स्वास्थ्य शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिकाले यहि असार ६ र ७ गते नि:शुल्क आँखा शिविर पनि संचालन हुने हिमा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?