पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग

हिमालय टाइम्स
Read Time = 5 mins

बारा । जग्गा विवाद झिकेर निर्माणाधीन बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पार्ने सखरा हाउजिङ कम्पनी प्रालि वसुन्धरा काठमाडौंलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । सिमरा–कोल्हवी सडकखण्डअन्तर्गत जितपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगंगा  खोलाको पुल सो कम्पनीको लापरबाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् ।

आक्रोशित स्थानीयले अलपत्र पुलको निर्माण रोक्ने सखरा हाउजिङ कम्पनीलाई वडा कार्यालयहरूबाट आवश्यक हुने कागजात रोक्का गर्न जनप्रतिनिधिहरूसँग माग गरेका थिए ।

सो वडाका वडाध्यक्षले समेत स्थानीयको मागलाई तत्काल सम्बोधन गर्दै उक्त कम्पनीले समस्या समाधान नगरेसम्म कम्पनीसँग सम्बन्धित कुनै काम वा सिफारिस नगर्ने बताउनुभएको छ । जग्गा कारोबारीको नाममा खोलामा परेको जिल्ला किन्ने, मास्ने र जनताको हितको काममा अवरोध सिर्जना गर्ने सखरा हाउजिङ कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित वडाध्यक्षहरूले बताएका छन् ।

पुल निर्माणको काम रोकिँदा दैनिक हजारौँ सर्वसाधारण जनताले दुःख पाएको भन्दै स्थानीयहरूले कम्पनीविरुद्ध संघर्षमा उत्रिने घोषणा गरेका छन् । वर्षायामसँगै बाढी र डुबानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले आवागमनलाई सहज पार्न सम्बन्धित पक्षलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको स्थानीयको भनाइ छ ।

स्थानीयले पुल निर्माणका लागि दबाब दिने उद्देश्यले वडा नम्बर १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति गठन गरेको छ । गत चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भइरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाका विरुद्ध २७ माघ २०७७ सखरा हाउजिङ कम्पनी प्रालि वसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

कम्पनीले साबिक डुमरवाना गाविस–४ को कित्ता नम्बर ४३४ को १ बिघा र कित्ता नम्बर ४३५ को तीन कठ्ठा जमिनमध्ये एक बिगाह एक कठ्ठा जमिनमा पुल बनेको दाबी गरेको छ । कम्पनीका तर्फबाट कलैया उपमहानगरपालिका–२४ सखुईका रामेश्वरप्रसाद यादवले मुद्दा दर्ता गराउनुभएको थियो । उहाँले प्रतिकठ्ठा ११ लाख क्षतिपूर्ति मागदाबी गरेको बताइएको छ । सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले पुल निर्माण कार्यमा रोक लगाउँदा पुल अलपत्र परेको स्थानीय हरिचन्द्रप्रसाद यादवले बताउनुभयो ।

विचाराधीन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ती अन्त्यका लागि आवश्यक पहल गरिदिन जनप्रतिधिहरूलाई आग्रह गरेका छन् । पुल निर्माण कार्य चाँडै सम्पन्न गर्नुपर्ने स्थानीयहरूले बताएका छन् । करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भूमाफियाहरूको चलखेलले गर्दा उपमहानगरवासीले आफ्नै पालिकाको केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्था रहेको वडा नम्बर १८ का जगदिप कोइरालाले बताउनुभयो ।

काठमाडौंमा बसेर यहाँका खोलाको जमिन सस्तोमा किनेर जनतालाई नै दुःख दिने हाउजिङको कारोबार शंकास्पद रहेको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । ठूला जग्गा कारोबारीहरूले सरकारका प्रतिनिधिहरूसँगको सेटिङमा खोलामा परेको जग्गा सस्तोमा किनेर मोटो रकम क्षतिपूर्ति लिने गरेको उनीहरूले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?