ओलम्पिक दिवसमा सुटिङ सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष/महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाउनुभयो ।

पहिलो दिनको खेल टुंगिँदा पुरुष राइफलतर्फ नेपाल आर्मी क्लबका कुमार कार्की ३९३.८, आर्मीकै नारायणसिंह दोङ ३९३.४ र नेपाल प्रहरी क्लबका धनबहादुर विक ३८५.५ अंकसाथ क्रमशः शीर्ष तीन स्थानमा रहनुभएको छ । सो स्पर्धाको महिलामा आर्मीकी सुविना तामाङ ३९२ अंकका साथ पहिलो तथा प्रहरीकी रत्ना चौधरी ३५६.३ अंकका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

पुरुष पेस्तोलमा प्रहरीका मानबहादुर घले ३६४ अंकसाथ पहिलो, आर्मीका खेमराज ओली ३५९ अंकसाथ दोस्रो तथा आर्मीकै आदित्य खड्का ३५७ अंकसाथ तेस्रो हुनुभयो । उक्त स्पर्धाको महिलामा आर्मीकी हेमा चौधरी ३४५ अंकसहित प्रथम, आर्मीकै राधिका घर्ती ३३६ अंकसहित द्वितीय र ललितपुरकी ज्योति थापा २६७ अंकसहित तृतीय हुनुभयो ।

चारै स्पर्धामा चार सय पूर्णांकमा प्रतिस्पर्धा भइरहेको छ । चार सय पूर्णांकमा गरेको प्रदर्शनकै आधारमा प्रतियोगिताको अन्तिम दिन मंगलबार स्वर्ण, रजत र कास्य जित्ने खेलाडीको टुंगो लाग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?