नयाँ भरतपुर २२० केभी सबस्टेसन अन्तिम चरणमा

Read Time = 3 mins

काठमाडौं । नयाँ भरतपुर २२० केभी सबस्टेसन आगामी दुई महिनाभित्रमा सञ्चालनमा आउने भएको छ । चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएकाले दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको निर्माणाधीन सबस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा रहेको छ ।

सबस्टेसनमा १६०/१६० एमभिएका दुईवटा पावर ट्रान्सफर्मर रहनेछन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भए पनि कोरोनाका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सबस्टेसनमा नै जोडिनेछ ।

मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो । प्रसारणलाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारणलाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर रहेको प्राधिकरणले जनाएको छ । सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?