‘सांस्कृतिक सहर समृद्ध महानगर’को नारासहित काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८०को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिबद्धतासहित अन्य दलका केही योजनालाई पनि समेट्ने प्रयास गरिएको छ । ‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दु बनेको नीति कार्यक्रममा उल्लेख छ । संस्कृति र सम्पदाको जगेर्नालाई नीति कार्यक्रमले जोड दिएको छ ।

यसैगरी आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने कार्यलाई पनि जोड दिइएको छ । सांस्कृतिक पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गने र स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने कार्यलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको छ ।

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइ सो कोषबाट विपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइने भनिएको छ । निजी स्तरमा सञ्चालित शैक्षिक परामर्श केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरूको अभिलेखीकरण गरी नियमन गर्ने उल्लेख छ ।

एक वर्षभित्रमा महानगर क्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गरिने भएको छ । हाल सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइने तथा यसका लागि आवश्यक उपकरण तथा जनशक्तिको उचित व्यवस्था मिलाइने भनिएको छ । काठमाडौं महानगर क्षेत्रभित्र रहेका बस स्टपहरूमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराइने भएको छ । महानगर आफैँले पनि प्राथमिकतामा राखी यस्ता फल्चाहरूको निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, बहाल, पोखरी, हिति, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने बताइएको छ । ऐतिहासिक महत्वका बहास्, बहीस्, चोक लगायतका स्थानहरूलाई ऐतिहासिक परिचय खुल्ने गरी नेपाल भाषामा मौलिक नामकरण गर्ने नीति लिइनेछ नीति कार्यक्रममा उल्लेख छ ।

महानगरभित्र कर तिरेका करदाताहरूको बिमा गर्ने योजनामा ५० प्रतिशत अनुदान दिइने योजना अघि सारिएको छ । ‘महानगरपालिमा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । बिमा शुल्कको बढीमा ५० प्रतिशत उपलब्ध गराइनेछ,’ मेयर बालेन्द्र साह (बालेन) ले भन्नुभयो ।

खेलकुदको माध्यमबाट युवाको विकास गर्न महानगरपालिका क्षेत्रमा खुला व्यायामशाला, एरोबिक्स, योग सेन्टरलगायत सञ्चालन गर्न आवश्यक खेलमैदान र पूर्वाधार विकास र विस्तार गर्न निरन्तरता दिइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमसँग छलफल गरी लिग प्रतियोगिता आयोजना गरिने पनि महानगरको योजना छ ।

स्वदेशी तथा विदेशी शहरहरूसँग भगिनी सम्बन्ध विस्तार गरिने बालेनले बताउनुभएको हो । महानगरभित्र सञ्चालन हुने जात्रा पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवद्र्धन गरिने पनि उहाँले बताउनुभयो । दमकल स्टेशनको व्यवस्था गर्ने योजना सुनाउँदै बालेनले दमकल जान नसक्ने स्थानहरूमा फायर हाइड्रान्ट पोर्टेबल पम्मको व्यवस्था मिलाइने बताउनुभयो ।

सबै कार्यालयमा सिसिटिभी जडान गरिने
काठमाडौं महानगरपालिकाको सबै कार्यालयमा सिसिटिभी जडान हुने भएको छ । महानगरको कामलाई निगरानी गर्न सिसिटिभी जडान हुने भएको हो । महानगरको नीति तथा कार्यक्रममा सेवा प्रवाहलाई प्रत्यक्ष निगरानीमा राखिने उल्लेख गरिएको छ । डिजिटल अर्बन सेक्युरिटीको लागि सिसिटिभी जडान गर्न नेपाल प्रहरीसँग समन्वय गरिने उल्लेख छ ।

७० वर्ष माथिकालाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने
काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गर्ने भएको छ । नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई वडा कार्यालयमार्फत सरकारले उपलब्ध गराउने औषधि निःशुल्क दिने सहजीकरण गर्ने भएको छ । महानगरको विशेष भत्ता योजना ७५ वर्ष माथिका नागरिकलाई वार्षिक १२ हजार निरन्तरता दिएको छ । ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ ।

लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने
काठमाडौं महानगरपालिकाका मेयर साहले स्थानीय लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने बताउनुभएको छ । आइतबार ११औँ नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताउनुभएको हो । काठमाडौं महानगरपालिकाको सांस्कृतिक तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याउन ब्राण्डिङ गर्ने उहाँले बताउनुभएको हो ।

जनतासँग मेयर कार्यक्रम सञ्चालन हुने
काठमाडौं महानगरपालिकाका मेयर साहले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने हुनुभएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रूपमा संवाद गर्ने बताउनुभएको हो । यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिनेसमेत मेयर साहले नगरसभामार्फत जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?