पार्थ मण्डल/हिटा
झापा । बेलाबेलामा आफ्नै बोलीका कारण विवादमा पर्दै आउनुभएका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं एकपटक फेरि चर्चा र विवादमा आउनुभएको छ । प्रसाईंले आफ्नो निमन्त्रणामा दुबईका राजकुमार नेपाल भ्रमण आउन लागेको भनेर एक हप्ता पहिलेदेखि नजिककाहरूसँग प्रचार गर्दै आउनुभएको थियो । नेपाल भ्रमणमा आउनुभएका भनिएको दुबईका राजकुमार शेख हमदम बिन मोहम्मद बिन रसिद अल मक्तुम नभएको खुलासा भएसँगै प्रसाईं विवादमा देखिनुभएको हो ।
दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार लेखे । तर, दुबईको राजकुमार नेपाल भ्रमण आएको बारेमा परराष्ट्र मन्त्रालयसहित देशका उच्च सुरक्षा निकायहरूलाई नै थाहा थिएन । सञ्चार माध्यममा राजकुमारको बोरमा समाचार आएपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चियो र यो यथार्थबाहिर आएको हो ।
दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ । उच्च सुरक्षा दिनुपर्ने हुन्छ । राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरू विमानस्थलमा पुग्नुपर्ने हुन्छ । अचम्म के हो भने दुबईका क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्नुहुन्छ । तर, यी राजकुमार भने सर्वसाधारणझैँ यात्रु विमानबाट काठमाडौंको विमानस्थलमा उत्रिनुभएको थियो । त्यसपछि उहाँ झापातर्फ लाग्नुभयो । राजकुमार शेख मोहम्मद मक्तुमको स्वागतका लागि विमानस्थलमा तैनाथ सुरक्षाकर्मीबाहेक जिल्लाका सुरक्षा निकायका प्रमुखहरू समेत विमानस्थलमा देखिएका थिएनन् । ‘दुबईका राजकुमार जस्तो उच्च व्यक्तित्व जिल्लाका प्रहरी, प्रशासनलाई समेत जानकारी नदिई कसरी एक्कासि झापा आउनुभयो ? हामी त्यसको सोधखोजमा लाग्यौँ’, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भन्नुभयो, ‘पछि बुझ्दै जाँदा उहाँ दुबईका अधिराजकुमार चाहिँ हुन्, असली राजकुमार नेपाल भ्रमणमा आएकै रहेनछन् ।’
झापा आउनुभएका राजकुमारको नाम भने शेख मोहम्मद मक्तुम जुमा हो । वास्तवमा नेपाल आउनुभएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुनुहुन्छ तर त्यहाँको शक्तिशाली राजकुमार भने उहाँ होइन । दुबईको जनसंख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ । प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन् । त्यसैमध्येका एक अधिराजकुमार नेपाल आएको बुझियो । दुबईका वास्तविक क्राउन प्रिन्स झापा आएका होइनन् । ‘परराष्ट्र मन्त्रालयले उहाँलाई भिभिआइपी भनेर सम्बोधन गरेर पत्र चाहिँ पठाएको हो,’ प्रजिअ रिजालले भन्नुभयो, ‘उहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईंजीको निम्तोमा झापा आउनुभएको हो, उहाँले आइतबार बिहान पूर्वाञ्चल क्यान्सर अस्पतालमा जडान गरिएको पेट सिटी स्क्यानको उद्घाटन गर्नुभयो ।’
भद्रपुर र कचनकवलको भ्रमण स्थगित
दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुमको भद्रपुर र कचनकवल भ्रमण कार्यक्रम स्थगित भएको छ । नेपाल–भारतको सीमा क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायको आग्रहमा भद्रपुर र कचनकवलमा उहाँको भ्रमण यात्रा तय गरिएको थियो । तर, पछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी उहाँको भ्रमण कार्यक्रम झापा प्रशासनले स्थगन गराएको छ । उच्च पदमा रहेका कुनै विदेशी नागरिक नेपाल भ्रमणमा आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने हुन्छ । तर, झापा आउनुभएका उहाँले मन्त्रालयबाट भिभिआइपीबाहेक अरू कुनै कार्यक्रममा सहभागी हुने स्वीकृत नलिएको जनाइएको छ ।
बिएण्डसी अस्पताल निजी संस्था भएको र त्यसमाथि दुर्गा प्रसाईंको निम्तोमा आएका हुनाले उहाँलाई त्यो कार्यक्रममा सहभागी हुने अनुमति दिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । ‘बिएण्डसीको कार्यक्रमपश्चात् बिर्ता बजारको जामा मस्जिदमा नमाज पढ्ने र त्यसपछि उहाँ बसेको मेची क्राउन होटेलतर्फ जानुहुन्छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, ‘त्योबाहेक झापामा अरू कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन उहाँ पाउनु हुन्न, त्यसको लागि मन्त्रालयको स्वीकृत चाहिन्छ ।’
सुनको लौरोले फैलाएको तरंग
बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले सुनको लौरो उपहार पाएको बारेमा अहिले सर्वत्र चर्चाको विषय बनेको छ । चर्चासँगै यसले देशको सुरक्षा संयन्त्रभित्र तरंग नै उत्पन्न गरिदिएको छ । दुबईका राजकुमार भनिएका शेख मोहम्मद जुमाले प्रसाईंलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने सर्वत्र चासोको विषय बनेको हो । सुनको लौरो कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिर्यो ? त्यसको चेकजाँच भयो कि भएन भन्ने सबैको मनमा पक्कै प्रश्न उब्जिएको होला ? तर, यथार्थ भने फरक रहेको पाइएको छ ।
मोक्तुमले प्रसाईंलाई शुक्रबार भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने धातुको लौरो उपहार दिनुभएको छ । लौरो पहेँलो रंग रहेको र त्यसमा सुनको जलप लगाएको हो । लौरो प्लेटिनम कोटेड हो । मूर्तिमा लगाइने पहेँलो सुनजस्तै देखिने धातुले बनेको हो । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले, ‘मिडियामा सुनको लौरो पाएको समाचार पढ्दा हामी नै अचम्मित भएका छौँ, यथार्थ कुरा नबुझेर कसरी मिडियामा समाचार आयो हामी नै पेट मिचिमिची हाँसिरहेका छौँ ।’ उपहार पाएको लौरो सुनको नभएको उहाँले प्रष्ट्याउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच