प्रधानमन्त्री अनुपस्थित भएपछि संसदीय समितिमा तनाव, सत्तारूढ सांसदको विरोधपछि संसदीय समितिले फेर्‍यो निर्णय

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा उपस्थिति नहुनुको कारण सोध्ने निर्णय गर्‍यो । आइतबार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो । समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) र प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई आइतबारको बैठकमा बोलाएको थियो । तर, प्रधानमन्त्री देउवाले अन्तिम समयमा आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री समितिको बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुने कुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको जिकिर गर्दै सभापति खरेलले भन्नुभयो, ‘अमेरिका भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि सम्माननीय प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा उहाँले अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरियो । अनुपस्थित हुने कुरा हाम्रो अभ्यासमा उचित नदेखिएको कुरालाई ध्यानाकर्षण गराउँदछु ।’

उक्त निर्णयप्रति सत्तारूढ दलका सांसदहरूले विरोध जनाएपछि समितिले निर्णय नै फेरेको छ । सुरुमा समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री समितिको बैठकमा नआउनु लोकतन्त्र र संसदको, समिति प्रणालीको प्रतिकूल भएकाले ध्यानाकर्षण गर्ने र अमेरिकाको भ्रमण तय भएपछि समिति बैठकमा बोलाउने निर्णय प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावको सत्तारूढ दलका सांसदहरूले विरोध गरिरहेका बेला होहल्लाबीच समितिका सभापति खरेलले प्रधानमन्त्री नआउनुका कारण जानकारी गराउन ध्यानाकर्षण गराउने र अमेरिकी भ्रमण तय भएपछि बैठकमा बोलाउने निर्णय सुनाउनुभयो । उक्त निर्णयमा पनि सत्तारुढ दलका सांसदको विरोध कायमै रहेपछि समितिले निर्णय नै फेरेर एसपिपी र अमेरिका भ्रमणबारे छलफल गर्न बैठकमा फेरि बोलाउने औपचारिक निर्णय गरेको छ ।

समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलका सांसदहरूले विभिन्न प्रश्नहरू उठाए । तर, सत्तारूढ दलका सांसदहरूले प्रधानमन्त्रीको व्यस्तताका कारण आउन नसकेको जिकिर गरेका थिए । लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारूढ दलका सांसदहरूले असहमति जनाएका छन् । प्रधानमन्त्री बैठकमा अनुपस्थित हुनुलाई अनुचित भएको निर्णय समिति सभापति पवित्रा निरौला खरेलले होहल्लाबीच पढेर सुनाउनुभएको थियो । समितिको उक्त निर्णयमा एमाले नेता एंव सांसद भीम रावलले फरक मत राख्नुभएको छ । सांसद रावलले ‘प्रधानमन्त्री समितिमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण भयो ।’ भनेर फरक मत राख्नुभएको छ ।

समितिलाई प्रधानमन्त्रीको जवाफ : ‘औपचारिक मिति तय भएपछि मात्र भ्रमणबारे जानकारी गराइनेछ’
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले भ्रमण तय भएपछि मात्र संसद्लाई जानकारी गराउने बताउनुभएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहनुभएकी सचेतक भुसालले आइतबार प्रधानमन्त्री देउवालाई भेट्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाले सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त गर्दै अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुंगो लागिनसकेको स्पष्ट पार्नुभएको छ ।

बैठकमा सांसदहरूबीच चर्काचर्की
प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर सांसदहरू पक्ष र विपक्षमा उभिएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की भयो । समिति सभापति खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनुलाई ‘लोकतन्त्र र संसदीय समिति प्रणालीको प्रतिकूल’ भएको ठहर गर्नुपर्ने प्रस्ताव गरेपछि विवाद भएको हो । सत्तारूढ दल कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने सन्देश पठाएपछि त्यस विषयमा धेरै विवाद गर्न नहुने जिकिर गरे पनि एमाले सांसद्हरूले भने प्रधानमन्त्रीले समितिलाई स्वीकार नगरेको तर्क गरे ।

लामो छलफलपछि नेकपा एमालेको सांसद ईश्वर पोखरेलले निर्णयको खेस्रा तयार पार्नुभयो । जसमा एमालेका अर्का सांसद प्रदीप ज्ञवालीले पनि सहमति जनाएपछि समिति सभापति खरेलले निर्णय मस्यौदा गर्न पठाउनुभयो । समिति सभापतिले त्यही निर्णय प्रस्ताव गरेपछि विवाद सुरु भएको हो । समिति सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसद्को संसदीय प्रणाली प्रतिकूल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गर्नुभयो । लगत्तै कांग्रेस र माओवादी सांसदहरूले आपत्ति जनाए । प्रधानमन्त्री आएको भए राम्रो हुन्थ्यो भनेका उनीहरूले लोकतन्त्रको प्रतिकूल भनेर भन्न नसकिने जिकिर गरे । कांग्रेस सांसद पुष्पा भुसालले फेरि पनि बोलाउन सकिने तर, प्रस्तावअनुसार निर्णय गर्न नहुने अडान राख्दै भन्नुभयो, ‘केपी ओलीलाई साढे तीन वर्ष समितिमा उपस्थित गराउन नसक्दा केही निर्णयमा पहल नगर्ने, अहिले प्रश्न गर्ने गरी निर्णय गर्ने, किन ?’

प्रधानमन्त्री देउवाको अनुपस्थिति अनुचित भएको भनेर सभापतिले निर्णय सुनाउन लागेपछि कांग्रेस सांसद पुष्पा भुसालले संसदीय मर्यादाविपरीत भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेर संसदीय प्रणालीलाई बिथोल्न पाइँदैन भनेपछि विवाद झन् चर्कियो । लगत्तै एमाले सांसद भीम रावलले भुसालको भनाइमा आपत्ति जनाउँदै प्रधानमन्त्रीको गैरजिम्मेवार प्रवृत्तिप्रति खेद व्यक्त गर्नुपर्ने जिकिर गर्नुभयो । दुवै पक्षका सांसदहरूबीच केहीबेर भनाभनसमेत चल्यो । सांसदहरूबीच भनाभन चलेपछि सबैजना उठेर हिँडेका थिए । समिति बैठकमा आफ्नो धारणा राख्दै सांसद दिव्यमणि राजभण्डारी र पुष्पा कर्ण कायस्थले समितिमा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य भए पनि नआएको र पूर्व-प्रधानमन्त्री माधव नेपाल नआएको विषय उठाउनुभएको थियो । यस्तै, सांसद सुदन किरातीले भने प्रधानमन्त्री के कारणले नआएको हो त्यो स्पष्ट हुनुपर्ने र निर्णयमा ‘लोकतन्त्र प्रतिकूल हुने गरी’ भन्ने शब्द नराख्न सुझाव दिनुभएको थियो । सांसद् मोहन बानियाँले भने समितिले बोलाएको खण्डमा प्रधानमन्त्री मात्रै नभई राष्ट्रपति पनि जवाफ दिन आउनुपर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्रीको समितिमा अनुपस्थितिलाई अपमान भन्न मिल्दैन : सचेतक भुसाल
नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने जिकिर गरे । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सांसदहरूले देउवाको बचाउ गरेका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रूमा नलिन आग्रह गर्दै भन्नुभयो, ‘अपमान भन्ने शब्द उचित होइन । हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर, प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ ।’ नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रूपमा लिन नहुने जिकिर गर्नुभयो ।

एसपिपीलाई जितहारको विषय नबनाऔँ, तथ्यको खोजी गरौँ : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)लाई राजनीतिक शक्तिबीच जितहारको विषय बनाउन नहुने धारणा राख्नुभयो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा बोल्दै सांसद पोखरेलले भन्नुभयो, ‘कसैको जितहारको विषय बनाउनु हुँदैन । हामी विगतमा कस्तो-कस्तो अवस्थाबाट गुज्रियो भन्ने विषय सम्झिए पुग्छ । कसैले कुन तारिख सम्झना गर्नुपर्ने छैन, मेरो भनाइ के छ भने यसमा एउटा सिलसिला छ । जंगी अड्डाले पठाएको पत्र २० दिनपछि नेपाली सेनालाई निर्देशन दिने रक्षा मन्त्रालय कसले लिड गरेको थियो भन्ने ताकीताकी भनिरहनै परेन नि ! त्यो इतिहासमा दर्ज भएको तथ्य हो । अमेरिकाको आइपिएस रिपोर्ट २०१९ प्रकाशित भएपछि नेपालमा सबै सजग भएका हुन् । त्यसपछि त्यसको सामरिक अध्ययन गरेपछि सम्बन्धित सरोकारवालाको टिम बनेर काम भएको छ । सिलसिलेवार कुरा जस्ताको तस्तै बुझे भैहाल्यो नि !’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?