गलत कार्यले प्रोत्साहन पाउनु हुँदैन

हिमालय टाइम्स
Read Time = 5 mins

धादिङमा स्थानीयहरूबाट रासायनिक मल लुटिएको छ । यस शब्दबाटै यो उचित कार्य हो भन्न सकिँदैन । ‘लुटिएको’ भन्ने बित्तिकै यो गैरकानुनी र अनुचित कार्य हो भन्ने थाहा हुन्छ । स्थानीयहरूबाट जुन कार्य भएको छ त्यो गलत हो । कुनै पनि राष्ट्रका नागरिकहरूले स्वतः कुन कार्य सही र कुन कार्य गलत हो भन्ने थाहा पाउनुपर्छ, पाएका पनि हुन्छन् । नपढेको विकट दुर्गम गाउँको एउटा सामान्य नगरिकले समेत सही–गलत कार्य थाहा पाउनु जरुरी हुन्छ । कानुनले त सबै नागरिकले कानुन जानेको हुनुपर्छ भन्छ । त्यसैले कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने गरिएको छ ।

चोरले चोर्दा कारबाही हुन्छ भन्ने जानेर पनि चोर्छ, किनकि कानुनको आँखा छल्ने प्रयास उसले गरेको हुन्छ । ज्यान मार्नेलाई पनि ज्यान मार्नु हुँदैन भन्ने थाहा हुन्छ तर उसले प्रमाण मेटाउँछु र कानुनी कारबाहीबाट बच्छु भन्ने सोचेको हुन्छ । धादिङमा स्थानीयबाट भएको रासायनिक मल कब्जमा लिने कार्य एक प्रकारले राज्यविरुद्धको आक्रोश हो । राज्यले समयमा मल दिन सकेको छैन । अहिले खेतीको समय छ । असारमा खेती नगरे मंसिरमा अन्न भित्र्याउन सक्ने कुरै हुँदैन । खेती गरिएन भने फसल पाक्दैन र वर्षभरि खाने अन्नको जोहो हुन सक्दैन । सबै जिम्मेवार बन्नुपर्छ, राष्ट्रले किसानहरूका लागि सकेसम्म धेरै सुविधा दिनसक्नुपर्छ तर राज्यका जिम्मेवार मन्त्री, उच्चपदस्त प्रशासकहरू सबै कमिसनमा लिप्त रहने हाम्रो संस्कार नै विकसित भएको छ ।

असारमा खेतीका बेलामा चाहिने मल भदौ, असोज वा कहिलेकाहीँ त मंसिरतिर आइपुग्छ । राज्य यसमा संवेदनशील हुन नसकेको हो भन्नलाई हिच्किचाउनु पर्दैन । राष्ट्रको मेरुदण्ड भनेकै अर्थतन्त्र हो र अर्थतन्त्रको मेरुदण्ड भनेको नेपालको हकमा कृषि हो । तर, कृषिका लागि आवश्यक पर्ने आधारभूत कुरा मल नै सरकारले उपलब्ध गराउन सकिरहेको छैन । वैध ढंगले ल्याउन सकिने मललाई गलत नियत राखेर अवैधानिक उपायबाट ल्याउने र यस्तो बाटो अपनाउनेसँग जिम्मेवारीमा बसेका व्यक्तिले अवैधानिक आर्थिक लाभ लिने गलत परम्पराको दुष्परिणतिका रूपमा धादिङको घटना देखिन आएको छ । यो नागरिकको सरकारप्रति आक्रोश हो ।

यसले जनता हरदम सरकारविरुद्ध आक्रोसित बन्न सक्छन् र त्यो आक्रोश जतिबेला जहाँ पनि देखिन सक्छ भन्ने कुरा यसले प्रतिबिम्बित गरेको छ । उक्त मल अवैधानिक किसिमले आएको र प्रहरीले नियन्त्रणमा लिएर सुरक्षा गरिरहेको ठाउँबाट स्थानीयले लुटेको भनिएको छ । त्यो मल उनीहरूले लुटेका भए पनि खोसेका भए पनि वा कब्जामा लिएका भए पनि त्यो जायज हुँदै होइन । यस प्रकारको कब्जाबाट सबैलाई समान प्राप्ति निश्चय हुँदैन । कसैले एउटामात्र होइन दुई/तीनवटा बोरा लगेका होलान् कोही नपाएर जिल्ल परिरहेका पनि होलान् । नपाउनेहरूले पाउनेको निश्चय आलोचना गरिरहेकै होलान् ।

स्थानीयले त्यो मल खेतीकै लागि लगेका हुन् । मल खाने कुरा होइन । प्रत्यक्ष रूपमा मल खान नहुने पदार्थ हो तर लाक्षणिक रूपमा हेर्ने हो भने खाने बालीनाली उब्जाउन प्रयोग हुने भएकाले खाने कुरा नै रहेछभन्दा हुन्छ । मलले उब्जनी बढाउने हो । अहिले किसानहरूले ट्रक कब्जामा लिएर लगेको मलबाट हुने उब्जनी अन्ततः हामीले पनि खान पाउँछौं । यस अर्थमा त्यहाँका किसानहरूले गरेको यो कार्य सही हो भनिएला तर त्यसो भन्न मिल्दैन । राम्रा कार्यकै लागि भए पनि जोरजबर्जस्ती गर्नु भनेको अवैधानिक कार्य नै हो । त्यसैले यस्ता कार्यले प्रोत्साहन र स्यावासी पाउनु हुँदैन, तिनलाई निरुत्साहित गरिनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?