बहादुर शाह, नेपाली सेना तथा गणतन्त्रवादीहरू

Read Time = 14 mins

✍️ मणि शर्मा
एमसिसीपछि एसपिपी, सोफालगायत समझौताहरू पनि सँगसँगै आउने कुरा मैले पहिला नै लेखिसकेको थिएँ, अहिले आएर यो सत्य सावित भयो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस बारेमा सहमतिपत्रमा सही गरेको पनि लेखेको थिएँ तर तत्कालीन ओली सरकारले यसलाई अस्वीकार गरेको थियो । यस्ता सन्धि, सम्झौतामा एउटामात्र पार्टीलाई दोष दिनुभन्दा गणतन्त्रवादी सबै दलहरू नै दोषी छन् । ओली सरकार हुँदा सरकारमा माओवादी पनि थियो । यसको जिम्मा पुष्पकमल दाहालले लिने कि नलिने ? हाम्रो परराष्ट्र नीति पर राष्ट्रको हितमा मात्र भएको स्पष्ट भएको छ ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिव्य उपदेशमा भनेका कुराहरू, उनले देखाएका मार्गदर्शनहरू नेपालले अंगीकार गरेको भए आज नेपालको यो दुरावस्था हुने थिएन । उनका माइला छोरा बहादुर शाहले इष्ट इण्डिया कम्पनी र चीनसँग राम्रो सम्बन्ध राखे तापनि अंग्रेजलाई नेपालमा छिर्न नदिन एकीकरणको महायज्ञलाई अगाडि बढाए । दुर्भाग्यको कुरा, दरबारभित्रको षड्यन्त्रका कारण जेलभित्रै उनको हत्या भयो । बहादुर शाह प्रतिष्ठानको आलेख अनुसार उनी बाँचेका भए नेपालको सीमा आज पूर्वमा ब्रहृमपुत्र, पश्चिममा हिन्दकुश र दक्षिणमा गंगा किनारसम्म पुग्ने थियो । सुगौली सन्धि पनि हुने थिएन । आफूलाई पिताको आशौचमा बस्दादेखि पटक–पटक नजरबन्द र देश निकाला गर्दा पनि उनी राजा र राजसंस्थाप्रति सदा बफादार थिए । अहिलेका नेता जस्तो थिएनन् ।

नेपाललाई चीन र इण्डिया दुवैतिरबाट खतरा भएकाले उनले दुवै देशसँग सुमधुर सम्बन्ध राखेका थिए । उनले चीनसँग सन्धि गरेको अंग्रेजलाई मन परेको थिएन । बहादुर शाहलाई थाहा थियो इण्डियाको विश्वास छैन चीन भरपर्दो मित्र हो । चीनसँग युद्ध सुरु भएपछि बहादुर शाहले अंग्रेजको सहयोग खोजेर बोलाए । दुई देशबीच मध्यस्थकर्ताको भूमिका खेल्न कक प्याट्रिकको नेतृत्वमा अंग्रेज फौज नेपाल आयो । तबसम्म चीनसँगको युद्ध समाप्त भएर सम्झौता भइसकेको थियो ।

त्यसैले कक प्याट्रिक नेतृत्वको फौजलाई फिर्ता पठाए तर तिनीहरूले जाँदाजाँदै नेपालको सबैखाले जानकारी लग्न सफल भए । यसबारे उनको सन् १८१२ मा पुस्तक पनि निस्कियो । त्यसको दुई वर्षपछि नेपाल अंग्रेज युद्ध भयो र सुगौली सन्धि भयो । विदेशी सेनालाई मुलुकभित्र पसाउनु नै देशको लागि घातक भयो । अहिले पुनः त्यही खेल सुरु भएको छ । उनको अर्को गल्ती चीनसँग शत्रुता गर्न अंग्रेजलाई बोलाउनु जसको कारण देश टुक्रिनु पर्‍यो ।

उनले सैनिकहरूको प्रशिक्षण, शस्त्र, म्यागजीन आदि तयार पार्न भारतबाट विशेषज्ञ मगाएका थिए तर उनले अंग्रेज नमगाई हिन्दूस्तानी विशेषज्ञ नियुक्त गरेका थिए । बहादुर शाहको रणनीति अंग्रेजहरूसँग राम्रो सम्बन्ध बाहृयरूपमा राख्ने तर उनीहरूलाई यो हिमवत् खण्डमा पस्न नदिने थियो । उनले सम्बन्ध राम्रो राख्न पटनाको चर्चमा घण्टा चढाएका थिए । यसको उद्देश्य थियो अंग्रेजहरूलाई आफूहरू धार्मिक सहिष्णुता भएको देखाउनु थियो भने अर्कोतिर उनको यो कूटनीति थियो ।

बहादुर शाहको पराक्रम देखेर दरबारियाहरू उनलाई समाप्त पार्न षड्यन्त्र गर्न थाले । उनले उनीहरूको दबाबमा परेर अंग्रेजसँग विसं १८४८ मा सात सूत्रीय वाणिज्य सन्धि गरे तापनि चीनसँग भएको बेत्रावती सन्धिद्वारा उक्त सन्धिलाई निष्क्रिय पारी इष्ट इण्डिया कम्पनीको वाणिज्य प्रतिनिधि मण्डललाई २४ दिनभित्र फिर्ता गराएका थिए । के अहिलेको सरकारले एमसिसीलगायतका सन्धिलाई निष्क्रिय गराउन सक्छ ?

उनले दक्षिणको छिमेकीभन्दा उत्तरको छिमेकीलाई भरपर्दो र विश्वासयोग्य मानेका थिए । त्यसैले त उनलाई नायबीबाट हटाउँदा चीनको बादशाहलाई आफ्नो दुखेसो लेखेर आफ्नो दयनीय स्थितिको बारेमा बताएका थिए । तर, चीनको बादशाहलले ल्हासास्थित आफ्नो प्रतिनिधिद्वारा पत्रको उत्तरमा दुवै काका भतिजालाई मिलेर बस्न भनेका थिए । वस्तुतः बहादुर शाह दूरदर्शी राजनीतज्ञ, कुशल प्रशासक, सुयोग्य अर्थशास्त्री, महान् देशभक्त, विनीत राजभक्त र सुयोग्य पिताको सुयोग्य पुत्र थिए । उनी जन्मदेखि आफ्नो पिताको मृत्युसम्म सँगै थिए, युद्धमा भाग लिएका थिए ।

उनले प्रशासनसम्बन्धी नीतिमा सुधार गर्नुका साथै मुलुकको भूमिको नापी गराई तथ्यांक संकलन गरेका र किसानको मोहियानी हकमा पनि सुधार गरेका थिए । उनले शस्त्रागारमा काम गर्ने पहाडे र नेवारहरूलाई उनीहरूको धार्मिक चाडबाड, सामाजिक र सांस्कृतिक परम्पराअनुसार बिदा दिने चलन चलाएका थिए । उनको लोकप्रियता तथा पराक्रम देखेर भारदारहरूले एकातिर उनीविरुद्ध राजालाई भड्काउने अर्कोतिर अंग्रेजसँग साँठगाँठ गरेर उनलाई समाप्त पार्न षड्यन्त्र गरेका थिए । फलस्वरूप चीनसँगको युद्धमा भएको खर्चमा धाँधली भएको भनी उनीसँग हिसाब मागियो र यसै कारणले उनलाई जेलमा कोचियो ।

४० वर्षको उमेरमा उनलाई जेलभित्रै तातो तेल खनाई हत्या गरी घाँटीमा पासो लगाई झुण्ड्याएर मारेको र पछि उनले आत्महत्या गरेको भनी हल्ला फैलाइएको थियो । उनकी पत्नी विद्यालक्ष्मी देवीसँग दुव्र्यवहार गरियो । उनको मृत्युले राष्ट्र कमजोर भयो, एकीकरणको अभियान एकाएक बीचैमा रोकियो, अन्ततः दुई वर्षपछि सुगौली सन्धि भएर एउटा ठूलो भूभाग नेपालले गुमाउनु प¥यो । उनको हत्यापछि नेपालमा आतंक छायो ।

जसरी २०५८ सालमा दरबार हत्याकाण्डपछि माओवादी आतंकले तीव्र रूप लिएको थियो । दरबारभित्र षडयन्त्र र हत्याकाण्डको सिलसिला सुरु भयो । नागरिकहरूले अनेकौं किसिमका विपत्तिहरूको सामना गर्नुपर्‍यो जसरी माओवादी आतंक कालमा नागरिकले सामना गर्नुपरेको थियो । राजा रणबहादुर शाह र चौतारा शेरबहादुर शाहीको डरले कसैले बहादुर शाहको हत्याको बारेमा केही बोल्न सकेका थिएनन् र जसरी २०५८ साल जेठपछि माओवादी र राज्यका विरुद्ध जनता बोल्न डराउँथे । विसं १८१४ असार ६ गते औंसीका दिनमा जन्मेका बहादुर शाहलाई १८५४ साल असार १५ गते शनिबारको राति हत्या गरी भोलिपल्ट बिहान हतारहतारमा पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरियो ।

जसरी राजा वीरेन्द्र र राजपरिवारको अन्तिमसंस्कार गरिएको थियो । चीनलाई उनको मृत्युबारे दरबारले भ्रमपूर्ण समाचार उनी पखाला लागेर मरेको लेखेर पठाए भने इष्ट इण्डिया कम्पनीलाई उनी सिकिस्त बिरामी परेर मरेको भनेर लेखे । जसरी दरबार हत्याकाण्डको प्रतिवेदनमा स्वचालित बन्दुक भटटटट चलेर राजपरिवारको मृत्यु भयो भनेर लेखेका थिए । बहादुर शाहको हत्यामा दरबारिया र इष्ट इण्डिया कम्पनीको हात थियो । नेपाली सेनाको रगतमा नालापानी, देउथल, सिन्धुली, मकवानपुरगढी, जितपुर आदिमा लडेर नेपालको नाम विश्वमा चम्काएको इतिहास थियो त्यो वीरता र रगत आज कहाँ गयो ?

कहाँ हरायो वीरता तथा राष्ट्रभक्तिको इतिहास ? कहाँ गयो बलभद्र तथा नालापानीमा लडेका वीर वीरांगनाको वीरतापूर्ण बलिदानीको इतिहास ? कहाँ गयो ७४ वर्षे बुढा भक्ति थापा, अमरसिंह, उजिरसिंह मगर, वंशु गुरुङ, कालु पाँडे आदिको वीरता तथा रगतले सिञ्चेको नेपाल ? सरकारले देशको बजेट बनाउँदा त एउटा अवकाशप्राप्त सुब्बा र विदेशीलाई जिम्मा दिन्छ भने मुलुकको संवेदनशील विषयमा के के गर्छ यो भनी नसक्नु छ । यसमा राजनीतिक दल मात्र दोषी छैनन् । हिजोका राजाहरू पनि दोषी छन् । राजा महेन्द्रले दरबारमै गुरुहरूबाट संस्कृत शिक्षा लिए, अंग्रेजी शिक्षा पाए र आफ्नो धर्म र संस्कारप्रति कटिबद्ध भएकोले नेपालको स्वतन्त्रताको रक्षा मात्र गरेनन्, विदेशीसँग सन्तुलित सम्बन्ध राखी सहयोगसमेत लिएर कृषि, उद्योग, सडकलगायतमा नेपाललाई आत्मनिर्भर बनाएका थिए ।

त्यसपछिका राजा वीरेन्द्र र ज्ञानेन्द्रहरूले देशभित्र र बाहिर कन्भेन्ट स्कुलहरूमा अंग्रेजी शिक्षा लिए, संस्कृतप्रति रुचि देखाएनन् । अहिले आफ्नो नातिलाई अमेरिका पढ्न पठाएका छन् राजा ज्ञानेन्द्रले । उनले अंग्रेजी सिकिसके छि त संस्कृत शिक्षा दिनुपर्ने होइन र ? आफ्नो गौरवशाली इतिहासको बारेमा जानकारी गराउनुपर्ने होइन र ? एउटा हिन्दू राजालाई आफ्नो धर्म, संस्कृति र संस्कारका बारेमा पूर्णजानकारी हुनुपर्छ कि पर्दैन ? राजाहरूले अंग्रेजी संस्कारहरू सिके र त्यसको अनुकरण गरे । गुड फ्राइडे नमनाएको भए शायद जेठ १९ मा दरबार हत्याकाण्ड हुने थिएन कि ? पश्चिमीको संस्कारलाई अपनाउँदा आफ्नो कुल पितृ रिसाए ।

राजा ज्ञानेन्द्रले कोट, सुट, टाई लगाएर न्यू इयर र क्रिसमस मनाउँदा राजसंस्था नै गयो । बहादुर शाहले कूटनीतिअन्तर्गत पटनाको गिर्जामा घण्टा चढाए पनि यो हिन्दू राजपरिवारको धर्मको विपरीत थियो । अन्ततः उनी मारिए । हिन्दू राजाले स्वधर्म, स्वसंस्कार स्वसंस्कृतिको पालन नगर्दाको फल राजसंस्थाले मात्र होेइन आमजनताले भोग्नु परिरहेको छ । सेनाको धर्म राष्ट्र, सनातन धर्म, संस्कार, संस्कृति तथा सभ्यताको रक्षा गर्नु हो । वर्तमान सेनाका उच्च पदाधिकारीले पृथ्वीनारायण शाह र बहादुर शाहले देखाएको बाटोमा आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ । अहिले सेना, सरकार र एमालेले एसपिपीको बारेमा दिएको स्पष्टीकरण जलेबी जस्तो छ । अमेरिकाले सन् २०१९ मा नेपाल एसपिपीको सदस्य भएको आफ्नो वेबसाइटमा राखिसकेको छ । अन्त्यमा, राष्ट्र एकीकरणका नायक बहादुर शाहको १६५औं जन्मजयन्तीको सन्दर्भमा उहाँप्रति भावपूर्ण श्रद्धा सुमन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?