आँधीखोला गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाभित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर (पावर ट्रिलर) वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । ‘गोरुबाट खेत जोत्ने कुरा अब पुरानो भइसक्यो । कृषिमा आधुनिक प्रविधिको प्रयोग आवश्यक छ । कृषिमा यान्त्रिकीकरण र व्यावसायिकीकरण नभएसम्म सफलता प्राप्त हुँदैन ।’ पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष सिता थापाले युवाहरुलाई विदेश पलायन हुनुबाट रोक्नका लागि पनि कृषिलाई आधुनिक बनाउनुपर्ने बताउनुभयो । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उहाँले बताउनुभयो ।

हाते ट्याक्टर ग्रहण गर्दै कृषकहरुले गोरुको सट्टामा काम छिटो र सजिलो हुने भएकाले यसको आवश्यकता परेको बताएका थिए । आँधीखोला ६ का किसान कुलप्रसाद ढकालले गोरु वर्षभरि पाल्नुभन्दा काम परेको बेलामा हाते ट्याक्टर प्रयोग गर्दा गोरु पालिराख्नुपर्ने झन्झट नरहेको र काममा सजिलो हुने भएकाले आफूले यसको माग गरेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले आ.व २०७८।७९ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै युवाहरूलाई अझै उत्साहित भएर कृषि पेसामा लाग्न आग्रह गर्नुभयो । । प्रति ट्याक्टर कुल ४९ हजार मध्ये गाउँपालिकाले २४ हजार पाँच सय अनुदान दिएसँगै किसानले २४ हजार पाँच सयमा ट्याक्टर पाएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताएका छन् ।

प्रत्येक आर्थिक वर्षमा आँधीखोला गाउँपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । यसबाट परम्परागत गोरु पाल्ने प्रचलन हराउँदै गएको छ भने कृषिमा प्रविधिकरणको प्रयोग प्रारम्भ भएको छ । तर हाते हलो गरुङ्गो भएकाले उचाल्न र ओराल्न जनशक्ति आवश्यक पर्ने, बेला बेलामा बिग्रँदा मर्मत गर्ने जनशक्ति र ठाउँको अभावमा समस्या र हैरानी उत्तिकै भएकाले मर्मत सम्भारका लागि पनि पालिकाले सोच्नुपर्ने आँधीखोला ५ का कृषक नन्दलाल शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?