तेस्रोलिंगी र अपाङ्गताबारे बुझ्दै नेपनि संघ

Read Time = 7 mins

-रामचन्द्र रायमाझी
पाल्पा । परिवार नियोजन संघको क्षेत्रमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले तेस्रोलिङ्गी, अपाङ्गता र अन्य समुदायका नागरिकहरुको विषयमा बुझ्ने काम गरेको छ । संघले तेस्रोलिङ्गी, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुले भोग्नु परेको समस्या, गुनास र अपेक्षाका विषयमा बुझ्ने प्रयास गरेको हो ।

तानसेनको काजीपौवामा रहेको सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्रमा पुगी संघले उनीहरुको अवस्थाका विषयमा जानकारी लिएको छ । समाजमा रहेका यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुप्रति हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको अवस्थामा संघले भने उनीहरुले भोग्नु परेको समस्या, गुनासा र अपेक्षालाई सम्बोधन गर्न अग्रसरता देखाएको छ ।

केन्द्रमा पुगेको संघको टोलीसँग यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीनहरुले गुनासा र समस्या राखेका छन् । उनीहरुले अस्पतालदेखि सरकारी कार्यालयमा पुग्दा आफुहरुले सास्ती भोग्नु परेको बताएका छन् । आफुहरु अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीनहरु भएकै कारण अस्पतालदेखि सरकारी कार्यालयहरुमा सेवा लिन पुग्दा पुरुष र महिलाको लाइन भनेर तोक्दा कुन लाइनमा गएर बस्ने भन्ने कुरामै असहज हुने गरेको उनीहरुको गुनासो छ । कम्तीमा पनि आफुहरुलाई लाइन बस्नुपर्दा छुट्टै व्यवस्था हुनुपर्ने अल्पसंख्यक, अपाङ्गता र दृष्टि विहीनहरुको माग छ ।

उनीहरुले शौचालयहरु समेत अपाङ्ग मैत्री बन्न नसकेको बताए । यौनिक अल्पसंख्यकहरुका लागि सेवा लिन लाइन बस्नु पर्ने र सहज शौचालय नहुँदा समस्या हुने गरेको तेस्रो लिङ्गी तथा साथी शिक्षक झक्तराज खनाले बताउनुभयो ।

उनीहरुका लागि शौचालय र सहज लाइनको व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । दृष्टिविहीन गौरव तिमिल्सीनाले आफुहरुले हरेक क्षेत्रमा समस्या भोग्नु परेको बताउनुभयो । उहाँले दृष्टिविहीन महिलाहरुले रजस्वला हुने बेलामा आफु आंशिक वा पूर्ण कुन रुपमा रजस्वला भएको भन्ने कुराको ज्ञान नभएकाले समस्या उत्पन्न भएको बताउनुभयो । अर्की दृष्टिविहीन सम्झना थापाले स्यानेटरी प्याड अभावमा आफुहरुले समस्या भोग्नु परेकाले त्यसको व्यवस्था मिलाइदिनुपर्ने बताउनुभयो ।

उहाँले अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका सिविआर पाल्पाका कृष्ण गहतराजले भन्न, देखाउन र सुनाउन समेत नसक्ने बालबालिकाहरुमा बढी समस्या हुने गरेको बताउनुभयो । उनले ति बालबालिकाहरुलाई कसैले बलात्कार गरे पनि भन्न र सुनाउन नसक्ने बताउनुभो । गहतराजले अपाङ्गता, हिसांमा परेको महिला र अल्पसंख्याकहरुको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सिर्जनशिल अपाङ्गता स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गता र यौनिक अल्पसंख्यकहरुका लागि परामर्श आवश्यक रहेको बताउनुभयो ।

युनाईटेड मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले महिलाहरुलाई स्यानेटरी प्याडको व्यवस्था गर्नु पर्ने र अपाङ्गता र यौनिक अल्पसंख्यकहरुले आफ्ना वास्तविक समस्या बाहिर व्यक्त गर्न नसक्ने हुँदा उनीहरुका लागि फोकल पर्सनको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जेसिस पाल्पाका अच्छुत खनालले समाजमा यौनिक अल्पसंख्यक र एचआइभी संक्रमितहरुको उचित व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।

संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले अपाङ्गता र यौनिक अल्प संख्यकहरुको प्रजनन् स्वास्थ्य अधिकार प्रत्याभूत गर्न उनीहरुको अवस्थाका बारेमा जानकारी लिएको बताउनुभयो । परम्परागत सामाजिक सोंचका कारण अझै पनि अपाङ्गता र यौनिक अल्पसंख्यक नागरिकहरु खुल्न नसकेको अवस्थामा उनीहरुलाई निर्धक्क रुपमा खुलेर आफ्नो अधिकारको प्रत्याभूत गराउने दिशामा संघले काम गर्ने प्रबन्धक न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘विभिन्न संघसंस्था र अस्पतालहरुसँग समन्वय गरी उनीहरुको उपचारदेखि अत्यावश्यक सामग्रीको प्रवन्ध गरिने छ ।’ संघका कोषाध्यक्ष कोपिला कार्की, सदस्य माधव अर्याल लगायतले परिवार नियोजनको क्षेत्रमा मात्र सिमित बनेको संघले आफ्नो क्षेत्रलाई थप फराकिलो बनाएर अगाडि बढेको बताउनुभयो ।

सोही अवसरमा संघले यौनिक अल्पसंख्यकहरुको वैवाहिक अधिकार सम्बन्धित नीति पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा तेस्रोलिङ्गीले पनि विवाह गर्न पाउनुपर्ने कुरा उल्लेख गरिएको छ । कार्यक्रममा यौनिक अल्पसंख्यकहरुको उपस्थिती भए पनि अधिकांसहरु खुलेर आफ्ना कुरा राख्न सकेनन् । परिवार नियोजन संघ पाल्पा शखाबाट प्रजनन् सेवा लिने २२ जना यौनिक अल्पसंख्यकहरु रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?