अस्ट्रेलियामाथि श्रीलंकाको जित

Read Time = 3 mins

कोलम्बो । श्रीलंकाले अस्ट्रेलियामाथि ६ विकेटको जित हात पारेको छ । तेस्रो एकदिवसीय (ओडिआई) खेलमा श्रीलंकाका लागि ओपनर पाथुम निस्सानकाले शतकीय पारी खेल्नुभएपछि श्रीलंकाले अस्ट्रेलियामाथि उक्त जित हात पारेको हो । योसँगै पाँच ओडिआई खेलमा श्रीलंकाले २–१ को अग्रता लिएको छ । जितका लागि २९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले १४७ बलमा ११ चौका र २ छक्कासहित १३७ रनको शतकीय इनिङ्स खेल्नुभएको थियो ।
त्यसबाहेक कुशल मेन्डिस ८५ बलमा ८ चौकासहित ८७ रनमा रिटायर्ट हर्ट हुनुभएको थियो । दोस्रो विकेटका लागि कुशल र पाथुमले १७० रनको सानदार शतकीय साझेदारी खेल्नुभयो । निरोशन डिक्कवेला र धनञ्जय डी सिल्भाले २५-२५ रन, चरिथ असलंकाले १३ रन जोड्नुभयो । अस्ट्रेलियाका झेय रिचर्ड्सनले दुई तथा जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिनुभयो ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । अस्ट्रेलियाका ट्रविस हेडले ६५ बलमा ३ चौका र ३ छक्कासहित ७० रन जोड्नुभयो । यस्तै कप्तान आरोन फिन्चले ८५ बलमा ४ चौका र १ छक्कासहित ६२, डेविड वार्नर ९, मिचेल मार्श १०, मार्नस लाबुसेन २९ र एलेक्स केरी ४९ रनमा आउट हुनुभयो । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल १८ बलमा ३ चौका र १ छक्कासहित ३३ रन जोड्नुभयो ।

श्रीलंका स्पिनर जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिनुभयो । अब चौथो खेल मंगलबार र पाँचौँ तथा अन्तिम खेल शुक्रबार हुनेछ । यता वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँच टी-२० आई खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ । पाँचौँ तथा अन्तिम निर्णायक टी-२० आई खेल वर्षाका कारण रद्द भएपछि सिरिज बराबरीमा सकिएको छ ।

चिन्न्यास्वामी स्टेडियम बेंगलोरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २८-२ को अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षाका कारण पुनः खेल हुन सकेन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?