काठमाडौंमा बंगलादेशी फेसन शोको आयोजना

Read Time = 3 mins

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्‍याम्पमाथि देख्न पाइयो ।

सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, सर्टस्, पञ्जावी स्टाइल, टिसर्टलगायत पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमुना मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएका थिए ।

फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौं स्थित बंगलादेशी दूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो भने मोडलहरूको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।

बंगलादेश फेसन शोअन्तर्गत प्रस्तुत भएका फेसनशैलीमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सिर्जनाहरू थिए भने केही भने रेडी टू वेयर शैलीहरू थिए । आठ युवती तथा चार युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्वमिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि बंगालादेशी राजदूत सलाउद्दीन नोमान चौधरीलगायत बंगालादेशी दूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रितहरूको विशेष उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?