काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी कार्यालयहरूमा स्वदेशी बिस्कुट नै प्रयोग गरिने बताउनुभएको छ । कृषिप्रधान देशले साढे तीन खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खाने अवस्थाले देश बन्न नसक्ने भएकाले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरेर नीति तथा कार्यक्रम ल्याएको उहाँले जिकिर गर्नुभयो । सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शर्माले सरकारी कार्यालयमा विदेशी आयातित वस्तुभन्दा देशभित्रै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने नीति बनाइएको बताउनुभएको हो ।
साथै उहाँले शर्माले पछिल्लो समय पेट्रोलियम मूल्यवृद्धि सरकारले नभई अन्तर्राष्ट्रिय मूल्य शृंखलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावको उपज भएको दाबी गर्नुभयो । युक्रेन र रसियाबाट तोरी आयात बन्द भएकाले खानेतेलको समेत मूल्य बढ्न गएको भन्दै अर्थमन्त्री शर्माले स्वदेशमै तोरी उत्पादन बढाएर तेलमा समेत आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शर्माले सरकारले स्पञ्ज आइरनमा दिएको छुटले देशमा के परिवर्तन भएको छ भन्ने कुरा छलफलमा सीमित नभई उद्योगको अनुगमन गरेर हेर्न समितिलाई आग्रह गर्नुभयो । स्पञ्ज आइरन ल्याएर नेपालमै प्लेट बन्ने र उद्योग विस्तार गर्न सरकारले प्रोत्साहन गर्ने निर्णय देशको हितमै रहेको दाबीसमेत उहाँले गर्नुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियमको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेर आएकाले सरकार बाध्यतामा परेर मूल्य बढाउनुपरेको उहाँको भनाइ थियो ।
मन्त्री बडूले असार २ गते आएको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको भए पनि सरकारले १० रुपैयाँ घटाएर एक सय ९९ रुपैयाँ कायम गरेको बताउनुभयो । पेट्रोल र डिजेलमा मूल्य बढाए पनि सात सय ५१ रुपैयाँ घाटा खाएर एलपी ग्याँसको मूल्य नबढाएको उहाँले जिकिर गर्नुभयो । आयल निगमलाई हाल प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको उहाँको दाबी थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच