कुरियर सेवाको न्यूनतम शुल्क निर्धारण

Read Time = 3 mins

काठमाडौं । कुरियर व्यवसायीले कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गरेका छन् । कुरियर व्यवसायीको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो । संघका अनुसार अब कुरियर व्यवसायीले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँमात्र लिन पाउनेछन् । सोभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर कम्पनीलाई संघले कारबाही गर्ने संघका महासचिव राजकुमार सामरीले बताउनुभएको छ ।

सामरीका अनुसार व्यवसायीबीच बृहत् छलफल र कानुन व्यवसायीको सल्लाहमा कुरियर सेवा संघ र कुरियर सेवा प्रदायक कम्पनीबीच न्यूनतम शुल्क लागू गर्नेसम्बन्धी सम्झौताको मस्यौदा गरिएको हो । कुरियर कम्पनीले संघमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र सम्झौता उल्लंघन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने सम्झौतामा उल्लेख छ । व्यवसायीले न्यूनतम शुल्कको सम्झौता पालना गरे, नगरेको अनुगमन संघले गर्नेछ ।

निर्धारित दररेटभन्दा कममा बुकिङ गरेको प्रमाणित भएमा कुरियरका मेलव्याग बोक्ने लोजिस्टिक कम्पनीलाई अनुरोध गरी मेलव्याग ल्याउने, पु¥याउने सेवा बन्द गरिने सम्झौतामा उल्लेख छ । न्यूनतम शुल्क लागू नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तथा विभिन्न शाखामा हुने डेलिभरीमा समेत रोक लगाइने संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष देवेन्द्र खड्काले भन्नुभयो, ‘आन्तरिक तथा बाहृय कुरियर सेवा प्रदान गर्ने र यस व्यवसायलाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले हामीले आन्तरिकरूपमा सम्झौता गरेका हौँ, यसबाट कुरियर व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा अन्त्य भई विकृति नियन्त्रण हुने अपेक्षा छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?