मूल्य नियन्त्रण नगरे निर्माण कार्य ठप्प पार्ने चेतावनी

Read Time = 6 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको चर्को मूल्यवृद्धिले निर्माण कार्य ठप्प हुने अवस्था आएको जनाएको छ । देशको समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लोपटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीमा समेत अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको महासंघको भनाइ छ ।

पछिल्लोपटक पेट्रोलमा एकैपटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धिले अत्यन्त रुग्ण अवस्थाका निर्माण उद्योग थप आक्रान्त भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । विगत केही महिनाको तथ्यांकअनुसार इन्धनमा शतप्रतिशत मूल्यवृद्धिका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अति जरुरीका निर्माण आयोजना पनि अब बन्द हुने अवस्थामा पुुगेको महासंघले जनाएको छ । निरन्तर मूल्यवृद्धि हुँदै आए पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत नदिएकाले समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासीनता पुष्टि भएको आरोप छ ।

महासंघका अनुसार अप्रत्याशितरूपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर, जग्गा तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायी, परिवार र आश्रित लाखौं श्रमिकको बिचल्ली हुने अवस्था आएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासंघ र सरोकारवाला निकायबीच वार्ता हुँदै गर्दा हठात् भएको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिले महासंघ स्तब्ध भएको छ ।

पेट्रोलियममा लिइने कर कटौती नगरी तथा चुहावट समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरोरूपमा निर्माण व्यवसायीसहित आमउपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकारात्मक असर पर्ने महासंघको ठहर छ ।’

त्यस्तै गरी बिमा निर्देशिका २०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बिमा कम्पनी पोस्ने काम सरकारले गरेको पनि महासंघले आरोप लगाएको छ । निर्देशिकामा टेरिफलाई ननटेरिफ नगरेमा महासंघ, बिमा समितिविरुद्ध पुनः कडा आन्दोलनमा जान बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’ बीच पनि मुलुकभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण आयोजनासमेत बन्द गरी स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै थप सशक्त कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिदाले पेट्रोल खपत ११ प्रतिशतले घट्यो
नेपाल आयल निगमले जेठमा आइतबार बिदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाखभन्दा जेठमा पेट्रोल खपत ११ प्रतिशतले घटेको दाबी गर्नुभएको हो । चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा बैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको उहाँले बताउनुभयो । साथै कार्यकारी निर्देशक थानीले खाना पकाउने ग्याँसमा छिट्टै दुईथरि मूल्य तोकिने बताउनुभएको छ । दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने गरी आवश्यक तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

थानीका अनुसार आइतबारको मूल्यवृद्धिपछि पनि निगमलाई पाँच अर्ब हाराहारी घाटा छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्याँसमा प्रतिसिलिन्डर सात सय ५४ रुपैयाँ घाटा रहेको छ । बढेको मूल्यका कारण १५ दिनमा दुई अर्ब ३५ करोड रुपैयाँ घाटा हुने उहाँको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?