जग्गा धितो राख्न नपाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन बैंकमा धितो राख्न नपाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध विष्णुबहादुर सुनुवारले दिनुभएको निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । जग्गाको वर्गीकरण नभएसम्म अनिश्चित कालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भन्दै सर्वोच्चले सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । सहरी विकास मन्त्रालयले गत जेठ २७ मा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुनका लागि खेतीयोग्य जग्गा र गैरकृषि क्षेत्रको जग्गा भनी जग्गाको वर्गीकरण नहुँदासम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ, ‘हालसम्म पनि जग्गाको वर्गीकरण भइसकेको देखिँदैन । जग्गाको वर्गीकरण नभएसम्म अनिश्चित कालसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भएकाले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू, नगराउनू ।’

सर्वोच्चले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म सो निर्णय तत्काल कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध संसद्मा पनि आवाज उठेको थियो । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले जग्गा धितो राख्न नपाउँदा समस्यामा परेको सांसदहरूको भनाइ थियो । जसपाकी सांसद नरमाया ढकालले सोमबारको प्रतिनिधिसभा बैठकमा उक्त कुरा उठाउनुभएको थियो । ‘उच्च शिक्षाका लागि बर्सेनि नेपालबाट हजारौँ युवायुवती विदेशिइरहेका छन् । उनीहरूलाई उचित शिक्षा नेपालमै दिन सक्ने बनाउन सकेका छैनौं । तर, अहिले उनीहरूलाई सरकारका कारण अर्को समस्या थपिएको छ,’ उहाँले भन्नुभएको थियो, ‘जग्गा राखेर ऋण दिने व्यवस्था रोकिदिँदा उच्च शिक्षाका लागि विदेश जाने तयारीमा करोडौँ लगानी गरेका विद्यार्थी अहिले मारमा छन् ।’ विद्यार्थीको रकम डुब्ने भएकाले सरकारलाई वैकल्पिक निर्णय गर्न जसपाकी सांसद ढकालले आग्रह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?