संघदेखि प्रदेशसम्म उदण्ड मन्त्री ! न दलले फेर्छ, न त सरकारले टेर्छ, मन्त्री फेर्ने समाजवादीको निर्णयका कारण अफ्ठेरोमा दलहरू

हिमालय टाइम्स
Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली मात्र होइन, हातपात नै गरेको अडियो शुक्रबार सार्वजनिक भयो । जसको चौतर्फी आलोचना भइरहेको छ । यस्तो अश्लील गाली-गलौजको अडियो सार्वजनिक भएको यो पहिलो होइन । यसअघि पनि मन्त्री आलेले भारतमा रहेका एक नेपालीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो । त्योबेला पनि मन्त्री आलेलाई बर्खास्त गर्न आवाज उठ्यो । तर, न आलेको दल नेकपा (एकीकृत समाजवादी)ले कुनै निर्णय लियो न प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एक्सन लिनुभयो । त्यो त्यत्तिकै सेलायो ।

पहिलेको अडियो सेलाएको केही महिनापछि आलेको अर्को अडियो बाहिरियो । त्यो अडियो बाहिरिएको पनि निकै दिन भइसक्यो । तर, न उहाँको दलले कुनै निर्णय गरेको छ, न प्रधानमन्त्री देउवाले नै कुनै एक्सन लिनुभएको छ । देउवा सरकारमा रहनुभएका मन्त्री आले मात्रै होइन अन्य केही मन्त्रीमाथि बारम्बार प्रश्न उठेका छन् । तर, कसैले कुनै छलफलको विषय बनाएका छैनन् । मन्त्रीको भद्दा भाषा र हर्कतको विषयमा उहाँको दल पनि मौन छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले यसै विषयमा प्रश्न गर्दासमेत टालटुले जवाफ दिनुभयो । प्रधानमन्त्रीले नसुनेजस्तो गर्नुभएको छ ।

बजेट बनाउने क्रममा अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर आरोप लाग्यो । करको दर हेरफेरमा मन्त्रालयमै एक बिचौलियालाई प्रवेश गराएको आरोप लागे पनि अर्थमन्त्री शर्मामाथि कुनै छानबिन भएको छैन । उसो त संघीय सरकारका यी दुई मन्त्री मात्रै होइनन् केन्द्रमा जस्तै प्रदेशमा पनि उद्दण्डता प्रदर्शन गर्ने मन्त्रीहरू छन् ।

प्रदेश सरकारका उदण्ड मन्त्रीमा पहिलो नाम आउछ दीपक मनाङे । मनाङेले गत चैतमा मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझालाई मन्त्रालयमै कुटपिट गर्नुभयो । तर, उहाँमाथि पनि कुनै कारबाही भएन । प्रदेश सरकारमा अर्का एक मन्त्री विमला वली केही दिन अघिसम्म चर्चामै रहनुभयो । लुम्बिनीकी स्वास्थ्य, जनसंख्या र परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले गत मंगलबार एकजनाको घरमै गएर महिला तथा बालबालिकामाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि अस्पतालमै बसेर डिस्चार्ज हुनुभयो । हालसम्म उहाँ मन्त्री नै हुनुहुन्छ ।

मन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीको माग
पर्यटन व्यवसायसँग आबद्ध व्यवसायीहरूका तीन संगठनले संस्कृति पर्यटन तथा नागरिकमन्त्री प्रेम आलेले तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । अश्लील र अराजक गतिविधि देखाएको भन्दै उनीहरूले तत्काल मन्त्री आलेलाई पदमुक्त गर्न माग गरेका हुन् । नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती संगठनले आपत्ति जनाएका हुन् ।

‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुव्र्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिँदै स्वयं त इतिहासकै बद्नाम मन्त्री भएकै छन् । तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनुपर्ने लज्जास्पद अवस्था सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ मन्त्री आलेलाई पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टीको छवि बचाउन प्रधानमन्त्रीज्यू र सम्बन्धित पार्टीलाई आग्रह गर्न चाहन्छौँ ।’ प्रेम आलेविरुद्ध आइतबार संसद् सचिवालयमा समेत उजुरी परेको छ ।

किन फेरिँदैनन् मन्त्री ?
नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गर्ने निर्णय गरेको दुई साता बढी भयो । सरकारमा रहेको मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न समाजवादीले सूची नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर, दुई सातासम्म पनि समाजवादीको उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । समाजवादीले गरेको निर्णय कार्यान्वयन गर्न स्वयं प्रधानमन्त्री नै अनिच्छुक देखिनुभएको छ । कारण समाजवादीका मन्त्री फेर्नेबित्तिकै सत्ता साझेदार अन्य दलमा पनि यस विषयले प्रवेश पाउने डर । माओवादी केन्द्र र जसपामा पनि मन्त्री फेर्ने आवाज उठिरहेको छ । यसलाई स्वयं समाजवादीका अध्यक्ष माधव नेपालले पुष्टि गर्नुभएको छ । कारण यति मात्रै होइन ।

समाजवादीका मन्त्री फेर्दा पार्टीमै विग्रह आउनसक्ने डर पनि छ । जसले गठबन्धनमै शक्ति सन्तुलनमा असर गर्न सक्छ । मन्त्री फेरबदल गर्ने समाजवादीको निर्णयले अहिले गठबन्धनमै सकस परेको छ । समाजवादीका मन्त्री फेर्नेबित्तिकै त्यसको आगो माओवादी र जसपामा सल्किने देखिन्छ । कांग्रेसमा पनि मन्त्री फेर्नुपर्ने आवास सुषुप्त रूपमा उठेको छ । कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि सार्वजनिक कार्यक्रममै मन्त्री फेर्ने कुरा कांग्रेसमा पनि उठेको बताउनुभएको थियो । तर, समाजवादीका अध्यक्ष नेपाल भने अझै पनि मन्त्री फेरिनेमा आशावादी हुनुहुन्छ । अब छिट्टै नै मन्त्री फेरबदल हुने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?