सन्दर्भ : विवादित अभिमुखीकरण कार्यक्रम

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

२०७९ जेठ ३१ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम हेटौंडामा थियोे । उदटन सत्रमा नै कार्यक्रम गालिगलौचमा केन्द्रीकृत भएको भन्दै विवादित बन्यो । समाचारका शीर्षकहरू सबैजसो विवादै विवादका पढ्न किन हामी बाध्य छौं ? काठमाडौंका मेयर बालेन साहले कार्यक्रम बहिष्कार गरेर काठमाडौं फर्किएको समाचार सम्प्रेषण भयो । मेयर बालेन साहले ठीक/बेठीक के गरे ? यो विश्लेषणको विषय बन्यो । यो घटनाको सन्देश के ? यसको अन्तरवस्तुमा प्रवेश गर्न सभ्य समाजलाई दबाब दियो ।

समीक्षा, टिप्पणी, मूल्यांकनमात्रै होइन समाजले निष्कर्ष पनि निकाल्नुपर्छ । अभिमुखीकरणको अर्थ के ? सर्वप्रथम यतापट्टि प्रवेश गर्नु नै पर्ने हुन्छ । नेपाली शब्दकोशका अनुसार अभिमुखीकरणको अर्थ कुनै अनुशासन, शास्त्र वा सिद्धान्तमा नयाँ मत, विचार, प्रविधि वा शिल्पलाई प्रस्तुत गर्ने कार्य हो । सामूहिक रूपले रहेका शिक्षार्थी/प्रशिक्षार्थीलाई विषय विशेषज्ञद्वारा कुनै खासखास विषयमा कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विशेष जानकारी दिने वा त्यसको प्रशासनिक वा प्राविधिक पक्षमा गरिने गहन शिक्षण, प्रशिक्षण, तालिम आदिलाई जनाउँछ ।

के हामीले संस्थाहरूद्वारा सञ्चालित अभिमुखीकरण तालिमलाई निर्दिष्ट उद्देश्यमा केन्द्रित भएर सञ्चालन गरेका छौं ? प्रशिक्षणहरूको प्रतिफल मूल्यांकन किन हुँदैन ? यस्ता प्रश्नले खोज, अनुसन्धान, मूल्यांकन र विश्लेषणको आवश्यकता सिर्जना गर्छ । यो प्रश्नको उत्तर सकारात्मक आउन त्यस्ता कार्यक्रमहरूको मर्मअनुसार सञ्चालन भएको अनुभूति सञ्चालक, सेवाग्राही साथै जनतालाई समेत हुनुपर्छ । राज्यसञ्चालित यस्ता कार्यक्रमहरूबाट लगानीको अनुपातमा प्रतिफल प्राप्त हुँदैन भने त्यो दुरुपयोग हो । जिम्मेवारीमा हुने जोकोहीले राज्यका स्रोत र साधनको अपचलन वा दुरुपयोग गर्न पाइँदैन ।

राज्यले प्रशिक्षणमा वर्षेनी थुप्रै रकम खर्च गरेको छ । के त्यसको लाभ, हानीको वस्तुगत मूल्यांकन रिपोर्टहरूलाई हामीले सार्वजनिक गरेका छौं ? अभिमुखीकरण भन्ने तर अभिमुखीकरणको सिद्धान्त अनुसार कार्यक्रमहरू सञ्चालन नगर्दा जनशक्तिको कार्यघण्टा नष्ट हुन्छ । क्षमता अभिवृद्धि हुँदैन । बजेटको दुरुपयोग हुन्छ । देशलाई अधोगतितिर लैजाने एउटा कारण अभिमुखीकरणको दुरुपयोग पनि हो ।
अभिमुखीकरणलाई सञ्चालन गर्ने हाम्रो गलत रीतिरिवाजले कुशासनलाई प्रोत्साहित गरेको छ । यो परम्परालाई तोड्न जरुरी छ । बालेनले यो परम्परा तोड्नलाई बहिष्कार गरे कि यो परम्परालाई झन प्रोत्साहित गर्न ? अभिमुखीकरण सुरुवात नहुँदै उनी किन बाहिरिए ? जनप्रतिनिधिको मुख्य गुण सहनशीलता र धैर्य पनि हो । बहिष्कारले उनमा यो गुणको खडेरी देखियो । बालेनले गरेको यो बहिष्कार अभिमुखीकरणप्रतिको अविश्वास हो । यो घटना सामान्य होइन । किन उनले कार्यक्रम नै बहिष्कार गरे ? मतदातालाई स्पष्टीकरण दिनुपर्छ ।
उनले चड्ने गाडीको खर्च, समय सबै जनताले खरिद गरेका छन् । त्यसैले उनले आफ्नै समय र महानगरको साधन, स्रोतलाई अब आफ्नो एक्लो इच्छाले प्रयोग गर्न पाउँदैनन् । उनी अभिमुखीकरण कार्यक्रमका लागि हेटौंडा पुग्ने र फर्कने खर्च र उनले अभिमुखीकरणमा प्रयोग नगरीकन फर्केको समयको मूल्य कसले व्यहोर्छ ? जनताको करबाट प्राप्त पारिश्रमिक, सुविधा र जनताले खरिद गरेको उनको समयको दुरुपयोग गर्ने हक अबका दिनमा उनलाई छैन ।

अभिमुखीकरण बहिष्कार गर्दा उनको धैर्य र सहनशीलतामा प्रश्न उठ्यो । अभिमुखीकरणमा राज्यले गरेको लगानीसमेतको दुरुपयोग भएको जिम्मेवारी कसले लिने ? जनताको साधनको, उनले गरेको समयको दुरुपयोगको क्षतिपूर्ति कसले गर्ने ? यसको जबाफ बालेनले दिनुपर्ने कि नपर्ने ? उनी अहिले जिम्मेवारीमा छन्, त्यसैले उनले गर्ने बहिष्कार, व्यवहार र आचरणसमेतको प्रभाव समाजमा पर्छ भन्ने हेक्का किन भएन ? पहिलो कार्यकारिणीको बैठकमा सभा सञ्चलनमा गम्भीर त्रुटिको आलोचना सामना गरेका बालेनका लागि यो अभिमुखीकरणले दिने व्यावहारिक ज्ञान र अनुभव उनले कुनै किताबका ठेलीमा पाउँदैनन् । आवेगमा यसलाई बहिष्कार गर्ने निर्णय वास्तवमा उनको गम्भीर भुल थियो ।

यसले उनमा परिपक्वताको प्रश्नचिहृन सधैंका लागि लाग्यो । सच्याउन नमिल्ने कार्यशैलीको नकारात्मक नजिर बन्यो । अभिमुखीकरणको भावनालाई, मर्मलाई उद्घाटनका क्रममै पालना भएन भनेर भेलामा सहभागीहरूमध्ये पनि सबैभन्दा बढी जिम्मेवार व्यक्तिले किन बहिष्कार गरे ? यसमा जनताको चासो स्वाभाविकै हुन्छ । जनतालाई चिन्तित बनाएर आफ्नो व्यवस्था गर्ने जनप्रतिनिधिहरूको खाँचो हामी कहाँ हिजो पनि थिएन । हिजोको शैली, व्यवहार, चरित्रमा तात्विक परिवर्तनको अनुभव जनतालाई भएन भने बालेनको विजयको के अर्थ ? फगत मेयरको पद दिनमात्रै जनताले उनलाई भोट दिएका होइनन् । अल्लारे व्यवहार प्रदर्शन गर्न काठमाडौंका जनताले पार्टीहरूको फलामे जञ्जिर चुँडालेर मतदान किमार्थ गरेका होइनन् भन्ने हेक्का बालेन साहले दिनदिनै होइन छिनछिनमा राख्नुपर्छ ।

अभिमुखीकरणको मूल ध्येय नयाँ कार्यक्षेत्रमा प्रवेश गर्नेका लागि विषयवस्तुको वा कार्यक्षेत्रसँग सम्बन्धित विद्यमान समस्या र सम्भाव्य समस्याहरू केन्द्रित छलफलबाट निस्कने परिणाम र निदानका सूत्रहरू, सिद्धान्त साथै व्यावहारिक रणनीतिका सम्बन्धमा गहन छलफल, विचारविमर्शको वातावरण तथा परिवेश निर्माण गर्छ । अभिमुखीकरणमा सम्बन्धित क्षेत्रका विशिष्ट विज्ञ तथा विशेषज्ञहरूले सहजीकरण गर्छन् । यो अवसर बालेनले किन गुमाए ? के अहिलेसम्म हाम्रा अभिमुखीकरणका कार्यक्रम विषयवस्तु केन्द्रित छन् ? यदि छैनन् भने हाम्रा अभिमुखीकरणको लगानी व्यर्थ हो । व्यर्थमा लगानी किन गर्ने ? किन स्रोत र प्रशिक्षार्थीको कार्यघण्टालाई बारबाद गर्ने ? त्यसैले अब सबै प्रशिक्षण कार्यक्रमको प्रतिफल मूल्यांकन प्रतिवेदन सार्वजनिक हुनैपर्छ ।

अभिमुखीकरण मूलतः संस्थाको उद्देश्य प्राप्ति गर्न निर्धारित पाठ्यक्रमको आधारमा विज्ञबाट प्रशिक्षण दिने काम हो । संस्थाको उद्देश्य, निर्धारित पाठ्यक्रम र विज्ञबाट हुने प्रशिक्षणको प्रतिफल मूल्यांकन परिपाटीको विकास नहुँदा यस्ता कार्यक्रम फगत बजेट खर्चमा सीमित छन् । अभिमुखीकरण कार्यक्रम भन्ने र विषयवस्तुभन्दा बाहिर अनावश्यक भाषण गर्ने प्रवृत्ति र चरित्रमा यसरी आक्रमण हुन थाल्यो भने कुनै पनि कार्यक्रमहरू विषयवस्तुभन्दा बाहिर नजाने परम्परा विकास भयो भने यसले सुधारको बाटो अख्तियार गर्न भने सहयोग गर्नेछ ।

शालिकराम जमर्कट्टेल बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जो आयोजक पनि हुन् उनले स्वागत भाषण वा उद्घाटन भाषणमा शिष्ट र सभ्य शब्दावली प्रयोग नगरेर गालीगलोज र फोहर व्यवस्थापनमा नागरिक, सरकार र महानगरबीच भएको सहमति र सद्भावनालाई खलल पार्ने अभिव्यक्ति शोभनीय नभएको भन्दै अभिमुखीकरणका प्रशिक्षार्थीमध्येकै मुख्य व्यक्तिले बहिष्कार गर्नुभनेको यो अभिमुखीकरणको इतिहासमै महत्वपूर्ण दुर्घटना हुनुपर्छ ।

अभिमुखीकरणले जनप्रतिनिधिलाई जनताको सेवा गर्ने विधि, विश्वास, आत्मबल अभिवृद्धि गर्नुका अतिरिक्त कार्यक्षेत्रमा उत्पन्न हुने समस्याहरूको प्रकृतिका साथै समाधानका सम्भाव्य उपायबारे आपसी छलफल, अन्तक्र्रियामा सक्रियताका साथ भाग लिँदा यसले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने पूर्वाभ्यासमा प्रत्यक्ष संलग्न हुने अवसर दिन्छ । समस्याको प्रकृतिको ज्ञान, कार्य सम्पादनमा अपनाउनुपर्ने सावधानी, खर्च र आम्दानीलाई नियमित व्यवस्थित र मितव्ययी गर्ने गराउने तरिका, विधि बारे नवनिर्वाचित पदाधिकारीलाई प्रशिक्षित र दीक्षित गर्ने काम अभिमुखीकरणले गर्छ । जनप्रतिनिधिको भूमिका के हो ? कार्यक्षेत्रहरू के-के हुन् ?

जनआपेक्षाको प्रकृति, आफ्नो कार्यक्षेत्रसँगको व्यावहारिक साथै सैद्धान्तिक छलफलले स्थानीय पदाधिकारीलाई कार्यक्षेत्रमा उत्पन्न हुने समस्या र तिनको निराकरणका सम्भावित उपाय र सूत्रको पूर्वज्ञानले निश्चित रूपमा उनीहरूको कार्यक्षमता अभिवृद्धिमा योगदान गर्छ । यो अवसरलाई सदुपयोग नगर्नु बालेनको अक्षम्य भुल हो ।

जनता भाषण होइन परिणामुखी समाधान चाहन्छन् । समाजको मनोविज्ञान, आवश्यकता, विद्यामान साधन-स्रोतहरू साथै जनशक्तिसमेतलाई उच्चतम प्रयोगका माध्यमले विकास र परिवर्तनका मुद्दाहरूलाई कसरी परिणाममुखी बनाउन सकिन्छ भन्ने गहनतम चिन्तनको थलो हो अभिमुखीकरण कार्यक्रम । प्रशिक्षार्थीलाई अनावश्यक सूचनाभार र कागजी कार्यभार, योग्य प्रशिक्षकहरूको अभाव साथै असम्बन्धित विषयवस्तुको प्रस्तुति भयो भने सिकाइ गुणस्तरीय हुँदैन भन्ने विषयमा आयोजक चनाखो हुनैपर्छ । सिकाइको कला, विषयवस्तु र प्रस्तुतीकरणमा अभिमुखीकरणको प्रभावकारिता निर्भर गर्छ । यो सिकाइको कार्यक्रम प्रभावकारी नहुनु भनेको समय, साधन साथै स्रोतको दुरुपयोग हो भन्ने विषयमा के आयोजक सजग छन् ?

विशेषतः अभिमुखीकरणको विषयवस्तु, काम गर्ने संस्थाको प्रकृति, समाज र समस्याहरूको प्रकृति, उद्देश्य, जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार, सीमा, अनुशासन, जीवनशैली, कार्यशैली, आचरणका सम्बन्धमा हुने गहन सामूहिक छलफल, विचारविमर्श साथै अन्तरक्रियाले निश्चितरूपमा जनप्रतिनिधिमा दक्षता, कार्यक्षमता, कार्य तत्परता बढ्ने, छलफलका विषयलाई बुझ्ने, सबैका विचार सुन्ने, कदर गर्ने र समाधानका विशेष विधि र सूत्रहरू खोज्ने नयाँ प्रकारको खोजमूलक दृष्टिकोणको विकास गर्न मद्धत गर्छ ।

जनप्रतिनिधिमा हुनुपर्ने न्यूनतम् गुण सेवाग्राहीलाई सम्मान, अनुहारमा मुस्कान, नम्रता, मृदुभाषी, समस्यालाई राम्रोसँग सुन्ने, त्यसप्रति प्रदर्शन गर्ने सकारात्मक दृष्टिकोणको विकासले सकारात्मक सोच, धैर्य, गम्भीरता प्रदर्शनमा र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्छ ।

जनप्रतिनिधिको घमण्ड, अहंकार, आत्मप्रशंसा प्रदर्शन साथै सेवाग्राहीलाई निरुत्साहित बनाउने चरित्र र व्यवहारले हुने नकारात्मक प्रभावका विषयमा हुने सामूहिक छलफल अन्तक्र्रियाले हुनसक्ने सुधारका सन्दर्भमा अभिमुखीकरणको महत्वपूर्ण भूमिका हुन्छ । अभिमुखीकरण कार्यक्रम जति विषयवस्तुमा केन्द्रित हुन्छ, प्रस्तुति जति बढी रमाइलो र सहज वातावरणमा हुन्छ त्यति नै बढी प्रशिक्षार्थीहरूले चाखका साथ सुन्ने, बुझ्ने र सिक्ने प्रयास गर्दछन् ।

हामीले अभिमुखीकरण कार्यक्रमलाई श्राद्धमा बिरालो बाँध्ने शैलीमा सञ्चालन गर्दै आएका छौं । प्रायः धेरैजसो जिम्मेवारको ध्येय अभिमुखीकरण शीर्षकको बजेटलाई खर्च गर्नेमात्र हुन्छ । अभिमुखीकरण कार्यक्रमको उत्पादकत्वको विवेचना, विश्लेषण, मूल्यांकन, अनुगमन तथा निरीक्षण संयन्त्रसम्म नहुँदा यो बजेट खर्च गर्ने शीर्षकमा सीमित छ । व्यक्ति औपचारिक शिक्षालेमात्र कार्यदक्ष बन्दैन । जिम्मेवारीमा प्रवेशपूर्व र सेवामा रहँदा हुने प्रशिक्षणले व्यक्तिमा कामप्रति आत्मविश्वास, क्षमता र कार्य तत्परता अभिवृद्धि, तर्कशक्ति र कामको प्रकृति बुझ्ने क्षमतामा हुने अभिवृद्धिले स्वतः व्यक्तिको कामको उत्पादकत्व बढ्छ । व्यक्तिको कामको उत्पादकत्व बढ्नु नै अभिमुखीकरणको सफलता हो ।

अभिमुखीकरणको उद्देश्य प्राप्तिमा त्यसको पाठ्यक्रम विषयवस्तु केन्द्रित, प्रशिक्षार्थीहरूको कार्यक्षेत्रका समस्या केन्द्रित निश्चित पाठ्यक्रम हुनुपर्छ । त्यस्तो पाठ्यक्रमलाई समाजका लब्धप्रतिष्ठित विशेषज्ञहरूको भेलाले समेत अनुमोदनको व्यवस्था हँुदा सिकाइको पाठ्यक्रम गुणस्तरीय हुन्छ । जनप्रतिनिधिका सबै क्रियाकलापमा गुणस्तरीयता अभिन्न अंग हुनुपर्छ । समस्याको व्यावहारिक र प्रयोगात्मक समाधान खोज्ने विशेष कला, तत्परता र क्षमता अभिवृद्धिको त्रिवेणी हो अभिमुखीकरण ।

यसले नवप्रवेशीहरू र सेवारतहरूको उत्पादकत्वलाई वृद्धि गर्छ । अभिमुखीकरण सम्वादबाट, छलफलबाट सत्य र तथ्यको बोध हुन्छ भन्ने सिद्धान्तमा आधारित छ । समान प्रकृतिका समस्यासँग जुध्न, समान लक्ष्य प्राप्तिका लागि अघि बढ्न अभिमुखीकरण कार्यक्रमले प्रशिक्षार्थीमा स्वच्छ प्रतिस्पर्धात्मक भावनालाई जगाउन सक्नुपर्छ ताकि सबैले आफ्नो कार्यक्षेत्रमा अब्बल हुन विशेष मिहिनेत, परिश्रम, चिन्तन र प्रतिस्पर्धा उनीहरूको जीवन चर्या बनोस् ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devi bhakta Dhakal
devi bhakta Dhakal
2022-06-22 5:40 am

धन्यवाद हिमालय टाइम्स अखबारलाई।

maya sharma
maya sharma
2022-06-23 8:00 am

अभिमुखीकरणको प्रभावकारिता संग विकासको सकारात्मक सम्बन्ध हुन्छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?