एन्फामा नयाँ नेतृत्व-पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित (भिडियो हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाण्डौं । कुनै समय चेन्ज एन्फा भन्दै एउटै मौर्चामा लागेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा)मा नेतृत्वका लागि निर्वाचन भयो । २१ औं चुनावी साधारण सभाबाट पुराना हितैसी कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गरेका पंकजविक्रम नेम्वाङ आगामी चार वर्षका लागि एन्फालाई नेतृत्व गर्न अध्यक्षमा चुनिनसभएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएपछि चेन्ज एन्फाको नारासहित एउटै प्यानलबाट नेपाली फुटबल परिवर्तन गर्न २०७४ वैशाख २२ गते कर्माछिरिङ शेर्पा एन्फाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एउटै नारामा सहमति जनाउँदै पंकजविक्रम नेम्वाङ पनि शेर्पासँग चुनावी मैदानमा उत्रिनुभएको थियो । चुनावमा सर्वाधिक भोटसहित उपाध्यक्ष निर्वाचित हुनुभएको थियो  । तर, शेर्पाले नेम्वाङलाई एक वर्षपछि मात्रै वरिष्ठ उपाध्यक्ष बनाउनुभएको थियो । एन्फा नेतृत्वमा पुगेपछि शेर्पाले चार उपाध्यक्षलाई आफू अनुकुल कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरेपछि उनको नेम्वाङसँग सम्बन्ध चिसिएको थियो । त्यही चिसोपन तिक्ततामा परिणत हुँदै यो निर्वाचनमा एकअर्काबिरुद्ध प्रतिष्पर्धा गर्ने अवस्थामा आइपुगेको हो । जसमा नेम्वाङले कुल ८४ भोटमा ४५–३९ मतले प्राप्त गर्दै आगामी चार वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पंकजसँगै कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्षसहित उहाँकै पक्षको बाहुल्य रह्यो ।

अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष नेम्वाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष नेम्वाङले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छानबिन समितिको प्रतिवेदनको वृहत रुपमा छलफल गर्छौं । सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं । फिफाबाट प्रारम्भिक आर्थिक प्रतिवन्ध जस्तै अवस्था छ । सोही कारण साधरण सभामा अडिड रिपोर्ट पेस गर्न सकेनौं । यो दायित्व पूरा गर्नेछौं । आफ्नो कार्यकालमा साफ जित्ने लक्ष्य राखेका छौं । यसबाहेक ग्रासरुट, युथ, महिला, लिगलाई व्यवस्थित गर्ने र राष्ट्रिय लिग शुरु गर्नेछौं ।’

यस्तै अध्यक्ष नेम्वाङले एनएसएलको विषयमा केही बुँदाहरुमा छलफल गरी समाधान गर्ने, उनीहरु पराजित नभएको र उहाँहरुको सकरात्मक सुझावको सदैव अपेक्षा गरिरहेको बताउनु भयो । झापा फुटबल संघ हुँदै एन्फा केन्द्र्रमा प्रवेश गरेयता कार्यसमितिमा निरन्तर रहनुभएका नेम्वाङ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको हो । झापाका ५१ वर्षीय पंकजले नेपाली फुटबलमा तत्कालको प्राथमिकता एन्फा, जिल्ला र क्लवहरुको सम्बन्धलाई सुधार गर्नुपर्ने रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एन्फा र जिल्लाहरू, एन्फा र क्लवहरूको सम्बन्ध बिग्रिरहेको छ  । एन्फा र खेलाडीहरूको सम्बन्ध राम्रो भइरहेको छैन । हामीले फिफा, एएफसी (एसियाली फुटबल महासंघ) सँगै सम्बन्ध राम्रो गरेर लैजानुपर्छ  । सबै बिग्रिएका सम्बन्धलाई एउटा मालामा उनेर सम्बन्ध सुमधुर बनाउँदै अगाडि बढ्नुपर्छ ।’

उता पराजित अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ टीमलाई बधाई दिँदै नेपाली फुटबल सञ्चालन गर्न सोचे भन्दा धेरै कठिन भएको बताउनु भयो । उहाँले आफू पराजित भएपनि नेपाली फुटबल भन्दा धेरै टाढा नजाने र क्लवलाई थप व्यवसयिक बनाउने प्रतिक्रिया दिनुभयो ।

‘नयाँ टिमलाई मेरो शुभकामना छ । नेपाली फुटबल विगतभन्दा व्यवस्थितरुपमा अगाडि बढ्नुपर्छ । हामीले विगतको चार वर्षमा फुटबलको फाउण्डेसन तयार गर्ने प्रयत्न गर्यौं । त्यो पनि अझै बनिसकेको छैन, पहिले फाउण्डेसन बनाउनुपर्छ, खेलाडीले बाह्रै महिना खेल्न, प्रशिक्षकले बाह्रै महिना प्रशिक्षण दिन र रेफ्रीले पनि बाह्रै महिना काम गर्न पाउनुपर्छ । मेरो तर्फबाट नेतृत्वलाई कुनै अवरोध हुँदैन,’ हिमालयन शेर्पा क्लवका अध्यक्षसमेत रहनुभएका शेर्पाले भन्नुभयो, ‘ए डिभिजन क्लवको अध्यक्षको हैसियतमा व्यवसायिक होस् भन्ने चाहना छ । अबको मेरो भूमिका क्लवलाई व्यवसायिक बनाउनेतर्फ केन्द्रित हुनेछ । म फुटबलबाट टाढा जाँदिन । उमेर समूहका धेरैभन्दा धेरै प्रतियोगिता आयोजना हुनुपर्छ, ग्रासरुट र लिग बलियो बनाउनुपर्छ, लिग कमिटी व्यवस्थित बनाउने चुनौती वहाँहरुलाई छ ।’

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा पनि मुछिएका नेम्वाङले एशियन कप छनोटको क्रममा खेलाडी र प्रशिक्षकको विवादबारे कार्यसमितिको पहिलो बैठकपछि निर्णय लिने बताउनु भयो । यसअघि एन्फाले गठन गरेको छानबिन समितिले एशियन कप छनोटपछि प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको छ  । अल्मुताइरी र खेलाडीबीच सेवा सुविधाको विषयमा विवाद भएपछि केही खेलाडी एएफसी एशियन कप छनोटका लागि बन्द प्रशिक्षण छाडेका थिए । नवनिर्वाचि नेम्वाङले आर्थिक विषयमा भने श्वेतपत्र जारी गरेर अगाडि बढ्ने बताउनु भयो । यसअघि कर्मा छिरिङले केही आर्थिक विषयमा एकलौटी निर्णय गरेको आरोप लगाउनुभएको थियो । यस्तै उपाध्यक्ष पदमा विजयी सिन्धुपाल्चोकका वीरबहादुर खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई ४ मत अन्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा चुनिनुभयो । वीरबहादुरले ४४ मत प्राप्त गर्दा शिक्षतलाई ४० मत प्राप्त भएको थियो । जितपछि वीरबहादुरले प्रमथतः नेपाली १० खेलाडीको विषयमा प्राथमिकता दिएर निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो प्राथमिकता भनेको टोली भन्दा बाहिर रहेका खेलाडीको विषयलाई टुङ्गो लगाउँछौं । खेलाडी भएर मात्र संस्था रहने हो । खेलाडीको हकहितका लागि विशेष गरी काम गर्छौं । सँगै जिल्ला, क्लवहरुसँगको सम्बन्ध सुधारका लागि काम गछौं ।’

https://youtu.be/-K8JbLzn_iY

यस्तै उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र कर्मा प्यानलबाट दीर्घ बहादुर केसी (कुमार) निर्वाचित हुनुभयो । महिला सदस्यमा पंकज प्यानलकी सरिला श्रेष्ठ र कर्मा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित हुनुभएको छ । १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गर्नुभयो । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनुपर्ने भएको छ । निर्वाचनबाट खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा र सरिला श्रेष्ठ नेम्वाङ प्यानलका हुन । सर्वाधिक मत ल्याएका मनिष जोशी, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरतबुढा क्षेत्री र पेमा डोल्मा शेर्पा प्यानलका हुन । कार्यसमितिको पहिलो बैठकले संघको महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । र एन्फाको नयाँ कार्यसमिति २३ सदस्यीय बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?