सिंजा गाउँपालिका पूर्वअध्यक्षको दादागिरी: कार्यकक्षमै वडाध्यक्षमाथि हातपात

Read Time = 4 mins

-विजय रावत
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावलले सोही गाउँपालिका २ का वडाध्यक्ष तीर्थ वडमाथि हातपात गर्नुभएको छ । पूर्व अध्यक्ष रावलले आइतबार ४:०० बजेतिर बहालवाला अध्यक्षकै कार्यकक्षमा हुँदा आफूमाथि हातपात भएको वडाध्यक्ष वडको आरोप छ ।
'उनले मदिरापान गरेर कार्यालयमा छिरी शुरुमा तल्लो तलामा शिक्षक लालप्रसाद तिवारीलाई हातपात गरेछन्,' उहाँले भन्नुभयो, 'त्यसपछि उनले अभद्र तरिकाले गाली गर्दै अध्यक्षको कार्यकक्षमा आएर ममाथि दुई चोट हाने र उपाध्यक्षलाई पनि अभद्र व्यवहार गरे ।' पूर्व अध्यक्ष रावलले कर्मचारी र सेवाग्रहीलाई धम्क्याएको आरोपसमेत वडाध्यक्ष वडले लगाउनुभयो ।

पूर्व अध्यक्ष रावलले भने कार्यालय राखेको आफ्नो घर भएको र त्यसलाई ध्वस्त बनाउन खोजेको आरोप लगाउनु भयो । चुनाव जितिसकेपछि वर्तमान अध्यक्षले राजनीतिक मुद्दा बनाएर धेरै निहुँ खोजेपछि त्यो घटना घटेको उहाँले स्वीकार गर्नुभयो । तपाईले कार्यकक्षमा नै वडाध्यक्षमाथि हातपात गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ त भन्ने प्रश्नमा पूर्व अध्यक्ष रावलले भन्नुभयो, 'प्रहरीमा आज छलफल भइरहेको छ, सके मिल्ने हो, नसके म पनि उनीहरुको विरुद्ध उजुरी दिन्छु ।'

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पूर्वअध्यक्ष रावलले अभद्र र घृणित काम गरेको भन्दै आजै कार्यपालिकाको बैठक बसेर खेद प्रकटका साथै दोषीउपर कारवाहीको माग र सुरक्षाका दृष्टिले कार्यालय सार्ने निर्णय गरिएको बताउनु भयो । 'कार्यकक्षमै हातपात गरेको उजुरी गर्दा पनि प्रहरी प्रशासन उनलाई पक्रन मानेको छैन,' अध्यक्ष धितालले भन्नुभयो, 'कुनै कमजोर व्यक्तिले त्यस्तो गल्ती गरेको भए एकै पटक प्रहरी प्रशासनले हिरासतमा पुर्याउँथ्यो होला ।'

बोलवालाको दादागिरीमा प्रशासनले निरिहता देखाएको भन्दै उहाँले रोष प्रकट गर्नुभयो । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले स्थानीय सरकारको आफ्नो अधिकार भित्रका कुराहरु भएको बताउँदै घटनाको विषयमा बुझ्न कार्यालयका सुब्बा मधुशंकर उपाध्यायलाई पठाइएको जानकारी दिनुभयो । खास घटना बुझेर प्रक्रिया अगाडि बढाउने प्रजिअ प्रसाईको भनाई थियो । जुम्ला प्रहरी प्रमुख नरेन्द्र चन्दले उजुरी आएको भन्दै त्यसबारे बुझ्न प्रहरी निरीक्षकलाई त्यसतर्फ पठाइएको तर पूर्व अध्यक्ष रावललाई नियन्त्रणमा नलिएको जनाउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?