हलेसी तुवाचुङ नगरकाे कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले गर्ने तयारी

Read Time = 4 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयको परीक्षा आफैँले गराउने तयारी गरेको छ । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले चेकजाँच गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसक्ने निष्कर्ष निकाल्दै आगामी दिनमा नगरपालिका भित्रका ८९ विद्यालयमा एसईई मोडलमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

परीक्षाका लागि कक्षा १ देखि ९ सम्मका प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ । परीक्षामा हरेक विद्यालयमा फरक विद्यालयका शिक्षकलाई परीक्षा नियन्त्रक बनाईनेछ र उत्तरपुस्तिका नगरपालिकाकै मातहतमा हेरिने सामाजिक विकास समिति संयोजक एवंम् बाहुनिडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो ।

‘विद्यालय आफैले प्रश्नपत्र बनाउने, आफै परीक्षण गर्ने, यसो हुँदा कुन विद्यालयका विद्यार्थीको अवस्था कस्तो ? त्यहाँको पठनपाठन कस्तो छ ? भनेर थाहा नहुने हुँदा आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको परीक्षा नगरपालिकाले गर्ने र चेकजाँच गर्ने गरी तयारी थालेको छ ।’ संयोजक राईले भन्नुभयो ।

परीक्षा सञ्चालनका लागि अहिले कार्यविधि निर्माण भईरहेको छ । परीक्षा सञ्चालनका लागि आर्थिक वर्ष २०७९/०८० मा बजेट व्यवस्थापन गरेर सबै विद्यालयको परीक्षा नगरपालिकाको मातहतमा हुने नगरप्रमुख बिमला राईले बताउनुभयो । यसरी परीक्षा सञ्चालन गर्दा नतिजा राम्रो ल्याउनमा विद्यालयहरुबिच प्रतिस्पर्धा हुने, शैक्षिक सुधारमा थप टेवा पुग्नेछ अनुमान गरेका छौ । नगरप्रमुख राईले भन्नुभयो ‘परीक्षाका नाममा विधार्थीहरुले विभिन्न शुल्क तिर्दै आएका छन् । नगरले परीक्षा गर्न थालेपछि त्यो पूर्णरुपमा हट्नेछ, परीक्षा निःशुल्क हुनेछ ।’

यस नगरपालिकामा सामुदायिक मावि १२ वटा, आधारभूत १३ वटा र प्रावि ६४ वटा रहेको छ । गुणस्तरीय शिक्षाकै लागि नगरपालिकाले सम्पूर्ण माविमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउने निर्णय समेत गरेको छ । त्यसका लागि पुस्तकहहरु आउँदै गरेको नगर शिक्षा संयोजक पदम बहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार नगरपालिकाले पठनपाठन गराउन लागेको चाम्लिङ भाषाको कक्षा १ देखि ३ सम्म र तिलुङ भाषाको कक्षा १ को पुस्तक नगरपालिकामा आईसकेको छ । त्यसलाई वितरण गरेर आगामी शैक्षिक सत्रबाट पठनपाठन गराईनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?