कैलाली जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम : थारु भाषा शिक्षणदेखि करदाता पुरस्कृतसम्म

Read Time = 4 mins

-गोविन्द बीसी
टीकापुर । कैलालीको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट निर्माणका आधारहरु गाउँसभामा प्रस्तुत गरेको छ ।

गाउँपालिकाको दशौँ गाउँसभा बैठकमा अध्यक्ष गणेश चौधरीले संघीय र प्रदेश सरकारबाट जारी भएका नीति, कार्यक्रम तथा मापदण्डहरु, गाउँपालिकाले तयार गरेका नीति, कार्यविधि र निर्देशिकाहरु, विषयगत समितिबाट आएका नीतिगत सुझाव र स्थानीय सरोकारवालासंगको सुझावका आधारमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।

गाउँपालिकाले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै क्षेत्रगत नीति तथा कार्यक्रममा आर्थिक विकास, पशुविकास, प्रधानमन्त्री रोजगार कार्यक्रम, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, खानेपानी तथा सरसफाईलाई जोड दिएको छ ।

कृषितर्फ कृषि बिमा आधारित खेती प्रणाली, कृषि अनुसन्धान तथा तालिम केन्द्र, कृषि प्राविधिक क्षमता अभिवृद्धि, सहुलियतपूर्ण कृषि कर्जा र कृषि अनुदानलाई प्राथमिकता दिएको छ ।

शिक्षा, युवा तथा खेलकुद अन्तर्गत आधारभूत तहमा कक्षा १ देखि ३ सम्म स्थानीय थारु भाषामा शिक्षण सिकाइ कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयन गरिने र ‘विद्यालयसंग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार, कार्य सम्पादन प्रभाकारिता, महिला, दलित, मुस्लिम, लोपोन्मुख, मुक्त कम्लहरी तथा अपंगता भएका बालबालिकाको शिक्षामा सहुलियत दिने व्यवस्था गरेको छ ।

स्वास्थ्यतर्फ गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापना, विभिन्न स्वास्थ्य शिविर, पोषणयुक्त कार्यक्रम, प्रसुती केन्द्र विस्तार र स्वास्थ्य बिमा कार्यक्रम थप प्रभावकारी बनाउने लक्ष्य ल्याइएको छ ।

त्यस्तै, शुद्ध खानेपानीको विस्तार, फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकासका लागि प्रशासकीय भवन निर्माण कार्य, सडक यातायात गुरुयोजना परिमार्जन, उज्यालो जानकी सडक कार्यक्रम, स्वास्थ्य इकाई भवन र खेलमैदान निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।

सुशासन तथा संस्थागत विकास, सौर्य उर्जा विस्तार, विपद व्यवस्थापन कोष स्थापना, ‘बाढी उत्थानशील नमूना गाउँ’ घोषणा कार्यक्रम, छिटोछरितो र सर्वसुलभ न्याय सम्पादन, भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित समस्या समाधान गर्न पहल गर्ने बताइएको छ । जिल्लामै पहिलो पटक जानकी गाउँपालिकाले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।बजेट प्रस्तुत भने असार ८ गते (भोलि) प्रस्तुत गर्ने कार्यसूची छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?