पर्यटकीय गन्तव्य बनेको हेटौंडाको शहीद स्मारक वाटिका

Read Time = 15 mins
A A- A+

-प्रकाश दाहाल

हेटौंडा । ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भूपी शेरचनको यो कविताका यी शब्दहरूले देश बनाउने विषयमा धेरै कुरा बोलेका छन्। ‘देश, धर्म, संस्कृति, स्वतन्त्रता, आदर्श, उद्देश्य र विचारको लडाइँमा आफ्नो जीवन उत्सर्ग गर्न पछि नपरी मृत्युवरण गर्ने अमूल्य निधि नै शहीद हुन्।’ हृदयभित्र कहिल्यै ननिभ्ने ज्योति, प्रेरणाका  स्रोत जसको मृत्युमा सारा जनता शोकाकुल अनि सिंगो राष्ट्र नै स्तब्ध हुन्छ। बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा बनेको शहीद स्मारक वाटिका अहिले प्रदेश राजधानी हेटौडाको चिनारी मात्र होइन पर्यटकीय गन्तव्य पनि बनेको छ।

विषेशगरी शहीदको सम्झनामा निर्माण प्रारम्भ भएको शहीद स्मारक वाटिका अहिले स्वदेश तथा केही मात्रामा विदेशी पर्यटक समेतले सम्झने गन्तव्य बनेको छ।

इतिहासका विभिन्न कालखण्डमा नेपालमा धेरै वीर वीरङ्गनाहरूले सहादत प्राप्त गरेका छन्। शहीद प्रति गर्नुपर्ने श्रद्धालाई कायम राख्न नेपालकै शहीदहरूको बारेमा पूर्णरूपमा अध्ययन अनुसन्धान गर्दै यसको संरक्षण, सम्बद्र्धन एवम् निरन्तरता र व्यापकताको लागि पर्यटकीय पूर्वाधारहरू थप हुँदै गएका छन्। २०५१ सालबाट निर्माण प्रारम्भ भएको शहीद स्मारकमा हाल वार्षिक ५ लाखको हाराहारीमा पर्यटकहरूको आउँछन्।  यो पर्यटकीय गन्तव्य नेपाल कै नमुना र हेटौंडाको पहिचानको रूपमा अगाडि बढेको छ। बनेका पूर्वाधारहरूको संरक्षण र विकास तथा नयाँ पूर्वाधारहरू क्रमशः विस्तार गर्दै लगिएको छ।

प्रजातन्त्र पुनस्र्थापना भएपछि २०४७ सालमा शहीदहरूको सम्झनामा त्यस स्थानमा वृक्षरोपण गरेको बताउनुहुन्छ बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेल।

२०४९ सालमा स्थानीय तहमा नेकपा एमालेले धेरै स्थानमा जित हासिल गरेको थियो। शहीदहरूकै कारण यो सम्भव भएको निष्कर्ष निकालेपछि शहीदको सम्झनामा स्मारक बनाउने अठोट गरी एमालेका नेता मोदनाथ प्रश्रित कहाँ पनि पुगेको उहाँले स्मरण गर्नुभयो। उहाँको डिजाइन अनुसार विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका १२ जना शहीदहरूको मूर्ति एउटै ढुंगामा कुँद्न सुझाव दिनुभयो र त्यही अनुसार अहिलेको शहीद स्मारक वाटिका बन्न सुरु भयो।

२८ वर्षको अविराम यात्रामा शहीद स्मारक विकास समितिले अनेकन चुनौतीहरू सामना गरेको छ। अनेक चुनौतीका बीच देशकै सुन्दर र भव्य पार्क बनेकोमा आफू मात्र होइन हेटौंडाबासीले नै गौरव गरिरहनुभएको छ।

स्थानीय सरस्वती खोलाबाट हेटौंडा सिमेन्ट उद्योगको भल्बो ट्रीपर मार्फत २५ टनको स्यामल वर्णको ढुङ्गा ल्याई लगातार ११ महिना लगाएर त्यहाँ मूर्ति कुँदियो। यस कार्यमा ललितकला क्याम्पसका विद्यार्थीहरू पृथ्वी श्रेष्ठ, गोविन्द चौधरी र कमलेश महर्जनले सो ढुंगामा भक्ति थापादेखि २०४६ सालसम्मका शहीदहरूलाई दुरुस्त उतार्नुभयो। उहाँहरूले १२ शहीद र ज्ञात अज्ञात शहीदकोे प्रतिनिधिको रूपमा एक महिला र एक पुरूषको अमुक आकृति समावेश गर्नुभयो। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ माघ १७ गते शहीद स्मारकको अनावरण गर्नुभएको थियो। ढुंगामा भीमसेन थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको आकृति कोरिएको छ।  त्यस्तै, ढुंगामा भीमदत्त पन्त, वीरेन राजवंशी, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार वान्तवा, प्रभाकर पौडेलको मुखाकृति पनि कुँदिएको छ।

यस्तै शहीद स्मारकको पश्चिम पट्टी जोडिएको स्थानमा मनमोहन बाटिका स्थापना गरिएको छ। अशोकको विरूवालाई संरक्षण गरी गुलाब बगैंचासहित आकर्षक क्यारीहरूमा विभिन्न जातजातिका सदावहार तथा मौसमी फूलहरू रोपेर यसलाई मनमोहक बनाइएको छ। जसको नाम राखिएको छ मनमोहन वाटिका।

शहीद स्मारकको पूर्वपट्टी करिब ५।७ कठ्ठा जग्गामा अध्ययन अवलोकनका लागि आउने २०० भन्दा बढी पर्यटकहरूलाई लक्षित गरी मैत्रिपार्क बनाइएको छ।  घुम्न, मनोरञ्जन र फोटो खिच्नको लागि आकर्षक बगैंचा, आर्कब्रिज, आराम कुर्सीहरू, वरपीपल चौतारी, विभिन्न रूखहरूको छाहारीलाई जोडेको कलात्मक बाटो, हरियाली दुबो, मौसमीफूलहरूका बगैंचा, सदाबहार फूलहरू सजिएको छ। विशेष गरी बालबालिकाहरूलाई खेल्न र फोटो खिच्नको लागि आकर्षक सामग्रीहरू समेत त्यहाँ राखिएको छ।

सो स्थानमा झोलुङ्गे पुल निर्माण भएको सुन्दा अनौठो पनि लाग्न सक्छ। शहीद स्मारक र मदन स्मारकलाई जोड्ने गरी करिब ६५ मिटर लामो झोलुङ्गेपुल निर्माण गरिएको छ। जसमा आधुनिक प्रविधि जडान गरिएको छ, पुलमा प्रवेश गर्न ? १० रुपैयाँको क्वाइन खसाले पछि मात्र खोलिने अटोमेटिक गेट रहेको छ। पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको यो झोलुङ्गे पुलको २०७२ माघ १६ गते शहीद दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो।

यस्तै शहीद स्मारक वाटिकास्थित चिडियाघर त्यहाँको अर्को आकर्षणको केन्द्र हो। गेटबाट शहीद स्मारक बाटोको पूर्व पट्टी करिब तीन बिगाह क्षेत्रफलमा अवस्थित चिडियाघरमा अस्ट्रीचसहित घडियाल गोहीचितुवा, चित्तल, रतुवा मृग, रातो बाँदर, ढेडु, खरायो, कछुवा (विभिन्न जातका), बेलायती मुसा, हुचिल (विभिन्न जातका), गिद्ध, लक्का परेवा लगायत विभिन्न जीवजन्तु र पन्छिहरू केही खुल्ला तर बन्द कोठामा रहेका छन्।

त्यस क्षेत्रमा निर्माण गरिएको प्रजातान्त्रिक पार्क पनि त्यहाँ थपिएको आकर्षणको अर्को केन्द्र हो। सो स्थानमा ऐतिहासिक प्रजात्रान्त्रिक आन्दोलनका अगुवा सर्वमान्य व्यक्तित्व जसले आफ्ना जीवन बिना दाग आन्दोलन मै समर्पित गर्ने योद्धाहरू स्व. विशेश्वरप्रसाद कोइराला, स्व. मनमोहन अधिकारी, स्व.पुष्पलाल श्रेष्ठ र स्व. गणेशमान सिंहको पूर्ण कदको प्रतिमा, आकर्षक बगैंचा, वाटर फाउण्टेनसहितको प्रजातान्त्रिक पार्क निर्माण भएको छ।

जननेता मदनकुमार भण्डारीको स्मृतिमा निधन भएको स्थान दास ढुङ्गाको दृश्य प्रतिविम्बित हुनेगरी सूर्यको पृष्ठभूमिमा तराई, पहाड, हिमालसहितको टाकुरामा वक्ता मुद्रामा मदन प्रतिमा र सँगै जोडिएको माटोको पहाड, हरियो दुबो, फूलका क्यारी र सजावटी बिरूवासहितको मदन वाटिका त्यहाँको अर्को आकर्षणको केन्द्र हो।

यसैगरी झरना पार्क (जेट फाउन्टेन), मालाकार क्यारी, मदन स्मारकमनोरञ्जन पार्क, पौडीपोखरी, थाहा स्तम्भपर्यटन सूचना केन्द्र, धरहरा पार्क, मुख्य प्रवेशद्वार, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, जातीय संग्रहालय, आवसीय ट्रेनिङ सेन्टर (अतिथि गृहं), रजत जयन्ती स्तम्भनर्सरी ग्रिन हाउस  पिकनिक स्थल, देवी मन्दिर पनि त्यहाँ निर्माण गरिएका छन्।

आगामी दिनमा पर्यटक २४ घण्टा घुम्न सक्ने गरी पूरै सहिद स्मारक वाटिकालाई व्यवस्थित लाइटिङ तथा आधुनिक ‘लाइट टावर’ निर्माण गर्न लागिएको जानकारी शहीद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले दिनुभयो।

यसैगरी  प्रतिक्षालय, विश्राम स्थल, कलात्मक गेट, दृश्यावलोकन टावरलगायतका विभिन्न संरचनाहरू निर्माण भएका छन्।

शहीद स्मारक वाटिका स्थापना हुनु भन्दा पहिल्यै स्थापित रहेको पुण्यक्षेत्रलाई पक्की बाटो तथा अन्य कुनै माध्यमबाट जोडी ऐतिहासिक र धार्मिक महŒव बोकेको यस स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न आर्कषक ताल, ध्यानकेन्द्र, आश्रम स्तरीकरण तथा सुन्दर फलफूल बगैंचाको निर्माण गरी स्मारक आउने पर्यटकहरूलाई उक्त स्थानसम्म पुर्‍याउने लक्ष्यसमेत  लिइएको छ।

यस्तै बालबालिका, वयस्क र बृद्धाहरूलाई समेत लक्षित गरी आधुनिक मनोरञ्जनात्मक खेल, स्मारक पूरै र पुण्यक्षेत्रसम्म पुग्ने मोनोरेल तथा रेल, रोलरकोस्टर, केबलकार, जीप लाइन जस्ता पर्यटकलाई आकर्षण गर्ने संरचना निर्माणको लागि निजी क्षेत्रसँग समन्वय गरिरहेको पनि न्यौपानेले बताउनुभयो।

राजनीतिक संघर्ष गरी २०४६ सालमा बहुदलीय प्रजातन्त्र प्राप्त भयो त्यसपछि हामीले २०४७ सालमा तत्कालीन शहीदहरूको स्मृतिमा वृक्षारोपण गर्यौं र शहीद स्मृति बाटिका भनेर नाम दियौं। त्यसवेला यो ठाउँ देख्दै विरक्त लाग्ने रातोमाटोको डाँडा थियो। डाँडा पूरै उजाड थियो।’ समितिका अध्यक्ष पौडेल स्मरण गर्दै अगाडि भन्नुहुन्छ सुरुदेखि नै मास्टर प्लान नबनाइ जति बजेट हुन्छ त्यही अनुसार यसलाई क्रमागत रूपमा विकास गर्दै लगिएको हो।

उहाँका अनुसार शहीद स्मारक वाटिका राजनीतिक चेतले निर्माण सुरु गरिएको थियो। विस्तारै पर्यटन, पर्यावरण र वनसँग जोड्दै लगियो। राजनीतिक चेतबाट प्रभावित भएर सुरु गरिएको शहीद स्मारक वाटिकालाई पछि समृद्धिसँग जोड्न सफल भयौं। यसर्थ यो एउटा राजनीतिक र आर्थिक क्रान्तिको पूर्ण प्याकेज हो समितिका अध्यक्ष पौडेलले भन्नुभयो। 

श्रोत : आइएनएस्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?