चन्द्र र जीवन पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो हुनुभएको छ । उहाँहरूले निर्धारित १२० मिटर दूरी एक मिनेट २२ सेकेण्डमा पूरा गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (एक मिनेट ३२ सेकेण्ड) दोस्रो तथा नेपाल माझी उत्थान संघ, सिन्धुलीका दीपक माझी र साजन माझी (एक मिनेट ३३ सेकेण्ड) तेस्रो हुनुभयो । शीर्ष तीनस्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो बन्नुभयो । उहाँहरूले निर्धारित १२० मिटर दूरी एक मिनेट ५३ सेकेण्डमा पार गर्नुभयो । नेपाल माझी उत्थान संघ, रामेछापका रामबाबु माझी, कुश्मान माझी, काले माझी र भरत माझी एक मिनेट ५९ सेकेण्डमा दोस्रो हुनुभयो ।

तेस्रो स्थानका नेपाल माझी उत्थान संघ, रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझीले दुई मिनेट १२ सेकेण्डमा दूरी पूरा गर्नुभयो । पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनुभयो । डुंगा प्रतियोगिताको सिंगल्समा दुईजना र डबल्समा चारजनाले खेल्न पाउने प्रावधान राखिएको थियो ।

मन्थली नगरपालिकाको सहयोग तथा नेपाल माझी उत्थान संघ, रामेछापको समन्वयमा भएको एकदिने प्रतियोगितामा १०० खेलाडीको सहभागीता थियो । प्रतियोगिताको राखेप सदस्य-सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै पराम्परागत खेलको जर्गेना गर्ने उद्देश्यले राखेपले प्रतियोगिता आयोजना गरेको बताउनुभयो । विजेतालाई मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?