सहयोग बढाउन स्विस सरकारलाई आग्रह

Read Time = 2 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालस्थित स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले भेट गर्नुभएको छ । मन्त्रालयमा मंगलबार भएको भेटमा स्विस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको भन्दै उहाँले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्यमा जोड दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा वृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ । यी विषयमा नेपाल र स्विस सरकार सहकार्य गरेर जानुपर्छ ।’ राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्विस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग टनेल एवं टर्वाइनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ ।’ भेटमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बाबुराम भण्डारी र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?