उडान बन्द गर्ने निजी एयरलाइन्सको चेतावनी, निर्णयबाट पछि नहट्ने क्यानको अडान

Read Time = 7 mins

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएको छ । सरकारले हतारमा ल्यान्डिङ तथा पार्किङमा नयाँ व्यवस्था गरेपछि मंगलबार पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो । नागरिकको दैनिक जीवन र सुरक्षा तथा राष्ट्रको विपद् व्यवस्थापनसँग समेत जोडिएको वायुसेवाजस्तो अति संवेदनशील क्षेत्रमा वायुसेवा सञ्चालक संघलाई बेवास्ता गरी सामान्य छलफलसमेत नगरी एकतर्फीरूपमा सरकारले ल्यान्डिङमा नयाँ व्यवस्था गरेको संघको आरोप छ ।

क्षेत्रीय विमानस्थलको बढोत्तरी तथा स्तरोन्नति भए पनि जहाज तथा हेलिकप्टरको मर्मतसम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षलगायत अन्य विविध भौतिक पूर्वाधार विकास भइनसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक रात्री विश्राम गरी उडान भर्न असमर्थ रहेको संघका अध्यक्ष रामेश्वर थापाले बताउनुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट (क्यान) को उक्त निर्णय खारेजीको माग गर्नुभएको छ ।

संघले समस्याको दीर्घकालीन समाधानका लागि भन्दै विभिन्न पाँचबुँदे माग अघि सारेको छ । जसमा विमानस्थल सेवाशुल्क नियमावली २०७४ मा यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नोमिनेसनलगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालन गर्न दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि हृयाडरलगायतका भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने, २०७९ असार ५ गतेको विज्ञप्तिमा उल्लेखित आधार (अपरेटिङ बेस) को प्रावधान हवाई जहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीको हकमा खारेज गरी हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका विमानस्थलबाट सम्पूर्ण विमानसेवा कम्पनीले बिनाअवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने रहेका छन् ।

त्यसैगरी नियामक निकाय र सेवा प्रदायकका रूपमा एउटै निकाय क्यानबाट हुँदै आएका कारण युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकाले नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार तथा क्यानबाट यथाशीघ्र पहल गरिनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचना यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने माग रहेका छन् । उल्लेखि माग सम्बोधन नभएसम्म संघमा आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीले प्रदान गर्दै आएका आपत्कालीन उद्धारलगायत नियमित उडान बुधबारदेखि स्थगित हुने संघले जनाएको छ ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप बढेपछि विमानको बसाइ सार्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जिकिर गरेको छ । क्यानले पनि सोही दिन पत्रकार सम्मेलन गर्दै जनताले वायुसेवा प्रदायकका कारण दुःख पाउने अवस्था आएमा चुप नलाग्ने चेतावनी दिएको छ ।

क्यानका महानिर्देशक प्रदिपराज अधिकारीले विमानसेवा सञ्चालकलाई आफूमात्र ठीक, आफ्ना कुरामात्र राम्रा नठान्न र सेवा बन्द गर्ने धम्की नदिन चेतावनी दिनुभएको हो । हवाई जहाजको हकमा असार १३ गतेदेखि र हेलिकप्टरको हकमा असार ७ गतेदेखि नै पार्किङको नयाँ व्यवस्था लागू गरिएको र सोको जानकारी सोमबार नै सबै हवाई सेवा सञ्चालकलाई पत्र पठाएर गराइसकेको क्यानले स्पष्ट पारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर राखिएको ठाउँ हेलिकप्टर राख्न डिजाइन नगरिएको तर सो ठाउँमा हेलिकप्टर राख्नुपर्ने अवस्था रहेको क्यानले जनाएको छ । हाल विभिन्न वायुसेवा सञ्चालकसँग ३८ हेलिकप्टर रहेकोमा २१ बाहेक बाँकी त्रिभुवन विमानस्थलभन्दा बाहिर राख्नुपर्ने क्यानको भनाइ छ । त्यस्तै विभिन्न सञ्चालकसँग हाल ५२ हवाईजहाज रहेको त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ को मात्र रहेकाले अन्य बाहिर राख्नुपर्ने क्यानले जनाएको छ ।

क्यानका अनुसार हाल न्यूनतम दैनिक उडान ३०/३५ वटा हुने गरेको छ, जसमा उडान चापका कारण फ्लाइट डिले, रद्द, होल्डिङलगायतका समस्या रहने गरेको क्यानको भनाइ छ । मोफसलमा रात्रीकालीन बसाइका लागि १० विमानस्थल योग्य रहेको र सुधारको आवश्यकता भएमा तत्काल सुधार गर्न क्यान तयार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?