स्वतन्त्रकै नाममा दल प्रस्ताव, पूर्व-सञ्चारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा, चुनाव चिन्ह घण्ट

हिमालय टाइम्स
Read Time = 12 mins

डिबी शर्मा/हिटा
काठमाडौं । सञ्चार कर्मबाट राजनीतिमा होमिनुभएका रवि लामिछानेले नयाँ दल घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गर्नुभएको हो । उहाँले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टसमेत सार्वजनिक गर्नुभयो ।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने बताउनुभयो । निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरूबाट चन्दा नउठाउने घोषणा लामिछानेले गर्नुभएको छ । लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने बताउनुभयो ।

यस्ता छन् सात व्यवस्था :

  • संवैधानिक समाजवाद
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
  • भ्रातृ संगठन र कार्यकर्तारहित
  • परिवारवाद पूर्ण रूपमा निषेध
  • प्राइमरी निर्वाचन हुने
  • राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
  • डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने

लामिछानेले आफू सभापति पदमा रहेको खुलाउनुभएको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिँदै लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको बताउनुभयो । दल दर्तापछि मात्रै अन्य सदस्यहरूको नाम खुलासा गर्ने उहाँको भनाइ छ । उहाँले आयोग पुगेर दल दर्ताको निवेदन दिनुभएको छ ।

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा भाग लिन्छौँ : लामिछाने
प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताउनुभएको छ । दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताउनुभयो । ‘प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौँ र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरूको टिम बनाउँछ,’ उहाँले भन्नुभयो, ‘त्यही लिएर हामी चुनावमा जान्छौँ ।’

उहाँले राजनीतिलाई सफा गर्न राजनीतिमा आएकाले आफू र आफ्नो पार्टीलाई आउँदो प्रदेश र संघीय चुनावमा हार्ने छुट नभएको पनि धारणा राख्नुभयो । कार्यक्रममा लामिछानेले क्षमता भएका युवाहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो । लामिछानेले व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा लागेको बताउनुभएको छ ।

लामिछानेले आफ्नो लागि निर्वाचन क्षेत्र निश्चित गरिनसकेको बताउँदै देशभरि भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताउनुभयो । लामिछाने नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धाराबाट सञ्चालनमा आएको छ ।

‘व्यवस्था हैन, जनताको अवस्था बदल्नु छ’
लामिछानेले आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताउनुभयो । जनतालाई कुनै ठूला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । ‘हामीले जहिले पनि बेकारमा सरकारी अड्डाहरूमा झन्झट बोक्नुपर्ने अवस्था आएको छ । यहाँ ठूलाठूला आयोजना, ठूलाठूला योजना र ठूलाठूला सपनाको कुरा छोडिदिऔँ,’ उहाँले भन्नुभयो, ‘बिचौलियारहित सरकारी अड्डा र ढिलासुस्ती नगरी, कसैलाई नचिनी जान पाए पनि आम मान्छेको जीवन सहज हुन्थ्यो । म यहाँ कुनै पनि व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई कुनै पनि व्यवस्थाले यदि कसैसँग हिम्मत साहस, आँट र भिजन छ भने नागरिकलाई सुख दिन सक्छ भन्नेमा पूर्ण विश्वास छ । मलाई कुनै व्यवस्था बदल्नु छैन, मलाई तपाईंहरूको अवस्था बदल्नु छ ।’

यसैबीच लामिछानेले मंगलबारबाटै नयाँ पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको बताउनुभएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय शुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गर्नुभएको हो ।

आजीवन रविको पार्टीमा नरहने दाजु हरिशरणको घोषणा
रवि लामिछानेले घोषणा गरेको नयाँ दलमा आजीवन नलाग्ने दाजु हरिशरण लामिछानेले बताउनुभएको छ । मंगलबार रविले दल घोषणा गरेपछि बधाई दिँदै हरिशरणले पार्टीको नीतिअनुसार आफू आजीवन पार्टीमा नरहने बताउनुभएको हो । परिवारवाद निषेध गरिनु राम्रो प्रयास भएको भन्दै उहाँले भन्नुभएको छ, ‘कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुण्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता अप्रमाणित भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला । पछि आपसी माया प्रेममा परी बिहेबारी भई कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है । राजनीतिक रूपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु । स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन ।’

रवीन्द्र मिश्रको सुझाव- हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर
विवेकशील साझा पार्टीका पूर्व–अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाव दिनुभएको छ । मंगलबार रविले पार्टी घोषणा गरेपछि मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमजोरीबाट पाठ सिक्न अनुरोध गर्नुभएको हो । ‘तिमी सानै हुँदादेखि चिनेकाले मैले तिमी भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पछौँ तिमी । मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी, मिश्रले भन्नुभएको छ, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’

स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो, आयोगले दर्ता गर्नुहुँदैन : थापा
नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले प्रस्तावित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताउनुभएको छ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले आयोगले दर्ता गर्न नहुने टिप्पणी गर्नुभएको हो । स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत भएको उहाँको भनाइ छ । ‘कानुनत ः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो । व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउने गरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उहाँले भन्नुभयो, ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुने गरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन ।’

स्वतन्त्र अभियान गिजोलियो
यसपालिको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले निकै चर्चा पाए । स्थापित दलका उम्मेदवारलाई हराउँदै केही उम्मेदवार निर्वाचित पनि भए । मुलुकको राजधानी काठमाडौंमा समेत स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुनुभयो । धरान, धनगढीलगायत ठूला शहरमा पनि स्वतन्त्रले बाजी मारे । उनीहरूको जितबाट स्वतन्त्र उम्मेदवारी घोषणाको लहरै चलेको छ । स्वतन्त्रको लहर चलेको बेला रविले दलकै नाम स्वतन्त्र प्रस्ताव गरेपछि आलोचनासमेत भइरहेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले राष्ट्रिय भेलाको तयारी गरिरहेकै बेला रविले स्वतन्त्र नामबाटै दल प्रस्ताव गरेपछि कतिपयले यो अभियानलाई नै गिजोलेको भनेर टिप्पणी गरेका छन् । दलकै नाम स्वतन्त्र हुने भएपछि वास्तविक स्वतन्त्र उम्मेदवार पनि अब रविकै पार्टीको मान्छे कहलिने हो कि भनेरसमेत टिप्पणी भइरहेको छ । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले आगामी असार १७ र १८ गते काठमाडौंमा राष्ट्रिय भेलाको तयारी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?