✍️ विश्नाथ खरेल
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा मुलुकमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । यसको साथै राज्यले कृषिप्रधान देश भने पनि भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कूल आयातको करिब एक तिहाइ अंश प्रत्यक्ष कृषीजन्य उत्पादनको रहेको छ । यसर्थ सरसर्ती हेर्ने हो भने देशको ६६ प्रतिशत किसानको मुख्य आयस्रोत कृषि नै रहेको देखिए पनि ६० प्रतिशत किसानले आफ्नो उत्पादन वर्षभरि खान अपुग भएको बताएका छन् ।
यसर्थ सातौं राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवारलाई समेटिने कार्यक्रम रहेको बुझिएको छ । गत वैशाख ६ गतेदेखि १९ गतेसम्म सातौं राष्ट्रिय कृषि गणना २०७९ सुरु भएको थियो । यस कार्यक्रमको लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको भएिको छ । यस पटकको राष्ट्रिय कृषि गणनाको नारा ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ रहेको छ । यसरी यस कार्यक्रम अनुसार ७७ जिल्लाका ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरघरमा पुगेर कृषि गणना सुरु गरिने भएको छ । यस कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागले बताएको छ ।
नेपालमा पहिलो कृषि गणना विक्रम सम्बत् २०१८ सालमा भएको थियो । यसअघि विक्रम सम्बत् २०२८ मा दोस्रो, २०३८ मा तेस्रो, २०४८ मा चौथो, २०५८ मा पाँचौं र २०६८ सालमा छैटौं कृषि गणना भएको थियो । यसरी केन्द्रीय तथ्यांक विभागले प्रत्येक १०/१० वर्षको अन्तरालमा कृषि गणना सुरु गर्दै आएको छ । यो विक्रम सम्बत् २०७८ को सातौं कृषि गणना हो । फलतः विश्वव्यापी कोरोनाको कारणले गर्दा अलि ढिला हुन गएको हो । यसर्थ राष्ट्रिय जनगणना सुरु भएको ६ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
यसको साथसाथै यस पटकको कृषि गणनामा वैज्ञानिक विधिले छनोट गरिएका कूल तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने भएको छ । यस तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । यसै क्रममा सातौं कृषि गणनामा गणकले किसानको संख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको संख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बिउबिजनको प्रयोग आदिका बारेमा तथ्यांक बाहिर आउने भएको छ ।
यसै क्रममा संकटमा रहेका रैथाने पशुपक्षीको तथ्यांक, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन गर्नेछन् । यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रूपमा बाँझो जमिनको तथ्यांक संकलन गरिने भएको छ । यसअघिको कृषि गणनाले १० लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख छ । यसरी विज्ञहरूका अनुसार दिनप्रतिदिन राष्ट्रमा बाँझो जग्गाको आँकडा फराकिलो बन्दै गएको बताएका छन् ।
नेपालमा सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ सम्ममा गाईगोरुको संख्या ७५ लाख, भैंसी ५२ लाख, भेडा ८१ लाख, बाख्रा १ करोड, बंगुर १५ लाख र कुखुरा ८ करोड रहेको छ । त्यसरी नै अधिल्लो कृषि गणनाको तथ्यांकमा २२ प्रतिशत कृषक परिवारले कृषि ऋण पाएको जनाएका छन् भने ४२ प्रतिशत कृषकले ऋण चाहिएको बताएका छन् । त्यसरी नै विगत अर्थात पाँचौं कृषि गणना १० वर्षअधि कृषक महिला ८ प्रतिशत मात्रै रहेकोमा छैटौं राष्ट्रिय कृषि गणनामा १९ प्रतिशतले बृद्धि भएको छ ।
समग्रमा भन्नुपर्दा राष्ट्रिय कृषि गणनाको महत्व बहुआयामिक छ । यसले संस्थागत रूपमा तीनै तहका सरकारको नीति तथा कार्यक्रममा उपयोगी भूमिका खेलेको छ । यसले कृषि क्षेत्रको समस्या त्यसको पहिचान अनि सोहीअनुसारको कार्यक्रम तर्जुमा गर्न सहयोगी भूमिका रहन्छ । यसर्थ तीनै तहका सरकारलाई योजना तर्जुमा, अनुगमन, मूल्यांकन गर्न यसले सहयोग पुग्छ । अतः कृषि परियोजना सञ्चालन गरिरहेका विभिन्न संघसंस्था, यस क्षेत्रको नीति निर्माणकार्य संलग्न व्यक्ति र संस्था, विद्यार्थी, अनुसन्धानकर्ता र सञ्चारजगत् सबैका लागि उत्तिकै महत्व रहनेछ । त्यसैगरी तथ्यांकको खण्डीकृत रूपमा पनि यसको महत्व रहेको छ ।
त्यसैगरी सरकारको पन्ध्रौं पञ्चवर्षीय योजनाको उद्देश्य, लक्ष्य र नीति तथा कार्यक्रमलाई यस गणनामा प्राथमिकतामा राखी कृषि गणनाको अवधारणा र निर्देशिका समेत तयार भएकाले सोहीबमोजिमको नतिजा एवं प्रतिवेदन विश्लेषणात्मक रूपमा प्रकाशित गरिने हुनाले समेत यस गणनाको महत्व छ । त्यसैगरी नेपाल सरकारले कृषिसँग सम्बन्धित लामो तथा छोटो अवधिका रणनीतिक एवं दीर्घकालीन कार्यक्रमका लागि समेत यो सहयोगी भूमिकामा रहन्छ । दिगो विकास लक्ष्यका विभिन्न सूचकमध्ये भोकमरी, खाद्य असुरक्षा, ग्रामीण गरिबीको अन्त्यसँग सम्बन्धित नतिजासमेत यस गणनामा समावेश हुन्छ ।
त्यसैगरी पछिल्लो महामारीका रूपमा कोभिड १९ को सन्दर्भमा समेत कृषि गणना महत्वपूर्ण छ । कोभिड १९ को महामारीले आक्रान्त क्षेत्रमध्ये कृषि क्षेत्र पनि एक हो । यसले लकडाउन र बाहृय तथा आन्तरिक पर्यटकको कमीले तरकारी, फलफूल, दूध तथा मासुको बजार खस्किएर किसान मारमा परेको तथ्यांकसमेत संकलन गरिने हुँदा कोभिडको कारण व्यवसाय एवं जागिर गुमाएर गाउँ फर्केका युवालाई नयाँ सोचका साथ रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्ने छ । यसका साथै तथ्यांक विभागका अनुसार सबभन्दा बढी कृषि क्षेत्रफल भएका जिल्लाहरूमा मोरङ, झापा, सर्लाही, सिरहा र सुनसरी रहेका छन् भने कम क्षेत्रफल भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।
त्यसैगरी तरकारी बालीको धेरै क्षेत्रफल भएका जिल्लाहरूमा इलाम, झापा, चितवन, धादिङ र मोरङ रहेका छन् । देशमा कूल ३८ लाख ३१ हजार कृषक परिवार रहेकोमा १ लाख १६ हजार परिवारले भने खेती नै नगरेको पाइएको छ । तर, विगत दश वर्षको तुलनामा कृषक परिवारको संख्या ४ लाख ६७ हजारले वृद्धि भएको उल्लेख छ । त्यस्तै कृषक परिवारको चलनचल्तीमा २५ लाख २५ हजार हेक्टर जग्गा रहेको अनुमान छ जुन दश वर्षअघिको तुलनामा १ लाख २९ हेक्टरले कमी हो ।
देशमा कृषि पेशा रूपान्तरण हुनुका साथै पछिल्लो समयमा भएको जग्गा प्लटिङ र गाउँ-गाउँमा विस्तार हुँदै गएको बाटोघाटोले गर्दा अस्थायी बालीहरूको क्षेत्रफल घट्दै गएको देखिएको सम्बन्धित क्षेत्रको भनाइ छ । यसर्थ किसानहरूलाई बढी फाइदा हुने खेतीतर्फ लाग्नु, सदरमुकाम तथा खेतीयोग्य जमिनहरूमा घरजग्गा प्लटिङले स्थान लिनुलगायत कारणहरूले यी बालीको क्षेत्रफलमा कमी आएको हो । विभागद्वारा सावर्जनिक गरिएको तथ्यांक अनुसार अन्न बाली नौ प्रतिशतले घटेको छ भने धान, गहुँ, मकै, कोसे÷दाल, जौ, फापर, तोरी बालीको क्षेत्रफल घटेको देखिएको छ ।
हाम्रो देशको सन्दर्भमा भन्ने हो भने सर्वप्रथम विसं २०१८ सालबाट सुरु भएको कृषि गणना प्रत्येक दश वर्षमा हुने गरेका भए पनि यस पटकको सातौं कृषि गणना बढी वैज्ञानिक भएको सम्बन्धित क्षेत्रको दाबी रहेको छ । यस तथ्यांकबाट सरकारी तथा गैरसरकारी कृषि क्षेत्रका योजनाकारले विभिन्न योजना तर्जुमा गर्न यसले निकै नै सहयोग पु¥याउने कुरामा अपेक्षा राख्न सकिन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका