नेपाल-भारतको सम्बन्धका बारेमा यदाकदा अनेकौं प्रकारका प्रश्न उठ्ने गरेको देखिन्छ । समुद्रले, पर्वतले ठूला कुनै खाडीले न छुट्याएको ठाउमा, पृथ्वीलाई मान्छेले अनेकौं प्रकारका सीमा बनाएर विभाजन गर्ने प्रचलन राज्यव्यवस्थाको उदय भएपछि नै सुरु भएको हो ।
यसभन्दा पहिले जब मान्छे अनेकौं समूह (कविला) मा बस्न थाल्यो त्यसपछि एक समूहबाट अर्को समूहका बीचमा अन्तराल (खाली) ठाउँ बनाएर काम चलाइन्थ्यो । आज पनि नेपाल र भारतको सीमा यसै प्रकारमा रहेको देखिन्छ । एकै घरका दाजुभाइ भिन्न भएर (छुट्टिएर) बस्न लाग्दा कतै खाली ठाउँ, कतै टाटी, फरिका र कतै पर्खाल र आली बनाउने प्रचलनले प्रश्रय पाउन थालेको थियो ।
मान्छेको संख्या जति बढ्दै गयो त्यति नै समस्या र दृष्टि पनि देखापर्दै जान थालेका हुन् । थारो बाँध्ने प्रचलन थियो । आज राज्यको उदय भएकाले जनता, निश्चित भूभाग, सर्वभौमता र सरकार यी चारवटा तत्वलाई राज्योत्पत्तिका आधारभूत कुरा मानियो । राज्यको उदयभन्दा पनि धेरै पहिले प्रकृति र त्यसका सन्तानले आत्मसात गरेको संस्कार, संस्कृति र धर्म त्यो धर्मका पनि केही प्रतीक तीर्थस्थल, देवमन्दिर, नदी आदिका कुरालाई त्यो मान्ने जतिले आफ्नो अव्याहत गतिको भूमि ठानेर आएको इतिहास पनि देखिन्छ । हिन्दूका चार धाम र मुसलमानको मक्का मदिना तथा क्रिश्चियनका निमित्त जेरुसलेम, भ्याटिकन सिटी यसका केही उदाहरण मानिन्छन् ।
नेपालभारतले राजनीतिक सीमा बनाए पनि यसको राजनीतिक प्रयोग अति नै नगन्य रूपमा मात्रै भएको हुने गरेको पनि हामी सबैले अनुभव गरेका छँदैछौं । धेरै नेपाली भारतमा श्रम गर्ने पनि छन् । त्यसैगरी धेरै भारतीय नेपालमा श्रम गर्ने छन् । त्यहीँ घरजम गरेर बसे पनि नेपाली नागरिकता कायमै राखेर बसेका पनि पाइन्छन् । त्यहाँका धेरै मान्छे नेपालमा पनि भारतकै नागरिक भएर बस्ने गरेका भेटिन्छन् । नेपाल र भारतको सम्बन्ध राजनीतिले निर्माण गरेको होइन । बेलायती उपनिवेश भारतमा नआएको भए र नेपालमा जस्तै कुनै एउटा राजाले भारत-भूमिलाई पनि अधिराज्य बनाउन सकेको भए शायद आज नेपाल र भारत जेजस्तो अवस्थामा देखिन्छन् त्यसभन्दा भिन्न देखिने थिए ।
राजनीतिले भारतलाई औपनिवेशिक परिवेशबाट एउटा विशाल भू-भाग र सर्वतन्त्र स्वतन्त्र प्रजातान्त्रिक गणतान्त्रिक देशका रूपमा विकसित गरायो । नेपाल लामो समयसम्म राजतन्त्र नै पालेर बस्यो र आज यो पनि लोकतान्त्रिक संघात्मक गणतान्त्रिक व्यवस्थामा रूपान्तरित हुन पुगेको छ । अन्यान्य दुई देशको जस्तो नेपालभारत सम्बन्ध ठान्दा समस्या पैदा हुन्छ । यहाँको सम्बन्ध एका घरका दाजुभाइ छुट्टिएर बसेजस्तो छ । भारत पनि हिन्दूआर्य बहुल भएको देश हो भने नेपाल पनि हिन्दूआर्य नै बहुल भएको देश हो । दुवैका दुवै देशमा तीर्थस्थल छन् । भारतीयहरू पशुपतिनाथ, वराहक्षेत्र, मुक्तिक्षेत्र, जनकपुर तथा लुम्बिनी तीर्थका निमित्त आउँछन् ।
नेपालीहरू काशी विश्वनाथ, बदरीकाश्रम (बद्रीनाथ) केदारनाथ, हरिद्वार, ऋषिकेश, रामेश्वरम्, वैष्णोदेवी तिरुपति बालाजीलगायत धामको भ्रमण र दर्शन गर्न जान्छन् । आर्यधर्मावलम्बीले गंगा स्नान नगर्नु जस्तो महापाप केही छैन । पुराणले मात्र होइन स्मृतिले ‘जीवितो वाक्यकराणात् क्षयाहे भूरिभोजनं गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता’ बाँचुन्जेल पिताले भनेको कुरो पुर्याउने । मरेपछि पितृका नाममा ठूलो भोजभतेर गर्ने र गयामा गएर पिण्डदान गर्नाले नै छोराको धर्म पूरा हुन्छ भनेको पाइन्छ । गया भारतमा पर्दछ त्यहाँ गएर श्राद्ध नगरेसम्म पितृ मुक्त हुँदैनन् भनेर स्मृति र पुराणले उद्घोष गरेका छन् ।
घरमा मरुमारु भयो भने घाटमा लगेर लास जलाएपछि अस्थि सञ्चय गरेर त्यसलाई सेलाउन नेपाली क्षत्रीबाहुनले अस्तु लिएर गङ्गा जाने प्रचलन छ । मुक्तिका निमित्त काशीमा गएर कल्पवास गर्ने प्रचलन छ । चार धाम गरेर ब्रहृम कपाली गर्ने पनि चलन छ । संस्कृतिका दृष्टिले नेपालभारतलाई अलग गर्न सकिँदैन । ब्रहृमा, विष्णु र शिवलाई अलग या पृथक जसले देख्छ त्यो घोर नर्कमा पर्छ भनिन्छ । यिनै त्रिदेवका स्थान, चरित्र र अवतरितस्थल पनि दुवै देशमा फैलेर रहेका छन् ।
राजनीतिले मानव सम्बन्धमा दुःखद् स्थिति ल्याएको पनि हामीले देखेका छौं । जर्मनीका परखालले ७०/७५ वर्षमा मात्र पर्खाल ढलेपछि आफन्तसँग भेट गरेका दृश्य कति मर्मस्पर्शी थिए एक पल्ट सम्झने प्रयत्न गरौं । आजको विश्वमा धर्म र संस्कार संस्कृतिभन्दा राजनीति नै बलवान् बनेको यथार्थ पनि त्यत्तिकै स्वीकार्य छ ।
भारतमा रहेका कतिपय तीर्थस्थल कस्ता छन् भने आर्यत्वमा विश्वास भएका नेपाली एकपल्ट त्यहाँ पुग्न नपाउँदा जीवन नै व्यर्थ भएको ठान्दछन् । अयोध्या, मथुरा, माया, काशी, कान्ची, अवन्तिका र द्वारिकापुरी, यी स्थल मोक्षदायक छन् । पुराणले ‘अयोध्यामथुरामाया काशीकान्च्यवन्तिका पुरीद्वारवतीश्चैव सप्तैते मोक्षदायकाः’ भनेको भेटिन्छ । आर्यधर्मका मूल खम्बा भनेका चार वेद हुन् । ती वेदको रचना बद्री केदारदेखि ब्रहृमपुत्रको निस्सरणद्वारसम्मका हिमाली कन्दरामा तपस्यानिरत ऋषिहरूले गरेका हुन् भन्ने विश्वास गरिन्छ । अमरनाथको दर्शन गर्न नपाउँदा अहिले महामारीका कारणले धेरै हिन्दूको मन खुम्चिएको छ ।
योगी योगानन्दको पुस्तक सबैले पढेकै हुनुपर्छ । त्यसरी नै ‘हिमाल कहरहा है’ भन्ने पाइलट बाबाका पुस्तक पनि धेरैले पढेका छन् । त्यहाँ हामीले देख्ने जगत्भन्दा धेरै ठूलो र शक्तिशाली सूक्ष्मजगत् रहेको सप्रमाण प्रस्तुत गरिएको पाइन्छ । एक प्रकारले भन्दा भारतीय उपमहाद्वीपको सभ्यता निर्माण नै यिनै योगी, वैरागी र सन्यासी, त्यागीबाट भएको हो । इशापूर्व १२ हजारदेखि इपू. १५ हजार वर्षका बीचसम्मको अनुमान गरिएका अनेकौं आर्ष सभ्यताका दर्शनले यी दुवै देश परिचालित रहँदै आएका छन् । र, योगी नरहरिनाथ, खप्तड बाबालगायत अनेकौं योगीले नेपालभारतको सम्बन्धका बारेमा अनेकौं पक्षपक्षान्तरबाट व्याख्या र व्यवस्था गरेका छन् ।
राज्यको उत्पत्ति जनताको सुखसुविधाको व्यवस्थाका निमित्त भएको हो । जनताको मन रुवाएर शासन गर्न राज्य उत्पन्न भएको होइन । यद्यपि राजनीतिक दर्शन एकै प्रकारको छैन । त्यस कारणले राज्यानुशासनमा पनि अनेकता देखिएका पनि छन् । आर्यका जीवनदर्शनले पुराण, महापुराण र उपपुराण गरी ५४ प्रकारका बनाइएका पाइन्छन् । यी सबैले ‘काश्यां मरणान्मुक्तिः’ भनेर काशीको महिमा गान गरेको देखिन्छ । हुन त परिवर्तित सन्दर्भमा गौपूजक आर्यसन्तति श्वानपूजक बनेका बेला अन्य धेरै कुराको त के अपेक्षा गर्ने र ? गर्न त । बिहानै उठेर स्नान गर्दा होस् या पञ्च स्नान (मुखधुँदा) गर्दा नै किन नहोस् नेपालीहरू
‘गंगे च यमुने चैव गोदावरी सरस्वती
नर्मदे सिन्धुकावेरी जलेद्रस्मिन् सन्निधिं कुरु’ ।
भनेर उपर्युक्त पवित्र नदीका नामको उच्चारण गर्नेगर्दछन् । उता पुराण पनि ‘गंगागंगेति यो ब्रुयात् योजनानां शतैरपि, प्रक्षाल्य सर्व पापेभ्यो विष्णुलोकं स गच्छति’ भनेर गर्जन्छन् । यिनै संस्कार संस्कृति र तीर्थस्थल अनि व्रतपर्व एवं धर्मका आधारले नेपाल र भारतको सम्बन्ध अति प्राचीनकालदेखि निर्धारित भएको देखिन्छ । शिवरात्रीमा पशुपति आएका नागा बाबाले मनोवाञ्छित दक्षिणा पाएनन् भने साधिकार व्यवस्थापनका विरुद्ध बोल्छन् । त्यहां नागरिकता हेरिँदैन । ती सबै तीर्थालुलाई स्वदेशी नागरिक सरह नै व्यवहार गरिन्छ । जुनसुकै साधन र मार्ग अवलम्बन गरेर आएका भए पनि कुनै फरक पर्दैन । यसरी नै वनारसमा पनि नेपाली नम्बरी पण्डाको व्यवस्था गरिएको छ । विश्वनाथ, केदारनाथ र बद्रीनाथ धाममा नेपालीका कैयौं पुस्ताका नामावली पण्डा पण्डितले राखेका हुन्छन् ।
आजैसम्म पनि राष्ट्रदेव पशुपतिनाथका मूल भट्ट भारतीय श्रोत्रीय ब्राहृमण रहने व्यवस्था छ । यो व्यवस्था नेपालभारतका कुनै पनि सरकार तथा राजा या राष्ट्रपति या प्रधानमन्त्रीले गरेका होइनन् । यो ती महान् संस्कारका आविष्कारक महर्षिले गरेका हुन् जसले ‘पुत्रोद्रहं पृथीव्या पिता मे द्यौ, माता मे पृथ्वी’ म पृथ्वीको पुत्र हुँ, मेरा पिता आकाश हुन् मेरी आमा पृथ्वी हुन् भनेर विश्वमानवलाई आफ्नै बन्धुबान्धवका आँखाले हेर्न सिकाए । ‘मित्रस्य चक्षुषा समीक्षामहे’ यस विश्वका सबै प्राणीलाई मित्रका आँखाले समीक्षा गर्दछौं भनेर सबैलाई मित्रवत् व्यवहार गर्ने र मैत्रीपूर्ण नजरले हेर्ने कुरो हामीलाई सिकाएर गए या तपोलीन भए ।
ग्रुप, खेमा या इज्म संपोषकले कहिल्यै पनि संस्कार तथा संस्कृतिको निर्माण गर्न सक्तैनन् । कुविचार कुसंस्कार निर्माण गर्नु हुँदैन शासकले । केही वर्ष पहिलेसम्म नेपाल र भारतका शासक तहमा रहेका व्यक्तिदेखि सामान्य जनताका तहमा रहेका व्यक्तिको समेत वैवाहिक सम्बन्ध रहेको यथार्थ छ । आज पनि हाम्रा नेपालका धेरै बुहारी भारतीय छोरी छन् भने भारतीय बुहारी बनेर अनगन्ती नेपालका छोरीहरू गएका छन् । सोझो अर्थमा भन्दा यो प्रक्रियाको सुरुवात् कोशलयुवराज राम र विदर्भनगरकी राजपुत्री सीताका पालाबाट भएको त लाटाले पनि बुझ्न सक्छ । नेपाली र भारतीय शासकका बीचमा असामान्य परिस्थिति निर्माण भयो भने नेपालभारतमा रहेका समाज र तिनको संस्कार संस्कृति नै प्रभावित हुन्छ ।
‘भारत मूल हाँगाको फूल नेपाल देश हो’ यो नेपालका राष्ट्रकविको रचना हो । वैदिककालबाटै ऋषिमहर्षिहरू विचार गर्न कुनै अमोघ साधना सिद्ध गर्नका निमित्त उत्तरापन्थतिर लाग्ने गर्दथे । व्यासको आश्रम दमौली, काशी र बद्रीनाथमा रहेको वर्णन पुराणले गरेका छन् । काशीराज्यमा राज गरेर बसेका राजाका छोरा मुद्गल मनाङमा आएर तपस्या गरेर गोत्र चलाउन सफल भएका थिए । कौशिक (विश्वामित्र)को आश्रम वराहक्षेत्रमा थियो । त्यहाँ कोशीले उत्पात मच्चाएपछि वर्तमान बंगलादेशको चिटगाँवमा सरेका थिए ।
राजनीतिक रूपले आज यी देश तीनवटा भएका भए पनि ऋषिकालमा एकै भारत भूमि, सत्यभूमि र तपोभूमिका रूपमा रहेका पाइन्छन् । अतः आज पनि आवश्यक्ता छ यी देशका शासक ऋषिमनका होऊन् । जसका भाषणमा मात्र होइन आचरण र चिन्तनमा पनि उदार चरित्र देखियोस् । विश्वलाई नै आफ्नो घरआँगन ठान्न सकून् । ‘अयं नीजपरो वेत्ति गणना लघु चेतसां । उदारचरितानान्तु वसुधैव कुटुम्बकम् ।।’ यो मेरो यो तेरो लघुचरित्रवान्ले भन्छ उदार चरित्र भएकाले त सिंगो वसुधालाई नै आफ्नो ठान्दछ ।
यस्तो उच्छ लेखका स्रस्टा चिन्तक भाइलाई बधाइ छ।