‘देशको आर्थिक नीति अनुसारकै मौद्रिक नीति आउँछ’

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देश र अर्थतन्त्र केन्द्रित रहने बताउनुभएको छ । देशको अर्थतन्त्रले आयात घटाउने, उत्पादन बढाउने र विदेशी मुद्राको स्रोत बढाउने नीति लिनुपर्ने अवस्था भएकाले सोहीअनुसारको मौद्रिक नीति आउने उहाँको भनाइ छ ।

गभर्नर अधिकारीले बैंकिङ, बिमा तथा निजी क्षेत्र जिम्मेवार बनिदिएकोे खण्डमा आगामी दिन जटिलता उन्मुखभन्दा पनि सुधारोन्मुख गतिमा अर्थतन्त्रलाई लैजान सकिने बताउनुभएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारेमा विजमाण्डुद्वारा बुधबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रबाट कुल ग्रार्हस्थ्य उत्पादनको एक सय सात प्रतिशत लगानी भएको पैसा ‘रिसाइकल’ नभएको भन्दै उहाँले आगामी दिनमा बैंकिङ प्रणालीबाट चलाएको पैसा फर्किने पनि बताउनुभयो ।

बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जा स्टकमा वा स्टक रिसिभेबलमा फसेको हुन सक्ने उहाँको भनाइ थियो । कोरोना अवधिमा उद्योगी व्यवसायीले ‘ब्रेथिङ स्पेस’ खोजिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई न्याय गरेको भन्दै उहाँले त्यो समय पार गर्न जसरी सबैको सहयोग रहृयो, अहिलेको अवस्था पार लगाउन पनि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पनि सीमा हुने भन्दै उहाँले मौद्रिक नीति विश्वासको कुनै छडी नभएको बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘राष्ट्र बैंकले गोल हेरेर मौद्रिक नीति ल्याउने हो, हाम्रा अघि बजेटले टार्गेट दिइसकेको छ ।’ केन्द्रीय बैंकले कुनै क्षेत्र, वर्ग वा व्यक्ति विशेषभन्दा पनि अर्थतन्त्रको स्थायित्वका लागि मौद्रिक नीति ल्याउने उहाँको भनाइ थियो ।

उत्पादन बढाउने सन्दर्भमा अझै पनि तदारुकता नदेखाउने हो भने अर्थतन्त्र निकै जटिल मोडमा जाने भन्दै उहाँले सचेत पनि गराउनुभयो । लिट्टेसँग गृहयुद्ध लड्दासमेत दबाबमा नपरेको श्रीलंकाको अर्थतन्त्र अहिले कहालीलाग्दो अवस्थामा पुगेको भन्दैै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई पनि सही दिशामा अघि बढाउन सबै क्षेत्रलाई जिम्मेवार भएर सहयोग गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?