वैदेशिक रोजगारमा रहेकालाई कोषमा समेट्न गृहकार्य सुरु

Read Time = 6 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्न गृहकार्य सुरु भइसकेको जानकारी दिँदै एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारमा जानेलाई अनिवार्यरूपमा सामाजिक सुरक्षा योजनामा श्रम स्वीकृति दिने बेलामै समेट्न सकिने बताउनुभयो ।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्न कोषले ‘प्यासन’ का रूपमा लिएर अघि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताउनुभयो । कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्यले कानुनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गर्नुभयो ।

वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिबी क्षेत्रीले वैदेशिक रोजगारमा जाने नेपालीलाई अनिवार्यरूपमा सामाजिक सुरक्षा योजनामा समेट्न श्रम स्वीकृति दिँदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नुपर्ने बताउनुभयो । सरकारले आर्थिक वर्षको बजेटमै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको एनआरएनएले जनाएको छ ।

एनआरएनएले आफ्नो १०औँ विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरोकारवालाबीच छलफल चलाएको थियो । एनआरएनएका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षासम्बन्धी एनआरएनएको धारणा प्रस्तुत गर्दै सफल कार्यान्वयनका लागि कार्यविधि तयार पारेर दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरेर अघि बढ्नुपर्ने बताउनुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्न दुईपक्षीय समझदारी गरिने जानकारी दिनुभयो । एनआरएनएको सचिवालयमा बुधबार भएको छलफलमा कोषका कार्यकारी निर्देशक ज्ञवाली, निर्देशकद्वय अधिकारी र रोहित रेग्मी तथा एनआरएनएका कार्यकारी अध्यक्ष आचार्य, अध्यक्ष केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ, उपाध्यक्ष क्षेत्री, युवा उपाध्यक्ष राज रेग्मी, उपमहासचिव देवी बस्नेत, सचिव गंगाधर गौतम, कोषाध्यक्षद्वय लोक दाहाल र फणिन्द्र पन्त, युरोप संयोजक चिन्तामणि सापकोटालगायतको सहभागिता रहेको एनआरएनएको सचिवालयले जनाएको छ ।

आविस्कार केन्द्रलाई १२ लाखभन्दा बढी सहयोग
एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार पाँच सय ८० रुपैयाँ ४८ पैसाको चेक हस्तान्तण गरेको छ । चेक एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गर्नुभएको हो । एनआरएनएको सचिवालयमा आयोजित कार्यक्रममा एनआरएनए उपाध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभरका नेपालीले केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनुभयो ।

डा. पुनले एनआरएनएले केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्दै विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकाले त्यसको पाँच प्रतिशतमात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापारघाटा कम हुने, राजस्व वृद्धि हुने र रोजगारीसमेत सिर्जना हुने बताउनुभयोे । केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्ने पनि उहाँले जोड दिनुभयो ।

एनआरएनएले पनि केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिलाई प्लेटफर्म दिन सक्ने उहाँको भनाइ थियो । कार्यकारी अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न केन्द्र जस्ता स्थानहरू उपयुक्त रहेको ठहर गर्दै सहयोग प्रदान गरिएको बताउनुभयो । सो अवसरमा एनआरएनए युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटालगायत विभिन्न मुलुकका आइसिसी तथा एनसिसीका प्रतिनिधिका साथै गैरआवासीय नेपालीलगायतको उपस्थिति रहेको एनआरएनएको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?