प्राविधिक सहयोगका लागि ब्राजिललाई आग्रह

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपालस्थित ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । ब्राजिलले इन्धनका रूपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति एवं पर्यटन क्षेत्रका विषयमा छलफल भएको हो ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले राजदूत हार्टोगलाई सिएनआईले कृषि, सेवा, उत्पादनमूलक उद्योगको प्रवद्र्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम गर्दै आएको जानकारी गराउँदै कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गर्नुभयो ।

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत् विश्व बजारमा स्थापित हुन सकिने बताउनुभयो । ब्राजिल कफी, चिनी, भटमास, सोयाबिन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो । प्रविधि प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगति र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको सिएनआईले जनाएको छ ।

राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिँदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ । हाम्रो ज्ञान र प्रविधि नेपालको कृषि क्षेत्रको विकासका लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौँ ।’ उहाँले ब्राजिलले विकासशील मुलुकका लागि दिँदै आएको छात्रवृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने बताउनुभयो । छलफलमा नेपालबाट निर्यात हुने हस्तकलाको प्रवद्र्धनका साथै दुई देशबीच पर्यटन प्रवद्र्धनमा पनि सहकार्यलगायतका विषयमा छलफल भएको बताइएको छ । जसका लागि राजदूतले नेपाली निजी क्षेत्र र ब्राजिलको निजी क्षेत्रसँग समन्वय गराउनसमेत भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सिएनआईले जनाएको छ ।

छलफलमा सिएनआईका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, कृषि परिषद्का सभापति विकास दुगडसहित राहुल अग्रवाल, हितेश गोल्छा, सागर गौतम, सतिश श्रेष्ठ, महानिर्देशक दिपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई सम्मान
सिएनआईको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड विजेता नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । आरोही श्रेष्ठले हालै नेपालमा रहेका आठ हजार बढी उचाइका सात हिमालको सफल आरोहण गर्नुभएको थियो ।

त्यस्तै चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा लोरी चलचित्रमार्फत् स्पेसल मेन्सन अवार्ड जित्नुभएको थियो । सिएनआईका उपाध्यक्षसमेत रहनुभएका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, महानिर्देशक दिपकराज जोशीले सम्मान प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?