नेपाली कफीको निर्यात प्रवद्र्धनमा इयुको सहकार्य

Read Time = 4 mins

काठमाडौं । नेपाली कफी निर्यातमा लागि युरोपियन युनियन (इयु) ले सहयोग गर्ने भएको छ । कफीको गुणस्तरसँगै बजार प्रवद्र्धनमा समेत इयुले सहयोग गर्ने भएको हो । नेपालको वैदेशिक व्यापार प्रवद्र्धनका लागि इयु, इन्टरनेसनल ट्रेड सेन्टर (आइटिसी) को सहयोगमा सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टल सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त पोर्टलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे र इयु नेपाल ट्रेड र इन्भेस्टमेन्ट प्रोग्राम नेपालका लागि राजदूत नोना डेप्रेजले उद्घाटन गर्नुभयो ।

सचिव पाण्डेले वैदेशिक व्यापारलाई सहजीकरणका लागि कफी गाइडलाइन र पोर्टल निकै उपयोगी हुने उल्लेख गर्दै सरकार निर्यातका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च स्थान रहँदारहँदै पनि उत्पादन बढ्न नसकेका कारण मागअनुसार निर्यात गर्न नसकिएको भन्दै उहाँले पोर्टलले कफी निर्यातमा सहज बनाउने बताउनुभयो । सोही मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयले कफी र नेपाली पश्मिनाको निर्यात प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो । कफी उत्पादन बढाउन निजी क्षेत्रलाई पनि कफीखेतीमा लाग्न उहाँले आग्रहसमेत गर्नुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले पोर्टल प्रयोगकर्तालाई आयात तथा निर्यातका भन्सार दरबन्दी, भन्सार दरमा कोटा, व्यापारमा प्रतिकार गर्ने नीति तथा व्यापार सम्झौताको सूचनाको पहुँचमा सहयोगी हुने बताउनुभयो । उहाँले नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेकोे बताउनुभयो । राणाले भन्नुभयो, ‘नेपाली कफी एकदमै राम्रो भएकाले अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ तर उत्पादन कम भएकाले मागअनुुसार निर्यात गर्न सकिएको छैन, पछिल्लो समय स्वदेशमै नेपाली कफीको खपत बढेकाले यहीँको पनि माग धान्न नसकिरहेको अवस्था छ ।’

नेपालस्थित इयुकी राजदूत नोना डेप्रेजले नेपालको कफी गुणस्तरीय भएकोे युरोपको बजारले स्वागत गर्ने भन्दै सोही प्रयोजनका लागि नै इयुले प्राविधिक सहयोग गरेको जानकारी गराउनुभयो । पोर्टल तथा गाइडलाइनले खासगरी नेपाली कफी युरोप र अमेरिका निर्यातका लागि सहजीकरण गर्ने बताइएको छ ।

नेपाल व्यापार सूचना पोर्टलमा थप गरिएको मार्केट एक्सेस म्याप सुविधाले नेपाली उद्योग, व्यापार, निर्यातकर्तालाई व्यापारसँग आबद्ध निर्णय गर्नका लागि जटिल तथ्यांक पुनः प्राप्ति गर्ने एकद्वार केन्द्रका रूपमा रहेको छ । म्यापमार्फत् बजार अनुसन्धानका चार उपयोगमा सीमित आयातकर्ता, निर्यातकर्ता तथा वस्तुहरूको भन्सार दरबन्दी, भन्सार दरमा कोटा, व्यापारमा प्रतिकार गर्ने नीतिहरू, आयात तथा निर्यातका नियमनहरूको पहुँच हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?