महँगी र मलको मारमा जनता, सरकारलाई ‘हाइसञ्चो’ उपभोक्ता भन्छन्- ‘आम्दानी बढेको छैन, खर्च बढेको बढ्यै । अवस्था यस्तै रहे जीवन धान्ने कसरी हो ?’

हिमालय टाइम्स
Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । महँगी आकासिएको छ । पछिल्लो एक वर्षमा नमहँगिएको सायदै कुनै चिज होला । जनताको भान्सा महँगिएको छ । थोरै थोरै गर्दै बजार मूल्य अचाक्ली बढेको छ । उपभोक्ता भन्छन्, ‘आम्दानी बढेको छैन, खर्च बढेको बढ्यै छ । जीवन धान्ने कसरी हो ?’ चाबहिलकी गृहिणी सावित्री कुँवरका अनुसार गत असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको मूल्य अहिले प्रतिलिटर बढेर ३३० पुगेको छ ।

२४० रुपैयाँमा पाइने सूर्यमुखी र तोरी तेल लिटरको ३५० रुपैयाँ पर्छ । तेल मात्रै होइन गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो अहिले १७५ रुपैयाँ पुगेको छ । ‘एक वर्षमा मूल्य नबढेको केही छैन । महँगीले घरबार चलाउनै मुस्किल भइसक्यो,’ उहाँले भन्नुभयो, ‘आम्दानी बढेको छैन । खर्च मात्रै बढिरहदा बाँच्ने कसरी हो ? अवस्था यस्तै रहे पेट पाल्ने भान्सा पनि चलाउन सक्ने अवस्था रहन्न ।’ उहाँका अनुसार दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यमा उच्च मूल्यवृद्धि भएको छ । चामल, दाल, तेल, गेडागुडी, पीठो र मसला समेतमा मूल्य बढेको उहाँले बताउनुभयो । सबैभन्दा उच्च मूल्यवृद्धि तेल र घ्यूमा छ ।

उसो त खाद्यान्न मात्रै महँगिएको होइन । उपभोक्ताले प्रयोग गर्ने हरेक सामानमा महँगी बढेको छ । पछिल्लो समय पानीको मूल्य हृवात्तै बढेको छ । एउटा कुरामा मात्रै मूल्यवृद्धि भए पो हुन्छ सर्वत्र बढेको छ ।

सावित्रा एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । काठमाडौंमा मात्रै होइन देशैभर महँगीले आकाश छोएको छ । जनतालाई दैनिकी चलाउनै हम्मे-हम्मे परेको छ । एक वर्षको अवधिमा इन्धनकै मूल्य १० पटकभन्दा बढी बढिसक्यो । इन्धनको भाउ बढ्नु भनेको इन्धनको मूल्यवृद्धि मात्रै होइन । सिधै यातायातका साधनको भाडा बढिहाल्छ । यातायातका साधनको भाउ बढ्नु भनेको वस्तुको ढुवानी लागत बढ्नु हो ।

त्यसपछि दैनिक उपभोग्य सामान हरेकजसोको भाउ बढ्छ । उपभोग्य बाहेकका सामानमा पनि उच्च मूल्यवृद्धि हुन्छ, भएको छ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा मूल्यवृद्धि झण्डै आठ प्रतिशतको हाराहारीमा पुगेको छ । करिब ६ वर्षको अवधिमा महँगी यसपटक आठ प्रतिशतको हाराहारीमा पुगेको हो । मुद्रास्फीति सात प्रतिशत माथि छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति चार प्रतिशतमुनि थियो ।

महँगीले आकाश छुँदासमेत सरकार बेखबर जस्तै छ । जनतालाई जीवन धान्नै धौ-धौ भइरहँदा पनि सरकार र सत्तासीन दलहरू आन्तरिक भागबण्डामा रुमलिएका छन् । यी सब दृश्यले के देखाउँछ भने सरकारमा नागरिकको दैनिक जीवनयापनसँगै सरोकार राख्ने गम्भीर मुद्दामा पनि चिन्तित छैन । सरकारले महँगी नियन्त्रण गर्ने काम गरेको पनि देखिन्न ।

दल गठबन्धनको गणितमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिँदैछ : डा. भट्टराई
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मूल्यवृद्धि हुँदा पनि गठबन्धन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । राजनीतिक दलका नेता सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको उहाँको भनाइ छ ।

गठबन्धनको गणितमा लिप्त हुने तर अर्थतन्त्र र मूल्यवृद्धिको विषयमा सरकार अनिच्छुक र कमजोर रहनु विडम्बना भएको उहाँले टिप्पणी गर्नुभयो । ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अर्थमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ बुधबार सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ ∕ यो अचाक्ली महँगीले जनताको ढाड भाँचिँदैछ । खै सरकारी पहल ?’

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले नेपालमा पनि बढाउनु परेको हो : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे राष्ट्रियसभा बैठकलाई जानकारी गराउदै मन्त्री बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको बताउनुभयो ।

कसैलाई नाफा हुने नियतले नभई कानुन र नीतिगत रूपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको उहाँको भनाइ छ । इन्धनमा भएको मूल्यवृद्धिका कारण अन्य सबै क्षेत्रमा भएको मूल्यवृद्धिबारे भने उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।

महँगीसँगै मलको हाहाकार, सडकमै धान रोपेर किसान आन्दोलित
जनता महँगीको मारमा मात्रै परेका छैनन् । असार किसानका लागि मानो रोपेर मुरी फलाउने महिना हो । देशभरका अधिकांश ठाउँमा रोपाइँ सुरु भइसकेको छ । तर, किसानले मल पाउन सकेका छैनन् । देशभरका किसान मलको चर्को अभाव झेल्न बाध्य छन् । अन्नको बाला फलाएर देशको पेट भर्न दिनरात खेतमा पसिना बगाउने किसानले मल पाउन सकेका छैनन् ।

खेतीपातीको समयमा पनि मल नपाएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका छन् । बुधबार काठमाडौंको माइतीघरमा किसानहरूले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि र महँगीविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रेका किसानहरूले मलमा भइरहेको कालाबजारी अन्त्य गर्, किसानलाई तुरुन्त मल बिउको व्यवस्था गर् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै, उनीहरूले मल अभावका कारण रोपाइँ गर्न नपाइएको भन्दै सडकमा नै धानको बिउ रोपेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?