न्यायाधीश-वकिल घुस संवाद : कोइराला र पोखरेलबीचको अडियो सार्वजनिक भएपछि न्यायक्षेत्र तरंगित

हिमालय टाइम्स
Read Time = 27 mins

यज्ञराज जोसी/हिटा
काठमाडौं । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच मुद्दा मिलाउने सम्बन्धमा घुसका लागि गरिएको संवादको अडियो सार्वजनिक भएपछि न्यायक्षेत्र तरंगित भएको छ । संवादमा नेपाल बारका तत्कालीन कोषाध्यक्षसमेत रहेका अधिवक्ता पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालालाई आफूले माथिसम्म मिलाइदिने र उच्च अदालतबाट पनि आदेश सदर गराएर ल्याउने आश्वासन दिएको कुराकानी बाहिरिएपछि न्याय क्षेत्रभित्रको घुसप्रकरण उदांगिएको हो ।

सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिनाको कसुरमा पक्राउ परेका पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्नेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको वार्तालापको अडियो सोमबार ‘न्युज २४ टेलिभिजन’ले सार्वजनिक गरेको थियो । झण्डै १० मिनेट लामो उक्त अडियोमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भन्नुभएको छ । त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिनुभएको छ । सुरुमा आफ्नो जागिर जान्छ कि भनेर डराउनुभएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उहाँकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत भएको अडियो संवादबाट प्रष्ट हुन्छ ।

यस्तो थियो घुस प्रकरणसँग जोडिएको मुद्दा...
दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका व्यवसायी इच्छाराज तामाङ एमालेका पूर्व–सांसद हुन् । सिभिल सहकारीको अध्यक्ष हुँदा बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीले तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि आरोपितलाई सामान्य तारिखमा छाड्ने वा धरौटी माग्ने वा थुनामा पठाउने आदेश हुनुभन्दा पहिले थुनछेक बहस गर्ने चलन छ । मुद्दा दायर भएर तामाङमाथि थुनछेक बहस हुँदै गर्दा दुवै पक्षबीच डिल भएको संवाद बाहिरिएको हो ।

त्यसो त १४ पुस २०७८ मा तामाङ काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्ष थुनामा पुगेका थिए । उनलाई छुटाउन डिल भएकाले यो संवाद त्यही समय आसपास भएको अनुमान गर्न सकिन्छ । अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिनुभएको थियो । काठमाडौंका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि न्यायाधीश कोइरालाले तामाङलाई थुनामा पठाउनुभएको थियो । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोख्रेलबीच भएको डिलअनुरूप तामाङलाई धरौटीमा नछोडे पनि संवादमा भएको घुसको कुराले यो विषय पेचिलो बनेको हो ।

यस्तो छ सार्वजनिक भएको अडियोमा गरिएको संवादको केही अंश...
सुरुमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई फोन गर्छन् । उनले कुराकानी सुरु गरेपछि सजिलोका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामार्फत काठमाडौं जिल्लाका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडालाई खबर गर्न लगाउने बताउँछन् ।

अधिवक्ता रुद्र पोखरेल- प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।
न्यायाधीश राजुकुमार कोइराला- प्रधानन्यायाधीशलाई ?
अधिवक्ता रुद्र पोखरेल- हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन वचन खेर फाल्न जाने ? भन्नु त ।
(अधिवक्ता पोखरेलले इच्छाराज तामाङलाई धरौटीमा छाड्ने आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नै भन्न लगाउने भनी न्यायाधीश कोइरालालाई सुनाएका हुन् । त्यसका लागि उनले न्यायाधीश कोइरालाको प्रतिबद्धता खोजेका छन् ।)
न्यायाधीश कोइराला- सुन्नुहोस् न । सुन्नुहोस् न ।
अधिवक्ता पोखरेल- हत्तेरिका, तपाई डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन ? अरू मान्छे कत्रो गरेर बसेका छन् ।
न्यायाधीश कोइराला- त्यो हो कि हुनलाई । अब के भनेदेखि त्यो अब मलाई...
अधिवक्ता पोखरेल- तपाईंले यो छोड्नुभयो भने तपाईंको तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छ । यो अभियोगपत्र लगेर हेर्दा कुनचैँ माइकलालले यति पैसा खाएर ग¥यो भन्ने खालको छ र ? अभियोगपत्रै त्यस्तो बनाएर ल्याएको छ ।
न्यायाधीश कोइराला- अँ अँ । (उनी केही बोल्न खोज्छन् । अधिवक्ता पोखरेलले हस्तक्षेप गर्छन् ।)

अधिवक्ता पोखरेल- सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठेरो हुन्थ्यो । त्यहाँ ऐनका सबै कुराहरू छँदै थिए । ठगी त । केही गरी ठहरिँदै नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?
न्यायाधीश कोइराला- (अलि जोडले हाँस्छन् ।) त्यो त हो कि हजुर ।
अधिवक्ता पोखरेल- हस्तक्षेप गरेर बोल्छन् । मान्छेले यसै...
न्यायाधीश कोइराला- सुन्नु त, त्यो कुरामा म कन्भिन्स छु । तर के भनेदेखि हिजो सुन्नुभएको भएदेखि...। रोएर (उनले बचतकर्ता रोएर भनेका हुन् ।)

(न्यायाधीश कोइरालाले रोएर भनी संकेत गरेका व्यक्तिहरू सिभिल सहकारीका बचतकर्ता हुन् । उनीहरूले आफ्नो बचत डुबेको भनी प्रहरीमा उजुरी दिएका थिए र प्रहरीले इच्छाराज तामाङलाई ठगी मुद्दा चलायो । ती बचतकर्ता अदालतमै आएर रोएको भनी न्यायाधीश कोइरालाले अधिवक्ता पोखरेललाई फोनमा बताएका हुन् ।)

अधिवक्ता पोखरेल- यस्तो हो क्या हजुर । त्यो मध्येका केही मान्छे मेरा घरमा पनि आइसके । केही मान्छे अफिसमा पनि आइसके । तलाई हामी ठिक गर्छौं पनि भनिसके । बहस नै गर्नेलाई पनि नभन्ने भन्ने हुन्न । रामप्रसाद श्रेष्ठ भन्ने पनि मेरो क्लाइन्ट नै रहेछन् । १० कि १२ करोड रहेछ । रिसाउँदै आएका थिए । तपाईंलाई त इमानदार वकिल, राम्रो वकिल भनेको छु भन्थे । तामाङको पक्षमा त्यस्तो बहस गर्ने हो तपाईंले भनेर । अनि मैले हो भनेर...
...
न्यायाधीश कोइराला- सुन्नु न । सुन्नु न । बर्बाद हुन्छ नि त ।
अधिवक्ता पोखरेल- केही हुँदैन । केही हुन्न ।
न्यायाधीश कोइराला- हँ ?
अधिवक्ता पोखरेल- केही हुन्न । म माथि मनाउँछु । माथि मैले मनाएर तपाईंलाई संकेत आएन भने नगरिस्यो । माथिबाट म गराउँछु । लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिऊँ । यो अवसर सधैँ आउँदैन, हेरिस्यो है ।

(अधिवक्ता पोखरेलले माथि भनी प्रधानन्यायाधीशलाई संकेत गरेका हुन् । त्यतिबेला चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश थिए । प्रधानन्यायाधीशले जिल्ला र उच्च मात्रै होइन, सर्वोच्च अदालतमै आफैँ संलग्न इजलासका अरू न्यायाधीशलाई पनि मुद्दाका क्रममा यसो गर्नु र उसो गर्नु भनी आदेश दिन मिल्दैन । उनले प्रधानन्यायाधीश जबरालाई नै सहमत गराएर काम गराउन खोजेका हुन् ।)
न्यायाधीश कोइराला- हास्छन् ।
न्यायाधीश कोइराला- एक नम्बरलाई भन्न लगाउनु न । एक नम्बरलाई भनाउनु न । (उनले एक नम्बर भनेर संकेत गरेका न्यायाधीश राजुकुमार खतिवडा हुन् ।)

अधिवक्ता पोखरेल- भन्न लगाएँ मैले । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।
न्यायाधीश कोइराला- ल हेरौँला नि ।
...
न्यायाधीश कोइराला-धरौटी माग्ने ? कति माग्ने नि ?
अधिवक्ता पोखरेल- हजुरले कति भनिसिन्छ ? एउटा रिजनेवल भन्न प¥यो ।
न्यायाधीश कोइराला- कति भन्नु त ।
अधिवक्ता पोखरेल- १० करोडको हाराहारीमा माग्नु नि ।
न्यायाधीश कोइराला- कति ? १० करोड ? ठिक छ, हुन्छ । हुन्छ अब । (फिस्स हासेको सुनिन्छ ।) अप्ठेरो पर्दैन भनेर लागियो । (न्यायाधीश कोइराला ५० करोड धरौटी माग्ने मुडमा थिए ।)

अधिवक्ता पोखरेल- पर्दैन पर्दैन । राम्रो (हुन्छ) । सधैँ यस्तो बेला आउँदैन । अरू बेलामा गर्ने । यस्तो बेलामा एउटा दुईटा सिद्धान्त छाड्ने गर्ने । जाहेरवालाको हित भन्ने । पासपोर्ट रोक्ने । एक दुईवटा एक दुईवटा आइडिया निकालुँला न ।
न्यायाधीश कोइराला- अँ (गाह्रो मानेर हाँस्छन् ।)
अधिवक्ता पोखरेल- त्यो गरौँ । यतातिर झ्याप्राक्क २ जति लिऊ न । (उनले २ भनी गरेको संकेत दुई करोड रुपैयाँ हो ।)
न्यायाधीश कोइराला- अँ । (फेरि हाँस्छन्) ठिक छ । माथिबाट हुन्छ नि ?
अधिवक्ता पोखरेल- माथिबाट (हुन्छ) । तपाईं ए रामप्रसाद सर । अहिले मैले गएर नमस्ते गरेर मैले भनेको यति काम गर्नुपर्छ भन्दा पनि गरेन भने त यो जतिको फुटकरको हुन्छ ? पैसा खाएर लालकाजीको बारेमा यत्रो गरिरहेको छ । हैन ?
...

न्यायाधीश कोइराला- मिडियाले नारा जुलुस गर्लान् कि ?
अधिवक्ता पोखरेल- केही गर्दैनन् । नारा जुलुस केही गर्दैनन् । माथि जान्छ । माथिबाट ऊ पनि भएर आउँछ । तपाईंको आदेश सदर भएर ल्याउने सम्मको जिम्मा मेरो भयो । तपाईं किन आत्तिएको ?
न्यायाधीश कोइराला- हा हा । (गाह्रो मानेर हाँसेको सुनिन्छ )

न्यायाधीश कोइराला- त्यो त हो कि । ठिकै छ । ठिकै छ । माथिबाट भन्नु न । माथिबाट एक नम्बरबाट भन्नु न ।
अधिवक्ता पोखरेल- ठिक छ, म भन्न लगाउँछु नि त । यहाँ सुनिस्यो । माथिबाट भन्न लगाउँछु । पैसा म बेलुका समाती सक्छु ।
न्यायाधीश कोइराला- त्यही त । बुझेँ नि त । १० करोडभन्दा त धरौटी त ५० करोड रुपैयाँ भन्नुपर्छ ।
अधिवक्ता पोखरेल- ५० करोड भन्नुभन्दा त यसै थुन्दिए भैगो नि तेल्लाई । (उनले तेल्लाई भनी संकेत गरेका व्यक्ति ठगीको आरोप लागेका इच्छाराज तामाङ हुन् ।)

न्यायाधीश कोइराला- पत्रिकामा आउँछ कि ? झन् बर्बाद हुन्छ कि ? जागिर जान्छ कि ?
अधिवक्ता पोखरेल- कल्ले खान्छ जागिर ? कसरी खान्छन् जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम भयो । अनि त्यसपछाडि कसरी जागिर खान्छ ?
...

न्यायाधीश कोइराला- सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?
(जिल्ला अदालतबाट कुनै आरोपितलाई सामान्य तारिखमा छाड्ने, धरौटी माग्ने वा पुर्पक्षका लागि थुन्ने भन्नेमध्ये एउटा आदेश गरेपछि मुद्दाको पक्ष त्यसविरुद्ध उच्च अदालत र उच्च अदालतको आदेशसमेत चित्त नबुझे सर्वोच्च अदालतमा जान मिल्छ । न्यायाधीश कोइरालाले आफूले गरेको आदेश उच्च अदालतबाट सदर होला त भनी शंका गर्छन् । अधिवक्ता पोखरेलले सदर गराउने जिम्मा लिन्छन् । माथिल्ला अदालतबाट आदेश सदर हुँदा तल्लो अदालतका न्यायाधीश सन्तुष्ट हुन्छन् र सुरक्षित महसुस गर्छन् । जिल्ला न्यायाधीश कोइरालाले संवादमा त्यो सुनिश्चितता खोजेका छन् ।)
अधिवक्ता पोखरेल- कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरहरू जस्तो मानिस न्यायाधीश भएको के काम लाग्यो ?
न्यायाधीश कोइराला- हा हा ।

...
अधिवक्ता पोखरेल- के गरौँ त ? प्रधानन्यायाधीश कहाँ टाइम लिऊँ ?
न्यायाधीश कोइराला- अहिले ? भन्न मिल्छ ?
अधिवक्ता पोखरेल– शतप्रतिशत भन्छु । (उनले शतप्रतिशत शब्दमा जोड दिएका छन् ।)
न्यायाधीश कोइराला- हो ?
अधिवक्ता पोखरेल-अँ । एक नम्बरलाई बोलाएर भन्दिन्छन् ल ।
न्यायाधीश कोइराला– कल्लाई ?
अधिवक्ता पोखरेल- एक नम्बरलाई । एक नम्बरलाई भनेको होइन त हामीले ? राजुलाई बोलाएर भन्न लगाएर राजुले तपाईंलाई भन्छ ।
(जिल्ला अदालतमा कार्यरतमध्ये वरिष्ठतम् न्यायाधीशलाई एक नम्बर न्यायाधीश भन्ने चलन छ । एक नम्बर न्यायाधीशले सम्बन्धित अदालतको नेतृत्व गर्छन् । न्यायाधीश कोइरालाले एक नम्बर न्यायाधीशबाट समेत मुद्दामा गर्ने आदेशबारे सिफारिस आए आफू सुरक्षित हुने भनी आश्वस्त हुन खोजेका छन् ।)

...
न्यायाधीश कोइराला- ल ल भन्न लगाऊ न त । बोलाएर भन्न लगाऊ ।
अधिवक्ता पोखरेल- ल मैले सुरु गरेँ है । त्यहाँबाट आएपछि हजुरले पछाडि हट्न पाइसिन्न है । अरूसँग, धेरैसँग कुरा नगरिस्यो फेरि । तपाईं म मात्रै ।
न्यायाधीश कोइराला- पैसाको कुरा गर्दै गर्दिनँ नि ।
अधिवक्ता पोखरेल- अम्बिका सम्बिकासँग भयो भने त फेरि यो कहाँ पुग्छ पुग्छ ।
(अधिवक्ता पोखरेलले अम्बिका सम्बिका भनेका व्यक्ति काठमाडौं जिल्ला अदालतका अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौला हुन् । विभिन्न आदेश र फैसलाका क्रममा विवादमा मुछिएपछि उनी अहिले काजमा तानिएका छन् र न्यायपरिषद्ले उनीमाथि छानबिन गरिरहेको छ । अधिवक्ता पोखरेलले तिनै न्यायाधीश निरौलालाई नभन्नु भनी अर्का न्यायाधीश कोइरालालाई सतर्क गराएका हुन् ।)
न्यायाधीश कोइराला- तपाईं र मसँगको कुरा हो नि यो ।
(अडियोमा यतिसम्मको संवाद भएको सार्वजनिक भएको हो ।)

बारको भ्रष्टाचारविरोधी अभियानको विरुद्धमा थिए अधिवक्ता पोखरेल
नेपाल बार एसोसिएसनले चोलेन्द्र शमशेर राणालाई हटाउन आन्दोलन गरिरहेका बेला अधिवक्ता रुद्र पोखरेल प्रधानन्यायाधीशकै समर्थनमा उत्रिनुभएको थियो । सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश राणासँग उहाँको नजिकको सम्बन्ध छ । त्यसो त राणासँग निकटको सम्बन्ध बनाएका पोखरेलले अदालतमा न्यायाधीश र मुद्दाका पक्षबीच बिचौलियाको काम गरेर सेटिङमा मुद्दा फैसला गराउने गरेको कतिपय वकिलहरूको आरोप छ ।

नेपाल बारले आन्दोलन थालेपछि र सर्वोच्चका न्यायाधीशहरूले बेञ्च बहिष्कार गरेपछि त्यसलाई चुनौती दिँदै पोखरेल मुद्दा लिएर अदालतमा बहस गर्न जानुभएको थियो । उहाँले नेपाल बारले गरेको आन्दोलन बेठिक भएको भन्दै राणाको राजीनामा मागेर आन्दोलन गर्न नहुने तर्क गर्नुभएको थियो ।

अधिवक्ता रुद्र पोखरेल नेपाल बार एसोसिएसनको पूर्व-कोषाध्यक्षसमेत रहनुभएको छ । उहाँ चण्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष रहनुभएको थियो । एमाले पार्टीनिकट पोखरेलले वाम कानुन व्यवसायी समूहका तर्फबाट कोषाध्यक्ष जित्नुभएको थियो भने एमाले कानुन विभागका सदस्यसमेत हुनुहुन्छ ।

अधिवक्ता पोखरेलको प्रष्टोक्ति- ‘ममाथिको षड्यन्त्रउपर कानुनी उपचार होस्’
अडियो प्रकरणमा न्यायाधीश कोइरालासँग घुस लेनदेनको कुराकानी गरेका अधिवक्ता पोखरेलले आफूृमाथि भएको षड्यन्त्रउपर कानुनी उपचारको माग गर्नुभएको छ । लेनदेनको अडियो सार्वजनिक भएसँगै चौतर्फी विवादमा आउनुभएका अधिवक्ता पोखरेलले बुधबार नै सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हालै सार्वजनिक भएको अडियोको छानबिन होस्, यस किसिमको वार्तामा म संलग्न छैन । नेबाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानबिनमा म उचित र पर्याप्त सहयोग गर्न तयार छु । हाललाई म नेबाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु । मउपर भएको षड्यन्त्रउपर कानुनी उपचारको खोजीमा छु ।’

न्यायाधीश कोइरालाको दाबी- ‘मबाट अनुचित कार्य भएको छैन’
न्यायाधीश राजुकुमार कोइरालाले आफूले अनुचित कार्य नगरेको दाबी गर्नुभएको छ । उहाँले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो । घटनाबारे न्याय परिषद्बाट छानीबनको माग गर्दै उहाँले त्यसमा पूर्ण सहयोग गर्ने पनि बताउनुभएको छ ।

न्यायाधीश कोइरालाले फेसबुकमा लेख्नुभएको छ, ‘मबारे आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

कसुरदारलाई कानुनी दायरामा ल्याउन नेपाल बारको माग
लेनदेनको अडियोबारे विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बार एसोसिएसनले कसुरदारलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । इच्छाराज तामाङलाई छुटाउन न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको घुस लेनदेनको संवादप्रति ध्यानाकर्षण भएको जनाउँदै बारले बुधबार नै विज्ञप्तिमार्फत अडियोको आधिकारिकता र सत्यतथ्य अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउन नियमनकारी निकायसँग माग गरेको हो ।

छानबिन गर्न तीन सदस्यीय समिति
अडियो सार्वजनिकसँगै न्याय परिषद्को आकस्मिक बैठक बसेर संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकबाट परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा हुनुहुन्छ । समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने
न्यायाधीश राजुकुमार कोइरालाले ४५ दिन काम गर्न नपाउने हुनुभएको छ । बुधबारकै मितिदेखि उहाँले काम गर्न नपाउने हुनुभएको हो । न्यायपरिषद् बैठकले तत्कालका लागि उहाँलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो ।

काउन्सिलले माग्यो स्पष्टीकरण
कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो । बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उपस्थित हुन म्याद जारी गरेको हो । समितिकी सदस्य सचिव एवं परिषद्की सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताउनुभयो ।

परिषद्को अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती हुनुहुन्छ । त्यसैगरी, सदस्यमा वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानांग र बारका पूर्व–अध्यक्ष चण्डेश्वर श्रेष्ठ रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?