सञ्चारमाध्यमको छवि कसरी बचाउलान रवि !

डा. डीआर उपाध्याय
Read Time = 12 mins

चर्चित सञ्चारकर्मी रवि लामिछाने सञ्चार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेकको केही दिनमा पार्टी दर्ता गराएका छन् । उनको यो घोषणाले नेपाली राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनले यही असार ७ गते मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरे र निर्वाचन आयोगमा गएर दल दर्ता गराए । उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आबद्ध हुन आहृवानसमेत गर्दै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने पनि बताए ।

पार्टीको घोषणा कार्यक्रममा उनले केही महत्वपूर्ण सवाल अघि सारे । जसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने बताए । यस्तै निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले सुनाए । आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने रविको भनाइ थियो । यस्तै उनको पार्टीले कुनै भ्रातृ संगठन नबनाउने र व्यापारीहरूबाट चन्दा नउठाउने समेत महत्वपूर्ण घोषणा गरेका छन् ।

एक चर्चित र राम्रा प्रस्तोताका रूपमा ख्याति कमाएका रवि अब राजनीतिको दौडमा आधिकारिक रूपमा होमिएका छन् । सञ्चारकर्ममा रहँदा उनले समाजमा घटेका घटना र सानासाना विषय वस्तु टेलिभिजनमार्फत उठान गरेपछि जनताको मन जित्न सफल भएका थिए । पीडामा परेका मान्छेको आवाज बनेका थिए उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भएका थिए । उनको सञ्चार क्षेत्रको यात्रालाई सफल मान्न सकिन्छ । अब उनले राजनीति बाटो तय गरेका छन् ।

सञ्चारकर्ममा आफ्नै छवि बनाएका रविको राजनीति यात्रा कसरी अघि बढ्छ त्यो भोलिका दिनले प्रष्ट पार्ने नै छ । के उनी सञ्चार क्षेत्रमा जस्तै राजनीतिमा सफल होलान् त ? किन उनी एकाएक राजनीतिक मैदानमा हाम फाले त ? उनले कोरेको राजनीति बाटो के होला ? जनताले उनलाई साथ दिन्छन् कि दिँदैनन् त्यो भने हेर्न बाँकी नै छ । धेरैले अड्कलबाजी लगाएका थिए रवि स्वतन्त्र उम्मेद्वारको रूपमा राजनीतिमा आउँदैछन् । तर, उनी स्वतन्त्र पार्टी नै लिएर राजनीतिमा होमिएका छन् । यसले नेपाली राजनीतिमा यतिबेला सरगर्मी बढाएको छ ।

उनले आगामी संघीय चुनावमा काठमाडौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने धेरैको अडकलबाजी भएपनि उनी त पार्टीकै रूपमा अगाडि आएका छन् । के अब रविको यो कदमलाई आमजनताले साथ देलान् त ? योे कुरा त चुनावी परिणामले देखाउने नै छ । अहिले बोल्नुको कुनै अर्थ छैन । जे होस् आँट उनले ठूलै गरेका हुन् ।

राजनीति भनेको फोहोरी खेल हो भन्दै टेलिभिजनमार्फत चिच्चाइरहने रवि आखिर राजनीतिमा नै सक्रिय हुन किन खोजे ? के साँच्चै राजनीति फोहोरी खेल हो ? त्यसो भए के रवि फोहोरी राजनीतिलाई सफा गर्न राजनीतिमा आएका हुन् त ? यो कुरा उनै जानून् । राजनीतिमा युवा पुस्ताले विस्तारै सक्रियता बढाउँदै जाँदा रवि पनि सक्रिय भएको देखिन्छ । उनी आफैं राजनीतिमा आउन खोजेका हुन् कि कतैबाट सञ्चालित हुन खोजेका छन् । बजारमा यो कुराको हल्ला हुन थालेको छ । आफ्नो विवेकले राजनीतिमा आएका भए उनलाई बधाई छ । यदि कतैबाट सञ्चालित हुन खोजेका हुन् भने बधाई दिन सकिँदैन ।

सञ्चारकर्मी आफ्नो क्षेत्र त्यागेर राजनीतिमा आउनु यो कुनै नौलो कुरा होइन । रवीन्द्र मिश्र पनि सञ्चार क्षेत्र छाडेर सक्रिय राजनीतिमा आएकै हुन् तर उनी सफल हुन भने सकेनन् । अब रवि लामिछाने राजनीतिमा सफल होलान् कि के होलान् ? यो गम्भीर प्रश्न हो । उनलाई चिनाएको र लोकप्रिय बनाएको सञ्चार क्षेत्र हो । एकाएक उनी सञ्चार क्षेत्र त्यागेर राजनीतिमा आउनुलाई सबैले चासोका साथ हेरेका छन् ।

पछिल्लो समय स्वतन्त्र उम्मेदवारले पाएको सफलता जनताले चाहेको परिवर्तनमा जोडिन आएका छन् रवि । युवापुस्ताको राजनीति लगावको पछिल्लो कडीमा जोडिन आएका रविले आफ्ना आगामी दिन कसरी अघि बढाउँछन् सबैले चासोका साथ हेरिरहेका छन् ।

आसन्न प्रदेश र संघीय चुनावलाई लिएर यतिबेला विस्तारै माहोल बन्दै गइरहेका बेला विभिन्न स्वतन्त्र उम्मेद्वारले पनि आगामी निर्वाचनका लागि आआफ्नो दाबी पेस गरिरहेका छन् । यी सबै स्वतन्त्र उम्मेद्वारलाई रविले समेट्न सक्छन् कि सक्दैनन् । उनी कति फराकिलो छाती लिएर यो मैदानमा आएका छन् । त्यो हेर्न बाँकी नै छ । तर पनि अहिले के भन्न सकिन्छ भने परम्परागत दलहरूको वच्र्चश्व, दबदबा रहेको हाम्रो राजनीतिमा रविको उदयले पक्कै पनि दलहरूको मटुमा ढ्यांग्रो भने अवश्य ठोकेको छ ।

आम जनता महँगीको आहातमा छन् । दिनानुदिन महँगीले आकाश छोइरहेको छ । बढ्दो महँगी र अराजकताप्रति सरकारी उदासीनता कायमै छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबैजसो वस्तु र सेवाको मूल्य बढेको छ । दैनिक उपभोगका अन्य वस्तुको मूल्य बढ्नाले जनजीवन थप कष्टकर बनेको छ । आमजनताको आक्रोशको पारा दिन प्रतिदिन बढ्दो नै छ ।

यतिबेला मुलुकका सामु तमाम समस्या छन् । यी समस्या समाधान गर्न दलहरू त्यति गम्भीर भएको देखिँदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरी रमाउनेहरूलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरू आफ्नै व्यक्तिगत स्वार्थमा रमाइरहेका छन् । आज देश गम्भीर संकटमा फसेको छ । देशको भविष्यबारे सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन्, रातदिन पसिना बगाउने श्रमिकहरूको अवस्था कस्टकर छ । उनीहरू आफ्नो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् । देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ ।

देशको यो परिस्थितिमा स्वतन्त्र उम्मेदवार र रवि जस्तै नयाँ उदाएका राजनीतिक दलकको पछाडि जनता नलाग्लान् भन्न सकिँदैन । किनकि हाम्रा परम्पारागत दलहरूबाट आमजनता वाक्क र दिक्क भएका छन् । उनीहरू विकल्पको खोजीमा रहेको भरखरै सम्पन्न भएको स्थानीय निर्वाचनले देखाएको छ । अब नेतृत्वले सोच्नुपर्ने बेला भयो । देशमा राजनीतिक दलहरू धेरै भए । संसददेखि संसद बाहिरका राजनीति पार्टीहरू पनि छन् । बेरोजगारहरूको भीड जम्मा गर्ने राजनीति पार्टीबाट अब केही हुँदैन भन्ने जनताले बिस्तारै बुझ्दै जान थालेका छन् । सरकारले मुलुकमा सुशासन कायम गर्न सकेको छैन । सेवाप्रवाह प्रभावकारी बनाउन सकेको छैन ।

वर्तमान सरकार सबै कुरामा असफल देखिएको छ । भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै गएको छ । भ्रष्टाचार रोकिनुपर्छ, सुशासन कायम हुनुपर्छ । राजनीतिक क्षेत्र नै अत्याधिक भ्रष्ट हुन पुगेको छ । जसका कारण शासकीय व्यवस्थामै गम्भीर समस्या देखिन थालेका छन् । अब दलहरू सच्चिनुपर्ने छ, यदि दलहरू र तिनका नेताहरू नसच्चिने हो भने उनीहरू आफैं सिद्धिन्छन् ।

जनताले धेरै कुरा बुझिसकेका छन् । अब जनतालाई भ्रममा पार्ने र जनतालाई बेइमान गर्ने जमना गइसको छ । सरकारमा गएर दलका नेताहरूले त्यति राम्रोसँग सत्ता चलाउन सकिरहेका छैनन् । देशमा सुशासन कायम गराउन नसक्ने सरकारले अरू के गर्न सक्छ ? विशेषगरी ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपालगायत अधिकांश नेता नै सुशासन कायम गराउने कुरामा ध्यान दिएको देखिँदैन । देशमा कुशासनको जालो छ । जनताको पिरमर्का र दुःखसुखसँग उनीहरू बेखबर जस्तै बन्दै आइरहेका छन् । बढिरहेको भ्रष्टाचार, अनियमितताले देश थला परेको छ ।

बेरोजगारीको समस्या त्यस्तै छ । हाम्रा सामु ठूला-ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल गर्नुपर्छ । अब मुलुकको विकास र समृद्धिका लागि सबै राजनीति दल एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । प्रमुख राजनीतिक दलमा नै विचलन आउन थालेको छ । राजनीतिक दलहरू इमानदार बन्न नसक्ने हो भने शासकीय व्यवस्था पनि असफल हुँदै जान्छ । जनतामा निराशा छाउन दिनु हुँदैन । यदि यस्तो भइरहृयो भने यसले विष्फोटको रूप लिनसक्ने छ ।

यसतर्फ समयमै सचेतता अपनाउन आवश्यक देखिन्छ । महँगी र मनपरी तन्त्रले बढेको जनआक्रोशलाई तत्काल सम्बोधन गर्न जरुरी छ । जनआक्रोशको विष्फोट भयो भने धेरै नष्ट भएर जानेछन् । अन्यथा अहिले ठूला भनिएकाहरू इतिहासको पानामा रहने छन् । नयाँ जोश जाँगर र ऊर्जा लिएर आएका अघि बढनेछन् । समयमै चेतना भया ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?