जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाद्वारा सरोकारवालालाई एलर्ट रहन अनुरोध

Read Time = 6 mins
A A- A+

-युवराज पौडेल

स्याङ्जा । जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मंगलबार बसेर विपद् व्यवस्थापनका सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ ।

उक्त बैठकद्वारा बर्षातको सिजनसँगै मनसुन सुरु भइसकेको र जिल्लामा पनि विपदजन्य घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्याङ्जाका ११ वटै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । जिल्लाका सबै पालिकाहरुले विपद्को स्थितिको आँकलन गरेर आआफ्नो विपद् कोषमा पर्याप्त रकम विनियोजन गर्न र आवश्यक सामग्री खरिद गरी मौज्जात राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।

बैठकद्वारा बर्षात्का सिजनमा बाढी पहिरो आई जुनसुकै बेला पनि सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक पर्ने डोजर, जेसिभी, लगायतका सामाग्रीका साथै सोका चालकहरुलाई समेत तयारी अवस्थामा राख्न सडक कार्यालय, स्थानीय पालिका र सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।

बैठकले विपद् व्यवस्थापनका लागि आवश्यकता अनुसारका सामग्रीहरु खरीद गरि ३ वटै सुरक्षा निकायलाई समेत उपलब्ध गराउन स्थानीय पालिकालाई अनुरोध गरेको छ । वर्षात्का सिजनमा मनसनुजन्य बाढी पहिरो तथा पानीजन्य हैजा, आउँ, टाइफाइड लगायतका सङ्क्रामक रोगजन्य विपद्हरु जुनसुकै बेला पनि आउन सक्ने भएको हुँदा सोको व्यवस्थापनका लागि अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, रेडक्रस, उद्योगी ब्यावसायी, सुरक्षा निकायहरु, सडक तथा पूर्वाधारहरुसँग सम्बन्धित कार्यालयहरुलाई आ आफना क्षेत्रबाट सहयोग गर्न र आआफ्ना संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न अनुरोध समेत गरिएको छ ।

बैठकले पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका १ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ् २ को मगर समाज भवन र सो वरपरका ४ घर लगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ् स्थित ८० घर परिवार उच्च जोखिममा रहेको पनि औल्याएको छ ।

यसैगरी, गल्याङ् नगरपालिका ५ सेतीवेणी बजारमा सेतीखोला र कालीगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुवानको जोखिमा रहेको, अर्जुनचौपारी २ जलजलेको पहिराले ४ घर र ५ वटा गोठ जोखिममा रहेका र कालीगण्डकी गाउँपालिकाको सिमाना रानीघाट- रुद्रवेणी पुल वरपरका क्षेत्रपनि उच्च जोखिममा रहेको हुँदा उल्लेखित स्थानहरुलाई विपद्को दृष्टिले उच्च निगरानीमा राखेर काम गर्न निर्देशन दिइएको छ ।

उक्त बैठकबाट वर्षायाममा फैलिन सक्ने विभिन्न झाडापखाला, हैजा, आउँ लगायतका सङ्क्रामक रोगहरु फैलिएर जुनसुकै बेला परिस्थिति असामान्य हुन सक्ने भन्दै त्यसका लागि जिल्ला स्थित सबै सुरक्षा निकायहरु, स्थानीय पालिकाहरु, अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी, रेडक्रस आदि सरोकारवालाहरुलाई समन्वयात्मक रुपमा परिचालित गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको जिल्ला विपद् व्यवस्थापन समितिको उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, वालिङ् नगरप्रमुख कृष्ण खाँण, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापा, हरिनास गाउँपालिका अध्यक्ष खिमबहादुर मानन्धर, विरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवर लगायत स्थानीय पालिकाहरुका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख लगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधी गरी करिब ७० जनाको सहभागिता रहेको थियो ।

जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् ब्यवस्थापन समिति गठन भए जस्तै सबै स्थानीय पालिकामा पनि नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय विपद् ब्यवस्थापन समिति गठन हुने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?