मध्य असारसम्म रासायनिक मलको अभाव, प्रक्रियामै बित्छ सिजन

Read Time = 9 mins

-विवेक खड्का
दाङ । असार मध्य हुन लागिसक्यो । किसानहरूलाई धान रोपाइँको चटारो छ । तर धान खेतीका लागि आवश्यक रासायनिक मलको पूरै अभाव छ । सरकारले सहजरूपमा मल आपूर्ति गर्न सकेको छैन । जिल्लास्तरमा मलका गोदामहरू खाली छन् ।

अन्तर्राष्ट्रिय मुलुकले मल बिक्री वितरणमा प्रतिबन्ध लगाउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको कृषि क्षेत्रमा परेको छ । सरकारले तोकेको चर्को मूल्यमा मल खरिद गर्ने सामथ्र्य व्यवसायीहरूमा नहुँदा यसवर्ष दुई लाख मेट्रिक टन मल खरिदका लागि खोलिएका १७ वटा टेण्डर रद्द भए । जसको प्रभाव अहिले किसानहरूमाथि परिहेको छ । धान रोपाइँ सुरू भइसक्दा पनि जिल्लामा सहजै रसायनिक मल व्यवस्थापन हुन सकेको छैन ।
प्रत्येक वर्ष धानखेतीको समयमा हुने मल अभावको समस्या यस वर्ष पनि देखिएको छ । असार मध्यसम्म पनि मल आयात नहुँदा यसवर्ष पनि मलकै लागि सास्ती खेप्नु परेको छ । समयमै मल व्यवस्थापनमा राज्यको ध्यान नपुग्दा र महिनौँसम्म पनि मल आयात प्रक्रिया पूरा नहुँदा किसानहरूले आवश्यक परेको समयमा पाउन सकिरहेका छैनन् ।

‘असारको ५ गतेसम्म धान रोपि सक्नुपर्ने हो मल नपाउँदा आजसम्म धान रोप्न सकिएको छैन, गत वर्षपनि यस्तै समस्या भएको थियो’ तुलसीपुर उपमहानगरपालिका–६ का डिल्ली केसीले भन्नुभयो, ‘समयमै मल, बीउ नपाउँदा खेती नै नगरौँ भन्ने लाग्छ, गतवर्ष पनि रोपाइँ सकिएपछि मात्र मल आएको थियो, अहिले पनि त्यस्तै हुने भने । हामी किसानलाई कहिल्यै केही कुराको सहजता भएन ।’

समयमै रासायनिक मल नपाउँदा धानको बीउ खेतको गह्रामै फुल्ने हो की भन्ने चिन्तामा किसानहरू देखिन थालेका छन् । सरकारले समयमै मल व्यवस्थापनमा चासो नदिँदा असारको दोस्रो सातासम्म जिल्लामा मलको व्यवस्थापन हुन नसक्दा यसवर्ष पनि धानखेती प्रभावित हुने किसानहरूको गुनासो छ । अनुदानको मल सहज नहुँदा चर्काे मूल्य तिरेर व्यवसायीहरूबाट मल खरिद गर्नु परेको किसानहरूको गुनासो छ ।
जिल्लामा प्रत्येक वर्ष धानखेतीका लागि ४० हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्दछ । तर आवश्यकता अनुसार जिल्लाका किसानहरूले मल पाउन सकेका छैनन् । सरकारले ७० प्रतिशत रसायनिक मल कृषि सामग्री केन्द्रमार्फत वितरण गर्ने गर्दछ भने ३० प्रतिशत साल्ट टे«डिङमार्फत वितरण हुने गर्दछ । तर अहिले जिल्लामा रासायनिक मल वितरण गर्ने कृषि सामग्री र साल्ट टे«डिङका मल गोदाम भने रित्तै छन् । मलका गोदामहरू रित्तै हुँदा धान रोपाइँका हिलाम्य बनाइएका खेतहहरूमा समयमै रोपाइँ हुन सकेको छैन । किसानहरू मलको पर्खाईमा छन् ।

कृषि सामग्री केन्द्र र साल्ट टे«डिङले भने समयमै किसानले मल पाउने बताउँदै आएका छन् । सरकारले जिल्लाका लागि मल पठाउने तयारी गरिरहेको कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका कर्मचारीहरू बताउँछन् । असारको अन्तिम सातासम्म जिल्लामा मलको सहजता हुने उनीहरूको भनाइ छ ।

केहीदिन अघिमात्रै २ सय २७ मेट्रिक टन रासायनिक मल किसानहरूलाई वितरण गरिसकेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले बताउनुभयो । ‘सरकारले पठाएको सबै मल वितरण गरिसकेकाले अहिले कृषि सामग्री केन्द्रको मल गोदाम रित्तो छ’ उहाँले भन्नुभयो, ‘अबको केही दिनमा सरकारले मल पठाउँछ । मल पठाएसँगै पश्चिम दाङसहित सल्यानका लागि मल वितरण गर्छौ ।’ अहिले गोदाममा डिएपसी र रासायनिक मल शुन्य रहेको उहाँले बताउनुभयो ।

कृषि सामग्री केन्द्र घोराहीका प्रमुख टोपाराम गौतमले जिल्लामा गत माघ महिनादेखि नै रासायनिक मलको अभाव रहेको बताउनुभयो । मल अभाव भएलगत्तै मल खरिदका लागि टेण्डर आह्वान गरिएपनि १७ वटा टेण्डहरू रद्द हुँदा समयमै मलको व्यवस्थापन गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो ।

घोराही क्षेत्रमा ३ हजार मेट्रिक टन युरिया र २ हजार मेट्रिक टन डिएसी मलको आवश्यकता पदर्छ । तर अन्तर्राष्ट्रिय मुलुकहरूले रासायनिक मलमा प्रतिबन्ध लगाउदा देशभर मल अभाव भएको उहाँले बताउनुभयो ।

रसियाका १७ मुलुकले डिसेम्वरदेखि र चीनले जनवरीदेखि मल बिक्री वितरणमा प्रतिवन्ध लगाउँदा त्यसको प्रत्यक्ष असर नेपालमा आउने रासायनिक मलमा परेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मुलुकले लगाएको मल निर्यात प्रतिवन्धले ४० प्रतिशत मल उत्पादन घटेको छ । जसले मूल्यबृद्धि आकासियो र आयातमा प्रभाव परेको छ । कार्तिकदेखि चैतसम्ममा कुनैपनि टेण्डरमा आवेदन नपरेपछि समयमै मल उपलब्ध हुन नसकेको गौतमले बताउनुभयो ।

‘सरकारले तोकेको मूल्यमा मल खरिद गर्ने सामथ्र्य व्यवसायीहरूमा नहुँदा खोलिएका टेण्डरमा काम भएन, बैशाख पछिका टेण्डरमा मल ल्याउने काम सुरू भएको छ, टेण्डर परेपछि पनि मल खरिदको सबै प्रक्रिया पु¥याउँदा करिव चार महिना लाग्छ त्यसकारण पनि यस वर्ष केही दिन ढिलो भएको हो’ उहाँले भन्नुभयो, ‘हामीलाई आवश्यक पर्दा मात्र मलको चासो हुन्छ तर माघ महिनादेखि नै जिल्लामा मल छैन ।’
मूल्यबृद्धिका कारण समयमै आउनुपर्ने २ लाख मेट्रिक टन मल खेर गएको उहाँले जानकारी दिनुभयो । धानखेतीको समयमा मलको अभाव भएपनि हिउँदे सिजनलाई भने कुनै अभाव नहुने उहाँ वताउनुहुन्छ । साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामबाबु गुप्ताले जिल्लामा मलको अभावै रहेको बताउनुभयो । किसानहरूको आवश्यकता अनुसार मल नआउँदा मल वितरणमा समस्या हुँदै आएको उहाँ बताउनु हुन्छ ।

साल्ट ट्रेडिङको मलको गोदाम युरिया मलको स्टक शुन्य रहेको छ । डिएपी मल भने ४ सय ९७ मेट्रिक टन स्टकमा रहेको छ । गोदाममा रहेको मल वितरणका लागि सम्बन्धित पालिकाहरूसँग समन्वय गरी सहकारीहरू मार्फत मल वितरण गर्न लिखितपत्र माग गरिएको उनले जानकारी दिनुभयो । साल्ट ट्रेडिङले मंगलबारदेखि मल वितरण गरिरहेको छ ।

प्रदेश कार्यलयले कोटा निर्धारण गरेर पठाउने भएकाले मल वितरणमा समस्या भएको उहाँले बताउनुभयो । असार तेस्रो साताभित्र युरिया मल आउने जानकारी प्राप्त भएको भन्दै मल आएलगत्तै किसानहरूलाई मल वितरण गरिने उनले जानकारी दिनुभयो । नेपाली बजारमा बिक्री गरिने मल इण्डोनेसियाबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्ने उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?