खोटाङमा १७४ जना ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच

Read Time = 3 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङमा निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन भएपछि ज्येष्ठ नागरिकहरु लाभान्वित भएका छन् । बुढेशकालमा शुल्क तिरेर आँखा जाँच तथा चश्मा लिंदै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरेर नेत्र ज्योति संघ दिक्तेलले शिविर आयोजना गरेपछि उनीहरु लाभान्वित भएका हुन् ।

वर्षौदेखि आँखामा समस्या झेल्दै आएका ज्येष्ठ नागरिकहरुले बिहीबार आँखा उपचार केन्द्र दिक्तेलमा पुगेर धक फुकाएर आँखा जाँच गराई छानीछानी पावरवाला चश्मा लगेका छन् । उनीहरुले मोतियाविन्दु भए/नभएको पहिचान गराएका छन् ।

शिविरबाट १७४ जना ज्येष्ठ नागरिकले आँखा जाँच गराएका छन् । १७१ जनाले पावरवाला चश्मा लैजाँदा ४५ जनाको आँखामा मोतियाविन्दुको भएको पहिचान भएको छ । ४ जनाले निःशुल्क औषधि लगेका छन् । मोतियाविन्दु भएकाहरुलाई भने तत्काल अपरेशन गर्न सुझाव दिईएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघको समन्वयमा भएको १ दिने शिविरमा ज्येष्ठ नागरिकहरुको आँखामा भएको विभिन्न किसिमका समस्या तथा मोतियाविन्दु भए/नभएको पहिचान गरिएको नेत्र ज्योति संघ खोटाङका सभापति ईन्द्र कसजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार उहाँहरुलाई आँखाका रोग र आँखा सुरक्षा सम्बन्धि आवश्यक सल्लाह र परामर्श दिईएको छ ।

उमेरसँगै बिस्तारै आँखाको ज्योति गुमाउँदै गएका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क आँखा जाँच तथा चश्मा वितरण गरेको नेत्र ज्योति संघले आगामी दिनमा जिल्ला कारागारका कैदीबन्दी र सवारी चालक तथा सह-चालकको आँखा जाँच गरेर पावरवाला चश्मा वितरण गर्ने लक्ष्य राखेको छ ।
वर्षैपिच्छे आँखा शिविरको आयोजान गरिए पनि ज्येष्ठ नागरिकका लागि शिविर पर्याप्त नभईरहेको महशुष भएको आँखा उपचार केन्द्र प्रमुख हरिहर श्रेष्ठले बताउनुभयो ।

१७४ जनाको आँखा जाँच गर्दा मात्रै ४५ जनाको मोतियाविन्दुको अपरेशन गर्नुपर्ने देखिएको श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?