निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मधेशको समृद्धिको आधार : मन्त्री चौधरी

Read Time = 6 mins

-संजीवकुमार मिश्रा
बारा । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मधेश समृद्धिको आधार बन्ने बताउनुभएको छ ।

आधुनिक कृषि पर्यटन र औद्योगिक ग्रामको स्थापना समुन्नत कोल्हवी हाम्रो चाहना भन्ने मुल नाराका साथ बिहिवार आयोजना गरिएको कोल्हवी नगरपालिकाको आठौं नगरसभाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएकोे मन्त्री चौधरीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि केन्द्रमा आफूले पहल गरिरहेको बताउनुभयो ।

निजगढ अन्तराष्ट्रिय विमानस्थल बारा जिल्लाको मात्र होइन मधेश समृद्धिको आधार भएकोले यसको निर्माणमा शंका उपशंका नगर्न उहाँले आग्रह गर्नुभयो । संघीय सरकारले विमानस्थल निर्माणको लागि बजेट समेत विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

फास्ट ट्रयाक र निर्माणाभीन अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काको पुरक भएको बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजनामा कोही कसैले तुषारापात गर्नु हुँदैन र रोकिने पनि होइन । ढिलो चाँडो हुनु स्वभाविक कुरो हो । तर यसको निर्माणमा कुनै शंका उपशंका गर्नु हुँदैन, उहाँले भन्नुभयोे,‘ संघीय सरकार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि तत्परताका साथ अगाडी बढिसकेको अवस्थामा बन्ने नबन्ने शंका उपशंका गर्नु उचित हुँदैन । आफूले पनि सकेसम्म चाँडो भन्दा चाँडो विमानस्थल निर्माणका लागि सबैसँग सहकार्य गरिरहेको छु । यो विमानस्थल निर्माण भएपछि बारा जिल्लाका मात्र होइन सम्पूर्ण मधेशका युवाहरुले रोजगारी पाउने र केही हदसम्म भएपनि यसले गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ । वातावरणको कारण देखाएर तत्कालको लागि सर्वोच्च अदालतले निर्माण कार्य रोक्न भन्नु दुभाग्य हो । राष्ट्रिय गौरवको आयोजना रोक्नु हुँदैन ।’

निर्माणाधनि विमानस्थलको नाम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसले कोल्हवी नगरपालिकाको बढी भाग ओगटेको बताउँदै उहाँले आवश्यकता भन्दा बढी रुख नकाटौं भन्ने पक्षमा आफूरहेको र किसानको लागि जंगल भनेको प्राणवायु भएपनि आवश्यकता भन्दा बढी रुख काटिनु नहुनेमा जोड दिनुभयो ।

अधिक रुख काटिए पानीको मुहान सुक्ने सम्भावना रहने बताउँदै विमानस्थलको लागि चाहिने ठाउँको मात्र रुख काटेर निर्माण गर्दा खासै यसको नकरात्मक प्रभाव नपर्ने उहाँले भनाइ थियो ।

बारा जिल्लाको विकासमा विमानस्थलले प्रत्यक्ष प्रभाव पार्नेछ, उहाँले भन्नुभयोे,‘ हाम्रो देश कृषि प्रधान देश हो । हाम्रो देशको कृषिको मेरुदण्ड बारा जिल्ला हो । बारा जिल्लामा पनि वर्षै भरि पानी उपलब्ध हुने र वर्षमा चार बालीसम्म उत्पादन गर्ने क्षमता भएको एउटा क्षेत्र छ, जसको नाउँ चेरवन्त हो । चेरवन्त भन्ने वितिकै कृषि उपज बढी हुने ठाउँलाई संकेत गर्दछ । अर्थात चेरवन्तको राजधानी कोल्हवी नगरपालिका हो । मेरो घर समेत यही चेरवन्तमा छ । यसको समृद्धि र विकासको लागि मन्त्री भए पनि नभएपनि सधै लागेको र लागि रहने छु । यसमा कुनै दुई मत छैन् । कोल्हवी नगरपालिकालाई बारा जिल्लाको नमुना नगरपालिका बनाउन र विस्तारै स्मार्ट सिटीको रुपमा यसको विकास गर्न आफू कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । ’

म खानेपानी मन्त्री भएको कारण मधेशको हरेक तह तप्कासम्म खानेपानीको पहुँच पु¥याउने लक्ष्यका साथ अगाडी बढेको बताउनुभयो । प्रधानमन्त्री शेर बहादुर देउवाले चैत्र मसान्त भित्रमा मेलम्चीको पानी राजधानी पु¥याउने लक्ष्य दिएसँगै तिव्र रुपमा काम गरियो र आखिरमा उहाँले तोक्नु भएको समयसीमा भन्दा पहिला नै मेलम्चीको पानी राजधानीमा पु¥याउन सफल भइयो । अब पालो मधेश प्रदेशको छ । मधेश प्रदेशको हरेक तह तप्का गाउँ गाउँसम्म स्वच्छ खानेपानी पु¥याउने अभिभारा काँधमा बोकेर अगाडि बढेको छु । यो लक्ष्य हासिल गरेरै छाड्ने उहाँले जानकारी दिनुभयो ।

कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको समुदघाटन कार्यक्रममा बारा क्षेत्र नम्बर १ (क) का सभासद त्रिलोकी चौधरी, कोल्हवी नगरपालिकाका वडाका वडाध्यक्ष, सदस्यहरु, समाजसेवी, शिक्षाप्रेमी, राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?